४ वैशाख २०८१ मंगलबार
कला

क्वारेन्टाइनबाट दीपक बज्राचार्यको ‘लाइभ कन्सर्ट’

काठमाडौं – गायक दीपक बज्राचार्य र उनको रिदम व्यान्डले सामाजिक सञ्जालमार्फत प्रत्यक्ष सांगीतिक प्रस्तुति दिएका छन्। मंगलबार गायक बज्राचार्यको औपचारिक सामाजिक सञ्जाल फेसबुक र युट्युबमार्फत उनीहरूले सांगीतिक प्रस्तुति दिएका थिए। गत साता राजधानी ओर्लिएलगत्तै ललितपुरस्थित एक घरमा क्वारेन्टाइनमा बसिरहेका उनीहरूले करिव डेढ घण्टाको सांगीतिक प्रस्तुतिसँगै कोरोना भाइरस संक्रमण रोकथामको लागि सतर्कता अपनाउन विभिन्न जानकारी समेत दिएका थिए। उनीहरूले ‘मन मगन’, ‘तिमीलाई भुलेको’, ‘प्रिय’, ‘सानी’ र ‘काली काली’ लगायत गीतहरू प्रस्तुत गरेका थिए।

सांगीतिक प्रस्तुतिको क्रममा सरकारले ‘लकडाउन’ घोषणा गरिरहेको अवस्थामा घरमा बस्न आग्रह गरेका थिए। ‘सरकारले लकडाउन घोषणा गरिरहेको अवस्थामा घर बसेर निराश भइरहेका दर्शकलाई केन्द्रित गरेर सामाजिक सञ्जालमार्फत प्रस्तुति दिएका थियौं। सोचेभन्दा बढी दर्शकले हाम्रो प्रस्तुति प्रत्यक्ष रूपमा हेरेको देख्दा आश्यर्चमा परेका छौं,’ गायक बज्र्राचार्यले भने,‘सामाजिक सञ्जालमार्फत दर्शकले कन्सर्ट हेर्न रूचाउने रहेछन्।’ एक सातादेखि क्वारेन्टाइनमा बसिरहेका उनीहरूले कोरोना संक्रमण रोकथामका लागि सचेतना फैलाउने दुई वटा गीतहरू समेत तयार गरिसकेका छन्। ‘अहिलेको अवस्थामा सामाजिक सञ्जालबाट दर्शकलाई मनोरञ्जनसँगै सचेत गराउन लागिपरेका छौं। यसलाई अवको एक सातासम्म क्वारेन्टाइनबाट निरन्तरता दिनेछौं, ’उनले भने।

गत फागुन २१ मा दुई महिने सांगीतिक कार्यक्रम लिएर ब्याण्डसहित अस्ट्रेलिया उठेका उनीहरूले पर्थ र एडिलेडमा प्रस्तुति सिध्याएलगत्तै नेपाल फर्किएका थिए। अस्ट्रेलिया र न्युजिल्यान्डका विभिन्न सहरमा सांगीतिक कार्यक्रम हुने तय भएको थियो। सिड्नीमा उनीहरूसँगै १९७४ एडी र मंगोलियन हर्टले समेत प्रस्तुति दिने तयारी थियो। त्यस्तै न्युजिल्यान्डमा आयोजना हुने भनिएको नेपाल महोत्सवमा ब्याण्डले प्रस्तुति दिने तय भएको थियो। ‘हामी स्वस्थ छौं। तर संक्रमित देशबाट फकिएको हुँदा पारिवारसँग नबसेर ब्याण्डका सबैजना एक साथ क्वारेन्टाइनमा बसेका छौं,’ उनले भनेका थिए।

प्रकाशित: १२ चैत्र २०७६ ०५:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App