१६ चैत्र २०८० शुक्रबार
कला

कोरोना सारेको आरोपमा गायिकाविरुद्ध उजुरी

मुम्बई – भारतीय गायिका कनिका कपुरले सामाजिक सञ्जालमार्फत कोरोना भाइरस संक्रमण भएको जानकारी गराएलगत्तै ‘लापरबाही’ गरेको आरोपमा मुद्दा दर्ता भएको छ। लखनउका प्रमुख चिकित्सा अधिकारीले कोरोना संक्रमित गायिका कपुरले लापरबाही गरेको जनाउँदै प्रहरीमा मुद्दा गरेका थिए।

लखनउमा उनीसहित सांसद, विधायक र मन्त्रीहरूलगायत एक रात्रि भोजमा सहभागी भएका थिए। भारतीय गायिका कपुरले कोरोना भाइरस संक्रमित भएको स्वीकारेसँगै संसददेखि राष्ट्रपति निवाससम्म त्रास फैलिएको थियो। उनी सहभागी एक सांसदसँग भेट गरेका राष्ट्रपति रामनाथ कोविन्दले आफ्नो भेटवार्ता रद्द गरेका छन्।

इन्डियन पेनल कोड (आईपिसी) को धारा १८८, २६९ र २७० अनुसार गायिका कपुरविरुद्ध मुद्दा दर्ता भएको थियो। लखनउ एयरपोर्टमा चिकित्सकसहितको टोलीले उनलाई घरमै क्वारेन्टाइनमा बस्न सल्लाह दिएका थिए। तर उनले वेवास्ता गरेर विभिन्न पार्टीहरूमा सहभागी भएर धेरैलाई संक्रमण सारेको उल्लेख गरिएको छ।

उनले एयरपोर्टमा जाँच भएपनि कुनै समस्या नदेखिएको बताएकी थिइन्। लखनाउ सरकारले उनी सहभागी तीन पार्टीमा उपस्थित भएका सबै व्यक्तिको पहिचान गरी जाँच गर्न र क्वारेन्टाइनमा राख्न निर्देशन दिएको छ। लन्डनबाट फर्किएपछि हालै उनले एक अस्पतालमा जाँच गराएपछि कोरोना संक्रमण भएको पुष्टि भएको थियो। उनीसहित पार्टीमा सहभागी भएका मन्त्री र कर्मचारीहरू क्वारेनटाइनमा छन्। गायिका कपुरको सम्पूर्ण परिवारलाई क्वारेन्टाइनमा राखिएको छ। उनका ‘बेबी डल’, ‘जुगनी’ र ‘चिटियाँ कलैयाँ’ जस्ता गीतहरू चर्चामा छन्।

‘उनीविरुद्ध परेको मुद्दामा मार्च ११ मा लन्डनबाट भारत फर्किएको मिति उल्लेख गरिएको छ। सो तथ्यलाई हामी अनुसन्धान गर्नेछौं,’ प्रहरी अधिकारी सुजित पाण्डेले भने। सो मुद्दा दर्ता भएपछि गायिका कपुरसँग एक पार्टीमा सहभागी भएका उत्तर प्रदेशका स्वास्थ्य मन्त्री जयप्रताप सिंहले एयरपोर्टले जाँचमा लापरबाही गरेको स्वीकारे। ‘हाम्रो पक्षमा केही समस्या भएको देखिन्छ। म एयरपोर्टका अधिकारीहरूलाई उनी कसरी एयरपोर्टबाट बाहिर निस्किन भनेर सोध्न गइरहेको थिएँ,’ उनले भने। उनी हाल क्वारेन्टाइनमा छन्। भारतमा हालसम्म दुई सय २३ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।

प्रकाशित: ९ चैत्र २०७६ ०४:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App