८ वैशाख २०८१ शनिबार
कला

घिसार्दै इतिहास समयको अदालतमा

दुई कविता

राखी गौचन  

घिसार्दै इतिहास समयको अदालतमा

आज इतिहासले आँखा खोल्नुपर्छ

वादी–प्रतिवादीकासामु

निर्णायक फैसला हुनुपर्छ

हे पक्षपाती इतिहास !  

विस्मृतिको खाडलबाट उधिनेर

तैँले आफ्नै काला पाइलाका डोबहरू गन्नु पर्नेछ  

आफ्नो किताब आफैं पढ्नु पर्नेछ  

अरूको सामथ्र्य छैन तँलाई पढ्ने  

न समय नै छ कसैलाई पढ़ेर बुझ्न  

शल्यलाई सेनापति बनाएर

दुर्योधनले महाभारत जित्न हठ गरेजस्तो  

आँखामा पट्टी बाँधिएको न्यायमूर्ति सामु

भ्रष्ट परम्परालाई  

फेरि पनि  

सत्यको लालमोहर लगाउन खोज्नेछस्  

हे इतिहास  

आफैमाथि कालो पोतेर

कति पो टिक्छस्  

सुकिलो सत्यमाथि उभिन सिक  

सावधान !  

तेरो कुरूपतामा विजयको बिगुल फुकेर

परिक्रमा गराउने होड़बाजी चलिसकेको छ

झूटो कलमबाट सृजित हस्ताक्षर गर्न नदिनु अब

आज बोल्नुपर्छ आगो जस्तो सत्य

नबोले सधैं जस्तो कुरूप हुनेछस्  

सयौँको वेदना कोरिएको तेरो रूप

उफ् कति भयानक

तर सुन्  

मलाई अहिले जितिस् भने पनि

म रक्तबीज भएर उठ्नेछु  

अनि

हजारौँ युगको आँधी उठाउनेछु

तेरो कालो रूप

कालै कात्रोले छोपिने छ  

हिजो पनि तेरो इतिहासको  

सत्य रूप स्थापित गरिएन

आज पनि त्यही रूप छ

फरक त मात्रै पात्र र समय छन्  

आगों लगाएझैँ गरिएको छ  

त्यही इतिहासमा कतै पुज्दै गरिएको  

कहीँ फालिएझैं बेवारिसे लास बनाई  

आज तँ वा तेरो प्रेतात्मा

घिसार्दै छु  समयको अदालतसम्म

चेतनाको पासोंले

सत्यरूपी आगो सहने सामथ्र्य छैन भने

फेरि कोइला बन्नु पर्नेछ तैँले

त्यसैले म भन्छु  

फालिदे असत्यको कालो घुम्टो  

हे पक्षपाती इतिहास !  

आज तँ यस युगको  

अदालतसामु उभिएको छस्  

फेरि एकचोटि

आफ्नै कालो अतीत विरुद्ध  

धर्मयुद्ध  गर्न

हात नकमा

आ गाण्डिव उठा !  

टाउकाहरूको मेला

टाउकाको मेलामा आँखामा अडिएको  

यो कसको टाउको रहेछ ?

जो भर्खर  

रंगीविरंगी  

कोमल

सुगन्धित

फूलहरूलाई नियालिरहेछ ।  

 

अहो ! त्यही मान्छे  

जसरी आएको थियो बर्षौं पहिले  

कुनै बेदाग सेतो कपडा जस्तै  

कुनै ऐना जस्तै  

छर्लङ्ग देखाएर टाउकाको सौन्दर्य

समयको पर्दामा  

र पर्दाको पछाडि हावा  

फरकफरक स्वरूपमा बग्दो रहेछ

 

टाउकाहरूको मेलामा  

लागेथ्यो कुनैबेला कुनै टाउको  

बुद्ध जस्तो  

गान्धी जस्तो  

अझ मुटुको तहमा पुगेर  

आदर्शको लेपन लगाएको आँखामा  

टाउको सप्रमाण अडिरहेको  

 

त्यो मुकुन्डो कसको हो ?

जो जीवित आत्मालाई पर राखेर

बुट्टेदार भाषा बोल्दै छ  

 

पृथ्वीको अन्तिम गर्भबाट  

यदि जन्मिहाल्यो भनें  

अर्को टाउको

टाउकाहरूको मेलामा नलैजानु

एकएक गरेर नकाब उतारियो भने

आदर्शको गलबन्दी भिरेर  

कति दिन हिड्ँन सक्ला यो समयको पर्दामा  

एउटा बेदाग अनुहार भिरेको टाउको ?

प्रकाशित: ३० वैशाख २०७७ ०७:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App