८ वैशाख २०८१ शनिबार
कला

आर्थर गनको प्रस्तुतिबाट निर्णायक भावुक

काठमाडौं – सांगीतिक रियालिटी सो ‘अमेरिकन आइडल’ को १८ औं संस्करणको टप २० मा छानिएका नेपाली युवा दिवेश पोखरेल (आर्थर गन) ले ‘सोलो’ राउन्डमा प्रस्तुति दिँदै निर्णायकलाई भावुक बनाएका छन्। अमेरिकन आइडलले औपचारिक युट्युब च्यानलमा राखिएको ‘सोलो’ राउन्डमा ‘नमस्ते’ अभिवादन गर्दै उनले सिसीआरको ‘ह्याभ यु इभर सिन रेन’ बोलको गीत सुनाएलगत्तै निर्णायक लायोनल रिचीले भावुक हुँदै आफ्नो आँखाको आँसु पुछेका थिए।

‘मलाई भावुक बनायो’, प्रस्तुतिपछि रिचीले अर्की निर्णायक केटी पेरीलाई भनेका थिए। उनको प्रस्तुतिलगत्तै तीन जना निर्णायकहरूले उठेर ताली बजाएका थिए। ‘सिसीआरेको गीतलाई मैले आफ्नो शैलीमा प्रस्तुत गरें,’ प्रस्तुतिलगत्तै दिवेशले भने। यसअघि उनले ‘अमेरिकन आइडल’ को ‘हलिउड विक’ राउन्डमा प्रस्तुति दिएका थिए। सो दौरान उनले ब्ल्याक त्रोज्सको ‘हार्ड टु ह्यान्डल’ गीत सुनाएलगत्तै निर्णायकबाट प्रशंसा बटुलेका थिए। उनको गायन प्रस्तुतिबाट अमेरिकन आइडलका निर्णायकहरू गायिका केटी पेरी, लुका ब्रायन र लियोनल रिची प्रभावित भएका थिए।

निर्णायक रिचीले केटीलाई दिवेशको स्वरले आफूलाई गायक बब मार्लीको स्मरण गराएको बताएका थिए। यसअघि उनले अमेरिकाको कन्सासमा आयोजना भएको अडिसनको दौरान निर्णायकहरूलाई नमस्कार गर्दै बब डिलनको ‘गर्ल फ्रम द नर्थ कन्ट्री’ गीत गाएका थिए। पाँच वर्षदेखि अमेरिकामा रहेका उनको सांगीतिक प्रस्तुतिबाट प्रभावित भएका निर्णायकहरू प्रशंसा गर्दै सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गरेका थिए। उनले सन् २०१८ मा आठ वटा गीतसहित ‘ग्रहण’ नामक एल्बम निकालेका थिए। सात वर्षअघिदेखि सांगीतिक यात्रा सुरु गरेका उनी जोन मार्टिन, निक ड्र्याक, बब डिलन, बुक्का व्हाइट, रोबर्ट जोनसन, हाउलिन उल्फ र जोन लि हूकरको गीतहरूबाट प्रभावित छन्। उनको औपचारिक युट्युब च्यानलमा ‘म’, ‘खोज’ र ‘कर्णाली’ लगायत गीतहरू राखिएका छन्।

प्रकाशित: १२ चैत्र २०७६ ०५:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App