coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

‘राजनीति हैन मैले कथा भनेको हो’

काठमाडौं - ‘गंगाजल’, ‘आरक्षण’ र ‘सत्याग्रह’ जस्ता सामाजिक मुद्दामा फिल्म फिल्म बनाएका बलिउड फिल्म निर्देशक प्रकाश झाले आफूलाई धेरैले राजनीतिक फिल्म बनाएको टिप्पणी गर्ने गरेको भएपनि आफूले राजनीतिक मुद्दामा नभइ कथामा फिल्म बनाएको बताएका छन्। शनिबार राजधानीको सभा गृहमा आयोजित नेपाल इन्टरनेसनल फिल्म महोत्सव (निफ) अन्तर्गतको अन्तक्र्रियात्मक कार्यक्रममा बोल्दै उनले आफूले आफूलाई भन्न मनलागेको कथामा फिल्म बनाएको तर अरुले नै तिनलाई सामाजिक राजनीतिक फिल्ममा वर्गीकरण गर्ने गरेको बताएका हुन्।

‘मैले बनाएका फिल्महरूलाई राजनीतिक र सामाजिक फिल्म भनिएपनि समाजमा रहेको विषयमा आधारित रहेर केवल फिल्म बनाएको हुँ,’ उनले भने। भारतमा आठ पटक नेसनल फिल्म अवार्ड जितिसकेका उनले राम्रो फिल्म निर्माणको सूत्र आफूसँग पनि नभएको बताउँदै उनले आजको दुनियाँमा स्टारभन्दा पनि कथा महत्वपूर्ण भएको धारणा राखेका थिए। मूलधारको फिल्म व्यवसायिक हिसाबमा निर्माण हुने भएकाले सामाजिक विषयहरू कम प्राथमिकतामा पर्ने गरेको पनि उनको दाबी थियो। ‘मूलधार फिल्म आम दर्शकलाई केन्द्रित गरेर बन्ने हुँदा यसमा मसलेदार सामग्रीले प्राथमिकता पाउने गरेका छन्। वास्तविकतामा आधारित फिल्मले मानिसको हरेक दिनको कथालाई महत्व दिने हुन्छ। फिल्मको कथाले दर्शकलाई आकर्षक गर्नसक्नुपर्छ,’ उनले भने, ‘समाजको कथालाई मनपराउने दर्शकको लागि फिल्म बनाउनुपर्छ।’

निफको मुख्य निर्णायकसमेत रहेका उनले दक्षिण एसियाली देशमा तुलनात्मक हिसाबमा राम्रा फिल्महरू बन्ने क्रमले प्राथमिकता पाएको बताए। ‘निफमा निर्णायकको रूपमा सहभागी भइरहँदा मैले संसारभर निर्माण भइरहेको फिल्महरूका बारे बुझ्ने अवसर पाइरहेको छु। नेपालमा राम्रा फिल्महरू बनिरहेका रहेछन्। यसले निरन्तरता पाउनुपर्छ,’ उनले भने, ‘फरक विषयहरूमा फिल्म बन्नुपर्छ। सबैले आ–आफ्नो सोचअनुसार फिल्म बनाइरहेका छन्। कसैले पैसा कमाउनका लागि त कसैले फिल्मको माध्यमले समाजलाई जानकारी दिन खोजी रहेका छन्। म धैर्यताका साथ फिल्म बनाउने हुँदा मेरो विचार मैले बनाएका फिल्ममा देखिन्छ। सामाजिक कथामा आधारित मैले बनाएको फिल्म सबैलाई मन नपर्न सक्छ।’

डकुमेन्ट्री फिल्म मेकिङबाट करिअर सुरु गरेका उनले ‘गंगाजल’ फिल्मको स्क्रिप्ट सात वर्षमा लेखिएको बताए। ‘समाजको कथा लेख्न त्यसबारे अध्ययन हुनुपर्छ। यसले कानुन बनाएपनि तोड्न केन्द्रित हुन्छ। कानुनले अपराधीलाई पक्राउ गरेपनि त्यही कानुनले अपराधीलाई छोड प्रेरित गर्छ। कानुनले अपराधी भनिएकाहरू कमजोरमाथि शासन गर्छन्। कानुनले प्रमाण र साक्षी खोज्छ। तर डरले त्रसित साक्षी जहिल्यै कमजोर हुन्छ। उनले भने, ‘अपराधीलाई सजाय दिने हामी अपराधलाई समर्थन गर्छौ। मैले फिल्ममार्फत् यस्तै सत्य देखाउने गरेको छु।’

सामाजिक विषयमा आधारित फिल्म आम दर्शकको रोजाइमा नपर्ने हुँदा यस्ता फिल्म निर्देशन गर्ने फिल्ममेकरलाई चुनौती हुने उनी बताउँछन्। ‘दामुल’, ‘परिणति’, ‘मृत्युदण्ड’, ‘गंगाजल’, ‘अपहरण’, ‘राजनीति’, ‘आरक्षण’, ‘चक्रव्यूँह’ र ‘सत्याग्रह’ फिल्महरू समाजमा केन्द्रित भएर निर्माण भएको उनले बताए। ‘ म सदाकला प्रतिपक्ष हुँ।

शासक कहिल्यै जनताको पक्षमा हुन्न। त्यसैले मैले जहिल्यै सत्ता र शासकमाथि फिल्ममार्फत प्रश्न गरिरहेको हुन्छु,’ उनले भने। राजनीतिले समाज र हरेक व्यक्तिलाई प्रभावित पार्ने भएकाले यसलाई वेवास्ता गर्न नहुने तर्क उनी गर्छन्। ‘हरेक कुरामा राजनीति जोडिएको छ। कारण हामी आफ्नो प्रभाव सबैतिर हुनुपर्छ भनेर लागिपरेका छौं। साँच्चिकै भन्ने हो भने यसले हामीलाई भ्रष्ट बनाइरहेको छ। त्यसैले हामी यसलाई हामी वेवास्ता गर्न सक्दैनौं।’ प्रकाश झाले पनि अहिलेको समयमा दर्शकले कथा हेर्न चाहेकाले फिल्ममेकर कथाको खोजीमा केन्द्रित हुनुपर्ने धारणा समेत राखेका थिए।

निफको तेस्रो दिन प्रकाश झासँगको अन्तक्र्रियासँगै फिल्म हेर्ने क्रमले निरन्तरता पाएको थियो। राष्ट्रिय सभागृहसँगै पर्यटन बोर्ड र सर्वनाम नाटकघरमा पनि सञ्चालित महोत्सवमा शनिबार नेपाली फिल्म ‘बुलबुल, ‘ह्याप्पी क्लिनर्स’ र ‘मिडनाइट सङ’ लगायत फिल्म देखाइएको थियो।

आइतबार नियमित फिल्म प्रदर्शनसँगै अभिनेता राजेश हमालले आफ्नो फिल्मी यात्राको अनुभव बाँड्नेछन् भने लोकार्नो महोत्सवमा निर्देशक जाओ पाउलो महोत्सवमा फिल्म छनोट प्रक्रियामा बारेमा अनुभव बाँडनेछन्। फिल्म संस्कृतिको विकास गर्न नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले आयोजना गरिरहेको महोत्सवअन्तर्गत आइतबार साहारा शर्माको ‘मिस बर्दिया’ फिल्म प्रिमियर हुँदैछ।

गत बिहीबार सुरु भएको निफमा यसपटक ८० वटा फिल्महरू प्रदर्शन भइरहेका छन्। महोत्सवअन्तर्गत अन्तर्राष्ट्रिय फिल्म (१०), नेपाली फिल्म (५), सर्ट फिल्म (३५), नेपाली सर्ट फिल्म (१५), डकुमेन्ट्री (८) र ऐनिमेटेड फिल्म (६) प्रदर्शन भइरहेका छन्। आगामी फागुन ५ सम्म आयोजना हुने महोत्सवअन्तर्गत वल्र्ड पनोरोमामा उत्कृष्ट हुने फिल्मले १५ सय अमेरिकी डलर प्राप्त गर्नेछ। महोत्सवमा प्रदर्शन भएकामध्ये उत्कृष्ट डकुमेन्ट्रीले एक हजार अमेरिकी डलर, नेपाली फिल्मले एक लाख रुपैयाँ, ऐनिमेटेड फिल्मले सात सय ५० अमेरिकी डलर, सर्ट फिल्मले पाँच सय अमेरिकी डलर र नेपाली सर्ट फिल्मले ४० हजार रुपैयाँको पुरस्कार पाउनेछन्। त्यसबाहेक उत्कृष्ट अभिनेत्री, अभिनेता, निर्देशक, सिनेमेट्रोग्राफर र स्क्रिनप्ले विधामा अवार्ड प्रदान गरिनेछ।

बलिउड फिल्मका निर्देशक प्रकाश झासहित गौरी मल्ल, जोआओ पाओलो मसेडो, युनी हाडी र मञ्जुकुमार श्रेष्ठको निर्णायक टोलीले महोत्सवको उत्कृष्ट फिल्महरू छनोट गरिरहेका छन्। श्रीलंकाकी डकुमेन्ट्री फिल्ममेकर अनोमा राजाकरुणासहित थाइबुट ब्रैक र करूण थापाको निर्णायक टोलीले उत्कृष्ट सर्ट फिल्म र डकुमेन्ट्री छनोट गरिरहेका छन्।

प्रकाशित: ४ फाल्गुन २०७६ ०२:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App