६ वैशाख २०८१ बिहीबार
कला

पुरुषवादी अहंकारविरुद्ध नारीवादी ‘थप्पड’

काठमाडौं – नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो पाँच वर्षको तत्थांकअनुसार महिलामाथि हुने घरेलु हिंसा ह्वात्तै बढेको छ। आर्थिक वर्ष २०७६/७७ मा मात्र आठ हजार दुई सय ८७ महिला घरेलु हिंसाको सिकार भएको तथ्यांक छ। पुरुषविरुद्ध महिलाले बोल्नुहुँदैन भन्ने पुरातनवादी सामाजिक सोचले धेरै महिला परिवारबाट हिंसामा पर्ने गरेको नेपाल प्रहरीको भनाइ छ। अनुभव सिन्हाद्वारा निर्देशित गत शुक्रबार रिलिज ‘थप्पड’ फिल्म यस्तै खालको सामाजिक समस्याका रूपमा रहेको पतिबाट पत्नीमाथि हुने हिंसा र दमनविरुद्धको आवाज बुलन्द बनाउने प्रयासको उपज हो।

‘एक थप्पड त हो नि’ भन्ने मानसिकताविरुद्ध निर्मित यो फिल्मले पति–पत्नीबीचको कुरा बाहिर लैजानुहुन्न भन्ने भावमाथि व्यंग्य कसेको छ। आदर्श पत्नी अमृता (तापसी पन्नू) को नियमित कार्यबाट फिल्म आरम्भ हुन्छ। हरेक दिन बिहान सबेरै उठेर चिया बनाई पतिलाई ओछ्यानमै पु-याउनु अमृताको दैनिकी हो। पति विक्रम (पाभेल गुलाटी) कार्यालयका लागि घरबाट निस्कँदा नियमित गाडीसम्म टिफिन बक्स र पर्स पु¥याउँछिन्। नियमित रूपमा सासूको मधुमेह जाँच्ने उनलाई आदर्श बुहारीका रूपमा रहेकी छन्। आफ्ना लागि कालो चिया बनाउनु र छिमेकी (दिया मिर्जा) की छोरीलाई शास्त्रीय नृत्य सिकाउनु उनको नियमितता हो। उनी फुर्सदमा माइती पुगेर आमाबुबासँग कुराकानी गर्नसमेत भ्याउँछिन्। प्रमोसन भएको खुसियालीमा विक्रम घरमा आफूनिकटका लागि पार्टी आयोजना गर्छन्। पार्टीमा आफूभन्दा अग्रज सहकर्मीसँग उनको सामान्य भनाभन हुन्छ। स्थिति साम्य पार्न पुगेकी अमृतालाई रिसले चुर भएका विक्रमले पाहुनाहरूकै सामु एक थप्पड हान्छन्।

यस घटनापछि अमृताले आफू अपमानित भएको महसुस गरेसँगै फिल्मले रोचक मोड लिन्छ। उनले आफ्नो आत्मसम्मानका लागि गरेको संघर्षमा फिल्म केन्द्रित छ। कथालाई फराकिलो बनाउन निर्देशकले अन्य महिला पात्रहरूलाई सशक्त रूपमा प्रस्तुत गरेका छन्।

एकल आमा (दिया मिर्जा), लाजमर्दो विवाहिक सम्बन्धमा रहेकी वकिल (माया सराव) र जँड्याहा पतिबाट घरेलु हिंसाको सिकार हुन बाध्य सहयोगी (गीतिका विद्या अह्यान) जस्ता पात्रले भूमिकाले पित्तृसत्ताको विरोध गरिरहेको आभास गराउँछ। जीवनमा खुसीका लागि सबै पात्र संघर्षरत देखिन्छन्।

फिल्ममा कथा, पात्र र संवाद बुलन्द छन्। ‘मुल्क’ र ‘आर्टिकल १५’ जस्ता फिल्म निर्देशक गरिसकेका अनुभव सिन्हाले सामाजिक कथालाई निरन्तरता दिँदै ‘थप्पड’ तयार गरेका छन्। गम्भीर विषयलाई फिल्ममार्फत प्रस्तुत गर्ने साहस बटुलेर उनी कथालाई न्याय दिन प्रयासरत देखिन्छन्। सामाजिक ड्रामा विधाको फिल्मले अनुचित वैवाहिक मान्यताविरुद्ध प्रश्न उठाएको छ। निर्देशकले सुन्दर ढंगले महिलाका विभिन्न स्वरूपलाई फिल्ममा उतारेका छन्। केही फितला दृश्यका कारण फिल्ममा कतैकतै सुस्तताको अनुभूति हुन्छ।

फिल्मभर अमृताको अभिनय दमदार र यादगार छ। फिल्मको पहिलो हाफमा कमजोर महिलाको भूमिकामा देखिएकी उनी आत्मसम्मानका निम्ति जुटेकी छन्। विक्रम महत्वकांक्षी पतिको भूमिकामा जमेका छन्। उनले आफ्नो भूमिकामा पकड जमाएका छन्। कुमुद मिश्र र रत्न पाठकको अभिनय तारिफयोग्य छ। छोटो भूमिकामा देखिएकी दिया मिर्जाको अभिनय पनि स्मरणीय लाग्छ।

फिल्मको सिनेमेट्रोग्राफी थिमअनुसार सामान्य शैली खिचिएको छ। फिल्मको सम्पादन पक्ष कमजोर भएको महसुस हुन्छ। फिल्मको कथाअनुसार ‘एक थोडा धूप’को संगीत सुहाउँदो लाग्छ। पितृसत्ता र सामाजिक मान्यताहरूमाथि फिल्मले प्रश्न गरेको छ। महिलाले सहन सिक्नुपर्छ भन्नेमाथि व्यंग्यात्मक शैली फिल्ममा देखिन्छ।
कलाकार: तापसी पन्नू, दिया मिर्जा,पाभेल गुलाटी, कुमुद मिश्र, तन्भी आजमी, रत्न पाठक
निर्देशक: अनुभव सिन्हा

प्रकाशित: २० फाल्गुन २०७६ ०४:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App