२८ असार २०७७ आइतबार
कला

विश्वव्यापी अनलाइन पालम प्रतियोगिता गर्दै

विश्वव्यापी कोरोना महामारीको कारण उत्पन्न लकडाउनको समयलाई सकारात्मक रूपमा सदुपयोग गर्दै याक्थुङ कल्चरल ग्रुपले ‘पहिलो विश्वव्यापी अनलाईन पालम गायन प्रतियोगिता’ आयोजना गर्न लागेको हो । यसका लागि सम्पूर्ण देश विदेशमा छरिएर रहेका संस्कृति प्रेमीहरूलाई पालममा भाग लिन आव्हान गरेको छ । प्रतियोगीले पालम विशुद्ध लिम्बू भाषामा हुनु पर्ने, गैरलिम्बू भाषा प्रयोग गरिए स्वतः खारेज हुने आयोजक ग्रुपका सीता तुम्खेवाले बताइन्। 

त्यसैगरी पहिले रेकर्ड नगरिएको पालम जुनसुकै ‘मुई’को गाउन सकिने उनले बताइन्। पालम पठाउँदा स्पष्ट अनुहार देखिने गरि ल्याण्डस्केपमा कम्तिमा ५ मिनेट र बढिमा ७ मिनेटर्को भिडियो खिचेर पठाउनुपर्ने जानकारी दिइन् । आफ्नो नाम र ठेगाना स्पष्ट उल्लेख हुनुपर्नेछ । जेठ १५ गते साँझ ६ बजेदेखि प्रत्येक दिन पालमहरू आधिकारिक पेज याक्थुङ कल्चरल ग्रुप र नयाँ अनलाइन टिभी युट्युवमा अपलोड गरिने उनले बताइन्। 

फेसबुक तथा युट्युवमा अपलोड गरिएको १५ दिनभित्र प्राप्त भएका प्रतिक्रियालाई मान्य हुनेछ । कुनै  विवाद उत्पन्न भएमा अन्तिम निर्णय आयोजक र निर्णायक मण्डलका यासेली योङहाङ, झुमा लिम्बु र मनु नेम्बाङमा निहित हुनेछ । पालम प्रतियोगितामा विजेतालाई नगद ३० हजार र प्रमाण–पत्र सहित एउटा पालम निशुःल्क रेकर्ड गर्न पाउनेछन् भने द्वितीय र तृतीयले २५ हजार, २० हजार र प्रमाण–पत्र पाउने कार्यक्रक सहसंयोजक सागर सरगम चेम्जोङले बताए । 

प्रतियोगीमा सहभागी पालमलाई सामाजिक सन्जालबाट प्राप्त प्रतिक्रियाबाट ४०% र निर्णायक मन्डलबाट ६०% अंक प्राप्त गर्नेछ । पालम जेष्ठ ३० गते सम्ममा जम्मा गर्ने र विजेताको घोषणा साउन १ गते सिसेक्पा तङ्नामको अवसरमा सार्वजानिक गर्ने पनि आयोजकले जनाएको छ । कार्यक्रमको लागि हालसम्म युकेका विश्वासदीप तिगेला, हङकङका रोशन यक्सो र चौबिसे संयक ढाका उद्योग धरानले प्रायोजन गरेका छन् । 

के हो पालम ?

धान नाच र पालाम लिम्बू समुदायको लोकप्रिय मौलिक कला संस्कृति हो । विभिन्न चाडपर्व, मेला महोत्सव, विवाह, सुद्धाई जस्ता कर्मकार्यमा धान नाच्ने गरिन्छ । केही वर्ष अघिसम्म विरलै रुपमा देखिने धान नाच अहिले पूर्वका हरेक मेला, महोत्सव र विवाह जस्ता कार्यमा देख्न पाइन्छ ।

पछिल्लो समयमा धान नाचप्रति युवा पुस्ताको आकर्षण समेत बढ्दै गएको छ । कहिलेकाहीँ विदेशी पर्यटकसमेत आकर्षित हुँदै हात समाइ धान नाच्ने गरेको देख्न पाइन्छ । धान नाच्दा पालाम अनिवार्य गाउने गरिन्छ । केटा र केटी पक्षबीच सवालजबाफ गर्दै पालाम गाउने गरिन्छ । धान नाच्नु अघि एक–आपसमा परिचय गरी साइनो सम्बन्ध केलाइन्छ । साइनो नलाग्ने भए धान नाच्ने निधो गरिन्छ ।

पालाम गाउँदै धान नाच्दा कतै गल्ती कमजोरी भइहाले माफ पाउँ भनेर अग्रिम रुपमा दुवै पक्षले हात जोडेर बिन्ती गर्ने चलन रहेको छ । पालाम अति भावुक हात समाई पालाम गाउनु अघि गाउँदै, नाच्दै जाँदा हुने गल्ती कमजोरीप्रति अग्रिम हात जोडेर विन्ती गरी शुरु गरिन्छ । विरहका भाका मिसाउँदै पालाम गाइन्छ ।

पालाम गाउँदा जीवनमा आउने सुख, दुःखका अनुभूति र मिलन बिछोडका पक्षलाई भावुक ढङ्गले समेटिन्छ । पहिले पहिले पालाम गाउँदै धान नाचेर माया पिरती लगाई उसैबेला जोडी बाँधिने निधो हुन्थ्यो । धान नाच्दानाच्दै पालामकै भाकामा कुरा गरेर वैवाहिक बन्धनमा बाँधिएका उदारण प्रसस्तै भेटिन्छन् ।

प्रकाशित: ३ जेष्ठ २०७७ ०४:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App