८ वैशाख २०८१ शनिबार
कला

लकडाउनमा छन्दकविताको बहार

गायिका सरु गुरागाइँ

कोभिड–१९ का कारण संसार लकडाउनमा परेर फुर्सदिलो बनेका बेला नेपाली वाङ्मयले नयाँ उपलब्धि हासिल गरेको छ । यही बेला नेपाली छन्दकविताको पुनर्जागरण भएको अनुभव गरिंदैछ । सामाजिक सञ्जालहरूमा छन्दकविता भाइरल बनिरहेका छन् । यस लहरमा गायिका सरु गुरागाइँ अग्रपंक्तिमा छिन् ।  

इलाममा जन्मेहुर्केकी गुरागाइँ सपरिवार अमेरिकाको केन्टकीमा बसोबास गर्छिन् । संगीतकार पतिका नाउँमा रहेको ‘मुरारी गुरागाइँ अफिसियल’ युट्युब च्यानलमा उनको कर्णप्रिय स्वर सुन्न पाइन्छ । त्यहाँ तीन दर्जनभन्दा बढी भिडियो छन् ।  

कोइलीको जस्तो मीठो स्वर भएकी गुरागाइँले छन्द कवितालाई कलात्मक शैलीमा गाएर सबैलाई मन्त्रमुग्ध बनाउँदै आएकी छिन् । उनको गायन कला त छँदैछ, त्यसमा उनका पतिको संगीतले सुनमा सुगन्ध थपिदिएको छ । त्यसैले युट्युब च्यानलमा पोस्ट गरेको केही समयमै उनले लाखौं श्रोता तथा दर्शक पाउने गरेकी छिन् ।  

लकडाउन अगाडि नै उनका केही गीतिकविता लोकप्रिय भैसकेका थिए । संसारलाई कोरोनाले अचेटेपछि उनले आफ्नै पिता कवि जीवनहरि शर्माले लेखेको ‘विज्ञानको दुर्दिन’ गाइन् । त्यसपछि उनले गाएको रीता पोखरेलको ‘कर्म घरको यात्रा’, देवी नेपालको ‘निस्कन्न भो बाहिर’,  हेमनाथ पौडेलको ‘हार्दैन है मानिस’, कमलको कोइरालाको ‘फर्कूँ म आमा घर’ लगायत कविताले लोकप्रियताको शिखर चुमिरहेका छन् ।

गायिका सरु र संगीतकार मुरारी गुरागाइँ 

अहिले पनि उनीहरू केही कवितामा काम गरिरहेका छन् । सानैदेखि साहित्यिक र सांगीतिक माहौलमा हुर्केको गुरागाइँ दम्पतीलाई यतिबेला धेरै कविता गायनको प्रस्ताव आइरहेको छ । ‘हामी क्रमशः गाउँदै जानेछौं’, गुरागाइँले भने ।  

लकडाउन अगाडि कवि जीवनहरि शर्माको कविता ‘छोरीको बिदाइ’ गीति शैलीमा वाचन गरेर सरु चर्चित बनेकी थिइन् । त्यस्तै गीतकार राजेन्द्र थापाको ‘अकेला’ गीतबाट मुरारी चिनिएका थिए । यसमा उनी र टीका प्रसाईको स्वर छ भने दीपक भट्टराईको संगीत । सरु आफैं पनि कविता लेख्छिन् । उनको ‘परदेशमा म’ ले पनि लाखौंको मनलाई पगालिसकेको छ ।  

नेपाली समाजमा लामो समयपछि छन्दको जागरण भएको छ । यसको श्रेय गुरागाइँ दम्पतीलाई दिन सकिन्छ । त्यसो त छन्द जागरणमा लामो समयदेखि धेरैले काम गर्दै आएका छन् । तर, यो दम्पतीको कामबाट अनौपचारिक रूपमा जागरण अभियानै चलेको छ ।  

अमेरिकामा बस्दै आएकी इलामेली चेली सरु गुरागाइँले गाएको गीति कविताले छन्दमा बहार ल्याउन मद्दत गरेको छ । उनलाई पछ्याउँदै धेरैले कविता वाचन गरेर सामाजिक सञ्जाललाई छन्दमय बनाएका छन् । 

पछिल्लो समय युवा कवि सुदेश सत्याल लगायत केही छन्दकै कारण चर्चित थिए । गुरागाइँको लोकप्रियतासँगै अचेल सामाजिक सञ्जालमा धेरै कवि तथा गायकगायिकाले छन्दकविता वाचन गरेर पोस्ट गरेको देखिन्छ । दीपा भट्टराई, दिवाना पुन मगर, दीपक न्यौपाने, पुष्कल किरण, सरु बस्नेत, दीपलता उपाध्याय, जोशिका कँडेल लगायत धेरैले कर्णप्रिय स्वरमा कविता वाचन गर्दै आएका छन् ।  

छन्द कवितामा संगीत चेतना हुन्छ, सूत्रात्मक अभिव्यक्ति हुन्छ र सत्यको सूक्तीकरण गर्ने बलियो सामथ्र्य हुन्छ । त्यसैले छन्दकविताले पाठक वा श्रोताको मनमा तत्कालै प्रभाव पार्न सक्छ ।  

‘२०५० को दशकबाट पुनर्जागरण कालमा प्रवेश गरेको छन्दकविताले लकडाउन शुरू भएपछि चरमोत्कर्ष प्राप्त ग¥यो । यस अवधिमा छन्दकवितालाई पुरोहित्याइँ वा पण्डित्याइँसँग जोडेर हेला गर्नेहरूले पनि कविताको शक्तिका रूपमा स्विकारे’, छन्द जागरणका विषयमा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य देवी नेपाल भन्छन्, ‘हिजोसम्म छन्दकविता सुन्दै नसुन्नेहरूलाई पनि यस अवधिका छन्दकविताले नसुनी नसक्ने बनाइदिए । यसको मूल कारण सबैखाले स्रष्टा, द्रष्टा र श्रोताहरूको यसप्रतिको आकर्षण नै हो ।’  

कवितालाई सांगीतिक रुपमा सुर र तालका साथ सार्वजनिक गरिएकाले ती धेरै लोकप्रिय बनेका हुन् । यस अवधिमा शार्दूलविक्रीडित छन्दले त विश्वव्यापी दिग्विजय नै प्राप्त गरेको अनुभव सुनाउँछन् प्राज्ञ नेपाल ।

गुरागाइँको प्रस्तुतिबाट सूचना, ज्ञान र मनोरञ्जन मिलेको छ । ६ वर्षअघि अमेरिका पुगेको गुरागाइँ दम्पती संगीत साधनासँगै अन्य काम पनि गर्छन् । उनीहरूले कोरोनाको त्रासमा बाँचेका नेपालीलाई आशा जगाउन फेसबुक लाइभमार्फत नयाँ तथा पुराना आधुनिक गीत गाउने गरेका छन् । ‘हामी श्रोताको मागअनुसार गाउँदै जान्छौं’, उनीहरूले भने ।  

यो जोडी लकडाउनमा चर्चाको शिखरमा पुगेको हो । यद्यपि उनीहरूले लामो समयदेखि साधना गर्दै आएका छन् । मुरारी सानैबाट संगीतमा रुचि राख्थे । उनले पहिलो पटक २०५८ सालमा आफ्नै शब्द र स्वरमा गीत रेकर्ड गरेका थिए । जसमा संगीत चन्द्रराज शर्माको छ । सरु पनि विद्यालय जीवनदेखि नै कविता लेखन र पाठमा सक्रिय छिन् । उनले केही कविता लेखेकी छिन् ।  

दर्शक तथा श्रोताको मायाले उनीहरू हौसिएका छन् । ‘हामीमा ऊर्जा बढेको छ’, उनले भने, ‘हामी कामलाई पूजा ठान्छौं । दर्शक र श्रोताको माया पाउन्जेल आफ्नो काममा निरन्तर लागिरहन्छौं ।’    

प्रकाशित: ३ जेष्ठ २०७७ ०६:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App