१६ चैत्र २०८० शुक्रबार
कला

दीपक बज्राचार्यसहित ब्यान्ड सदस्य क्वारेन्टाइनमा

काठमाडौं – गायक दीपक बज्राचार्य र उनको ब्यान्ड सदस्यहरू अष्ट्रेलियाबाट नेपाल फर्किएलगत्तै क्वारेन्टाइनमा बसेका छन्। बुधबार राजधानी ओर्लिएलगत्तै दीपक बज्राचार्यसहित उनका ब्यान्ड सदस्यहरू ललितपुरस्थित एक घरमा क्वारेन्टाइनमा बसिरहेका छन्।

‘हामी स्वस्थ छौं। तर संक्रमित देशबाट फकिएको हुँदा पारिवारसँग नबसेर ब्यान्डका सबैजना एक साथ क्वारेन्टाइनमा बसेका छौं,’ गायक बज्रचार्यले भने, ‘अस्ट्रेलियाबाट मलेसिया हुँदै फर्कने क्रममा सावधानी अपनाइरहेका थियौं। नेपाल झरेलगत्तै विभिन्न देशबाट आएका यात्रुहरूलाई एयरपोर्टका कर्मचारीहरूले असावधानीपूर्ण एउटै बस राखेका थिए।’

गत फागुन २१ मा दुई महिने सांगीतिक कार्यक्रम लिएर ब्यान्डसहित अस्ट्रेलिया उठेका उनीहरूले पर्थ र एडिलेडमा प्रस्तुति सिध्याएलगत्तै नेपाल फर्किएका थिए। अस्ट्रेलिया र न्युजिल्यान्डका विभिन्न सहरमा सांगीतिक कार्यक्रम हुने तय भएको थियो। ‘साना कार्यक्रमहरू भएरहेका थिए। ठूला कार्यक्रमहरू नगर्न अस्ट्रेलियन सरकारले आग्रह गरेसँग सारिएका थिए। यो स्थितिमा नेपाल फर्कनु उचित लाग्यो,’ उनले भने।

सिड्नीमा उनीहरूसँगै १९७४ एडी र मंगोलियन हर्टले समेत प्रस्तुति दिने तयारी थियो। त्यस्तै न्युजिल्यान्डमा आयोजना हुने भनिएको नेपाल महोत्सवमा ब्यान्डले प्रस्तुति दिने तय भएको थियो। ‘संसारभर फैलिरहेको कोरोना भाइरस संक्रमणलाई लिएर अस्ट्रेलियाले सतर्कता अपनाएको छ। नेपाल ओलिएलगत्तै यहाँ कोरोना भाइरसलाई लिएर कोही सचेत भएको महसुस गर्न सकिएन्। एयरपोर्ट कर्मचारीहरूले सामान्य फर्म भर्न लगाएका छन्,’ उनले भने, ‘विभिन्न देशबाट नेपाल आएका यात्रुहरूको परीक्षण गरेको देखिएन्। यसबारे सतर्कता अपनाउनु जरुरी छ।’ उनले सामाजिक सञ्जालमा भिडियो राख्दै क्वारेन्टाइनमा बसिरहेको जानकारी गराएका थिए।

कोरोना भाइरस संक्रमण रोकथामको लागि नेपाल सरकारले अध्यागमन नियन्त्रण गर्ने निर्णय लिएसँगै ५३ जना विदेशीलाई त्रिभुवन अन्तराष्ट्र्रिय विमानस्थलबाट फिर्ता पठाइएका छन्। शनिबार मध्यरातबाट लागु हुने गरी नेपाल सरकारले विदेशीहरूलाई ‘अन अराइभल भिसा’ नदिने र नेपाल प्रवेश गर्नका लागि स्वास्थ्य प्रमाणपत्र पेश गर्नुपर्ने निर्णय गरेको थियो। अन अराइभल भिसा नदिने निर्णय अनुसार नेदरल्याण्ड, चीन, फ्रान्स, चेक गणतन्त्र र बेलायतका नागरिकलाई फिर्ता गरिएको छ।

सन् तथ्यांकअनुसार औसतमा दैनिक ११ हजारभन्दा बढी यात्रु एयरपोर्टमा आवतजावत हुने गरेका थिए। त्यसमध्ये दैनिक ६ हजारभन्दा बढी नेपालबाट बाहिरिने र पाँच हजारभन्दा बढी नेपाल भित्रिने गरेका थिए।

प्रकाशित: ७ चैत्र २०७६ ०२:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App