coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

‘दर्शकको समय र पैसाको मूल्य खोइ?’

काठमाडौं - फरक विधामा फिल्म बनाउन खप्पिस निर्देशक दीपेन्द्र के खनाल ‘आमा’ फिल्म रिलिजको तयारीमा छन्। आगामी शुक्रबारदेखि रिलिज हुने ‘आमा’लाई उनले करिअरको महत्वपूर्ण फिल्मको रूपमा राखेका छन्। विसं २०२० सालमा हिरासिंह खत्रीले निर्देशन गरेको ‘आमा’ फिल्मको नाम सापटी लिएर विसं २०५१ सालमा निर्देशक रेशराज आचार्यले सोही नाममा फिल्म बनाएका थिए। रेशराजले ‘आमा’ निर्देशन गरेको २५ वर्षपछि यही नाममा निर्देशक दीपेन्द्र के खनालले नयाँ फिल्म निर्देशन गरेका छन्।

‘मैले यथार्थसँग निकट रहेर आमा फिल्म बनाएको छु। कारण यसको कथादेखि लिएर दृश्यले समेत यथार्थमा जोड दिएको छ। फिल्म भनेको धैर्यसहित बनाउनुपर्छ भन्ने मान्यतालाई पछ्याउँदै यो फिल्म निर्देशन गरेको हुँ,’ उनले भने, ‘आफ्नै प्रोडक्सनमा काम गरेको पाँच दिन कुरेर फिल्मको एउटा सर्ट खिच्न सम्भव भएको थियो।’

विसं २०६६ सालमा ‘द युगदेखि युगसम्म’ फिल्मबाट नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेका उनले ‘चपली हाइट’, ‘भिजिलान्ते थ्रिडी’, ‘पशुपतिप्रसाद’ र ‘आमा’ सम्म आइपुग्दा फिल्म मेकिङको क्षमतामा वृद्धि गरिरहेको दाबी गरे। ‘हरेक फिल्मबाट म सिकिरहेको हुन्छु। म जब नयाँ विधाको फिल्ममा काम गर्छु। मेरा लागि यो नयाँ भएकाले आफूलाई प्रमाणित गर्न लागिपर्छु,’ उनी भन्छन्, ‘यसअघि बनाएका फिल्मको क्रेडिटले काम गर्दैन। दर्शकले मेरो फिल्मबाट नयाँपनको अपेक्षा राखेका हुन्छन्। यसपटक फिल्मको शैलीदेखि फ्रेमिङसम्ममा ध्यान दिएको छु।’

महिला प्रधान फिल्म चल्दैन भन्ने म गलत हो। महिला भएर नचल्नेभन्दा पनि महिलालाई सशक्त रूपमा पोट्रेट गरेको फिल्म बन्न सकेको छैन। महिला प्रोटागोनिस्टलाई सशक्त बनाएर तयार भएको ‘आमा’ फिल्म मध्यम वर्गको परिवारको कथामा आधारित रहेको छ।

मध्यम वर्गको परिवारको कथामा आधारित ‘आमा’ फिल्मको सुटिङका दौरान यथार्थलाई जोड दिँदै वास्तविक वर्षाको सर्ट खिचेर सुटिङ सिध्याउन ७१ दिन लागेको थियो। ‘प्राकृतिक रूपमा पानी पार्नुपर्ने दृश्य भएकाले वर्षाको प्रतीक्षा गर्नुको विकल्प थिएन । फिल्मको सुटिङ सकिन ७१ दिन लागेको थियो,’ उनी स्मरण गर्छन्।

हरेक फिल्मका आफूसँग ट्युनिङ मिल्ने कलाकारदेखि प्राविधिकसम्म छनोटमा ध्यान दिने गरेका उनी प्राथमिकतामा स्टारभन्दा राम्रा र सम्भावना भएको कलाकारलाई राख्छन्। ‘मेरो ट्युनिङ मिल्ने कलाकारदेखि प्राविधिक काम गर्न मलाई सहज हुन्छ। बजारले स्टार भनेका कलाकारहरू सायदै मैले लिएको छु। राम्रो, सम्भावना भएर पनि छायामा परेका कलाकारलाई प्राथमिकतामा राख्ने गरेको छु,’ उनी प्रस्ट्याउँछन्।

११औं फिल्मसम्म आइपुग्दा उनले करिअरको सुरुवाती दिनमा निर्देशन गरेका फिल्मलाई सिकाइको रूपमा लिएका छन्। ‘यस फिल्मबाट मैले फिल्म निर्देशनको नयाँ अध्यायको सुरुवात गरेको छु। मेरा लागि धेरै अर्थमा यो फिल्म महत्वपूर्ण रहेको छ,’ उनले भने, ‘मेरो करिअरको यो ११औं फिल्म भए पनि निर्देशकको रूपमा मैले यसलाई एक नम्बरमा काउन्ट गरेको छु।’ एक दशकमा आफूले धेरै फिल्म निर्देशक गरे पनि यो काम सजिलो नभएको बुझ्ने मौका मिलेको उनको अनुभव छ। ‘फिल्म मेकिङसम्बन्धी क्षमतामा वृद्धि गर्दै आगामी दिनमा फरक विधाका फिल्म बनाउन लागिपरेको छु। त्यसैले मेरा लागि यो फिल्म विशेष छ,’ उनले भने।

यस फिल्ममार्फत आमाहरूको कथा भन्ने प्रयास गरेका उनी महिला प्रोटागोनिस्टलाई बलियो बनाएर नेपाली फिल्म नबनेको दाबी गर्छन्। ‘धनपति’ देखि ‘घर’ र ‘आमा’सम्म आइपुग्दा उनले अभिनेत्री सुरक्षा पन्तसँग सहकार्य गरिरहेका छन्। ‘मैले उनलाई जबर्जस्ती अभिनय गराएझैं लाग्दैन। प्राविधिकदेखि कलाकारसम्म फिल्म सुहाउँदोलाई प्राथमिकता दिन्छु। यस फिल्ममा उनले समय दिएर समर्पित भएर काम गर्ने प्रतिबद्धता अनुसार उनलाई कास्ट गरेको थिएँ,’ उनले भने, ‘मैले सिर्जना गरेको भूमिकालाई हुबहु उतार्न कलाकारले कति समय र समर्पित गर्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ।’

पुरुष निर्देशकले बनाएका अधिकांश महिला प्रधान फिल्महरूमा पुरुषवादी दृष्टिकोण हाबी हुने प्रसंगमा उनले फिल्मको कथालाई न्याय गरेको बताए। महिला पात्रलाई न्याय दिन महिला निर्देशकहरूको संख्या बढ्नुपर्ने आवाज उठिरहेको अवस्थामा उनले फिल्ममा महिलावादी दृष्टिकोणमा सजकता अपनाएको दाबी गरे। ‘मैले यस फिल्म र महिला पात्रहरूलाई न्याय दिएजस्तो लाग्छ। बाल्यकालदेखि महिला र पुरुषबीच हुने विभेदको विरोधी भएकाले जहिल्यै महिलाको पक्षमा आवाज उठाउने गरेको छु,’ उनले भने, ‘मेरी छोरीलाई मैले कसरी पालन पोषण गरिरहेको छु भन्ने कुराले यो फिल्म बनाउन प्रोत्साहित गरेको थियो।’

महिला प्रधान फिल्म चल्दैन भन्ने मान्यतामा उनी असहमत छन्। नेपाली फिल्म क्षेत्रको इतिहासमा विपना थापादेखि रेखा थापासम्मका अभिनेत्रीहरूले अभिनेतासरहका फिल्म चलाउने हैसियत राखेको प्रसंग उनी स्मरण गर्छन्। ‘महिला प्रधान फिल्म बनाउन निर्माताहरूले आँट नगर्लान्। तर महिला प्रधान फिल्म चल्दैन भन्ने मान्यता गलत हो। महिला भएर नचल्नेभन्दा पनि महिलालाई सशक्त रूपमा पोट्रेट गर्ने फिल्म बन्न सकेको छैन,’ उनले भने। ‘बुलबुल’ ले महिला प्रधान फिल्मको रफ्तारलाई महत्व दिएको उनले बताए।

‘आमा’ फिल्म नेटफ्लिक्समा समेत आउने सम्भावना रहेको जानकारी उनले गराए। ‘नेपाली फिल्मले अन्तर्राष्ट्रिय प्लेफर्म खोज्नु जरुरी भइसकेको छ। अन्यथा जहिल्यै फिल्म मेकिङमा खुम्चिएर बस्नुपर्ने हुन्छ। नेटफ्लिक्सले यस फिल्मलाई राख्न ९५ प्रतिशत सहमति जनाइसकेको छ। सम्भवतः यो फिल्म नेटफ्लिक्समा आउँछ भन्नेमा म ढुक्क छु,’ उनले भने।

‘छ माया छपक्क’ फिल्मपछि दर्शकहरूलाई आकर्षित गर्ने नेपाली फिल्म हलमा रिलिज हुन नसकेको उनी बताउँछन्। ‘दर्शकले पैसा र समय खर्चिएर फिल्म हेर्छन्। दर्शकलाई आकर्षित गर्ने नेपाली फिल्म रिलिज भएका छैनन्,’ उनी भन्छन्। यसपछि उनी हिँडेर अमेरिका जाने कथामा काम गर्न इच्छुक रहेको बताउँछन्।

‘आमा’ फिल्मको संवाद, दृश्यदेखि कथा दर्शकले मनपराउने अपेक्षा उनले गरेका छन्। ‘यस फिल्मका काल्पनिक दृश्य र अभिव्यक्ति नभएर घरदेखि वैदेशिक रोजगारको पीडालाई समावेश गरेको छु। मैले भवनको भित्ताहरूबाट धेरै कुरा भन्ने प्रयास गरेको छु। त्यसैले दर्शकले यो फिल्म मनपराउने आशा गरेको छु,’ उनी भन्छन्। फिल्ममा अभिनेत्री सुरक्षा पन्तसहित मिथिला शर्मा, देशभक्त खनाल, सरिता गिरी, आशान्त शर्मा, मनीष निरौला र पदम बुढालगायतका कलाकारहरूले अभिनय गरेका छन्।

प्रकाशित: ७ फाल्गुन २०७६ ०४:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App