coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

कलामा कोरोना कहर

मूर्तिकार रमेश प्रधानले लकडाउनका बेला बनाएका कोरोना विशेष मूर्तिहरू ।

मुखमा मास्क लगाएकी एक विदेशी नर्स आफ्नै मनसँग अनेक तर्क विर्तक गर्दै टोलाइरेकी छिन् । आँखामा आँसु छछल्काउँदै उनी आफ्नै मनसँग विलौना गरिरहन्छिन् । उनको अनुहार ओइलाएको देखिन्छ, निराशाले छोपेको देखिन्छ । आफ्नै आँखा अगाडि लाखौंले ज्यान गुमाएको देख्दा पनि उनी आफ्नो कर्तव्य र जिम्मेवारीबाट भाग्न सक्दिनन् । आफ्नो जीवनसँग अनेकौं तर्कहरू गर्दै जीवन र मृत्युको बिचमा अडिक भएर आफ्नो पेशागत जिम्मेवारी निभाइरन्छिन् ।  

चित्रकार एरिना ताम्रकारले बनाएको यो पेन्टिङलाई नियालेर हेर्दा जो कोहीको पनि मनमा चसक्क हुन्छ । नेपाल ‘लकडाउन’ भएको पहिलो सातामा बनाएको उनको यो पेन्टिङले चिकित्सकको बाध्यता र पीडालाई प्रष्ट्याउने कोसिस गरेको छ ।  

‘म होम क्वारेन्टाइनमा बस्न सुरु गरेको केही दिनमा सामाजिक सञ्जालमा विदेशी नर्स रुदैं आफ्नो पीडा र बाध्यता सुनाउँदै गरेको भिडिओ हेरेकी थिएँ,’ चित्रकार ताम्रकार भन्छिन्, ‘भिडिओ हेरेंपछि उनको त्यो पीडा, रोदन र चित्कारलाई आफ्नो कलामा उतार्न मन लाग्यो, र उतारें पनि । तर पेन्टिङ बनाइसकेपछि मेरो मन पनि बहकिन थाल्यो, म आफैं कोरोना भाइरसको संक्रमित भएजस्तै महसुस गरें ।’

चित्रकार ताम्रकारका दम्पतीले देशमा लकडाउन भएदेखि नै पेन्टिङ बनाउँदै आएका छन्। अहिले विश्व नै कोरोना भाइरसको जोखिममा रहेकाले कोरोनाकै समसामयिक विषयमा काम गरिरहेको चित्रकार आशा डंगाेल बताउँछन्।

‘हामीले चाहेर पनि यस्तो आरामदायी तरिकाले काम गर्न पाएका थिएनौं,’ आगामी दिनमा पनि पाउने छैनौं, आशा भन्छन् ‘कामलाई निरन्तर रुपमा अघि बढाउन लकडाउनलाई त हामीले मौकाको रुपमा लिनुपर्छ ।’ लकडाउनको ५४ औं दिनसम्म आइपुग्दा उनीहरूले दुई दर्जन पेन्टिङहरू कोरि भ्याएका छन्।  

मूर्तिकार रमेश प्रधान पनि लकडाउनका बेला कोरोनाकै विषयवस्तु समेटेर मूर्ति बनाउनमा व्यस्त छन्। भक्तपुर निवासी ४५ वर्षीय प्रधान ठ्याक्कै कोरोना भाइरसको आकृतिलाई मूर्तिमा उतारेका छन्। कोरोना भाइरसका कारण विश्व नै आतकिंत बनेका बेला उनले माटोको सहायता बनाएका ती मूर्तिहरु निकै चाख लाग्दा र समय सान्दर्भिक देखिन्छन्। उनले कोरोना भाइरससँग सम्बन्धित पाँच वटा मूर्ति तयार पारेका छन् ।  

अर्कातर्फ एकल कला प्रदर्शनीका लागि गणेशको मूर्ति बनाउने कामलाई पनि संगसंगै अघि बढाएका छन्। 

‘कोरोना भाइरसबाट विश्व नै आक्रान्त बनेका बेला मैले कोरोनाकै विषयमा काम गर्ने सोचका साथ मूर्ति बनाएर सामाजिक सञ्जालमा पोष्ट गरेको थिएँ, जुन धेरैले मन पराउनु भयो, प्रतिक्रिया पनि राम्रो आयो, त्यसपछि झन् बढी हौसिएर काम गर्न थालें,’ प्रधान भन्छन्, ‘कोरोनाको विषयमा गरेको मूर्तिले अमेरिकिन चित्रकारको पनि मन जितेछ, लकडाउनपछि नेपाल आएर लैजाने कुरा गर्नुभएको छ ।’

यस विषम परिस्थितिमा आफु बाँचेर अरुलाई बचाउनका लागि सबै घरभित्रै बस्नुपर्ने सन्देश उनले मूर्तिमार्फत दिएका छन्। कोरोना, गणेशसँगै उनले एउटा बन्द घरलाई मूर्तिको रुप दिएर तयार गर्ने योजना भएकाे सुनाए । घरको बाहिरपट्टि कोरोनालाई प्रतिबिम्बक तरिकाले प्रस्तुत गरिने उक्त मूर्तिले पनि सुरक्षित रहनका लागि घरभित्रै बस्नुपर्ने सन्देश दिने उनी बताउँछन् ।

एक्रेलिक कलरमार्फत अमूर्त र मनोवैज्ञानिक पेन्टिङ बनाउन रुचाउने चित्रकार शरद भण्डारीले अहिले कोरोना विशेष स्केच तयार पारेका छन् । ‘विश्वलाई नै त्रसित बनाइरहेको कोरोनाका कारण मानिसमा परेको मनोवैज्ञानिक असरलाई मैले स्केचमा देखाउन खोजेको छु,’ शरद भन्छन्, ‘मनोवैज्ञानिक पक्षसँगै कोरोना र लकडाउनको समयमा बालबालिका कसरी समय सदुपयोग गरिरहेका छन् भन्ने विषयलाई पनि स्केचमा समेट्ने प्रयास गरेको छु ।’

चित्रकार प्रमिला बज्रचार्यले ‘आइसोलेसन एण्ड डेडिकेसन’ शीर्षकमा कोरोनाको विषयलाई लिएर पेन्टिङ बनाएकी छन् । उनले एउटी मास्क लगाएर आइसोलेसनमा बसेकी महिलालाई लिएर अहिलेको संक्रमित अवस्थालाई आफ्नो कलामा समेट्ने प्रयत्न गरेकी छन्। 

अहिलेको यस अवस्थामा आफ्नो संगसंगै अरुको लागि पनि सेल्फ क्वारेन्टाइनमा बस्नु अति नै आवश्यक छ भन्ने सन्देश उनको पेन्टिङले दिएको छ । उनले पेन्टिङको पृष्ठभूमिा कोरोनाका कारण लाखौं मानिसको ज्यान गएको विषयलाई सांकेतिक रुपमा प्रस्तुत गरेकी छन् ।  

‘अहिलेको यस्तो डर लाग्दो अवस्थामा पनि डक्टर र नर्सहरु आफ्नो ज्यानको प्रवाह नगरी बिरामीको उपचारमा खटिएका छन्,’ चित्रकार प्रमिला भन्छिन्,उनीहरु पूर्ण रुपमा समर्पित भएर आफ्नो जिम्मेवारी वहन गरेको विषयलाई पनि पेन्टिङमा देखाउन खोजेकी छु ।’

प्रकाशित: ३ जेष्ठ २०७७ २३:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App