१५ चैत्र २०८० बिहीबार
कला

दुर्गा कार्कीको ‘कुमारी प्रश्नहरू’ आउँदै

काठमाडौं – यस वर्ष पब्लिकेसन नेपालयको नयाँ टिमले चार महिला लेखकहरूको पुस्तकहरू प्रकाशन गर्ने तयारी पूरा गरेको छ। बिहीबार नेपालयले प्रेस विज्ञप्तिमार्फत चार महिला लेखकहरू पुस्तक प्रकाशन गर्ने तयारी पूरा भएको जानकारी गराएको थियो।

पब्लिकेसन नेपालयले यसअन्तर्गत स्तम्भकार तथा लेखक दुर्गा कार्कीको ‘कुमारी प्रश्नहरू’ नामक पुस्तक सार्वजनिक गर्दैछ। ‘कुमारी प्रश्नहरू’ सामाजिक यथार्थवादको कोणबाट लेखिएका १३ वटा कथाहरूको संग्रह हो। आगामी फागुन ९ मा उनको पुस्तक सार्वजनिक हुने जानकारी पब्लिकेसन नेपालयले गराएको छ।

‘दुर्गा कार्कीको पुस्तकबाट सन् २०२० को प्रकाशन सुरु गर्न पाएकोमा हामी हर्षित छौं। लेखनमार्फत उनी सामाजिक न्यायको मुद्दामा चलाखीपूर्ण तरिकाले प्रस्तुत भइरहेकी छन्। लिंगभेदका विसंगतीलाई उमेर अनुसारका महिला पात्रका दृष्टिकोणबाट अभिव्यक्त गर्छिन ,’ नेपालयकी भूषिता वशिष्ठले भनिन्, ‘ चातुर्यपूर्ण गद्य शैली र आकर्षक कथा बुनावट उनको विशेषता हो। उनको यही शैलीले उनलाई अखबार लेखनमा ख्याति र लोकप्रियता दिलाएको छ।’

लेखक दुर्गा कार्कीले पुस्तकमा समावेश कथाहरूले पाठकलाई निराश नपाउने बताइन्। ‘पुस्तकको पहिलो प्रति पाउँदा समेत मलाई मेरा कथाहरू साँच्चिकै पुस्तकको रूपमा आए भनेर विश्वास लागेन। यिनमा काम गरेर साँच्चै सकियो भन्ने लागिरह्यो,’ लेखक कार्कीले भनिन्, ‘यी प्रत्ये‍क कथालाई मैले कम्तीमा २० पटक पढेकी छु। हरेक पटक केही न केही थपघट गरेकी छु र कतिलाई त महिनौं सोचाइको गर्भमा बोकेर हिँडेकी छु। मलाई आशा छ, पाठकहरू यी कथाबाट पटक्कै निराश हुनु पर्दैन।’

‘कुमारी प्रश्नहरू’ पुस्तकले बजारलाई उत्साही बनाउने दाबी पब्लिकेसन नेपालयकी सिइओ सैजन मास्केले गरिन्। ‘दुर्गा आफ्नो कथा लेखनमार्फत ताजापन बोकेर आएकी छिन्। यो पुस्तकले बजारलाई उत्साही बनाउने छ र पुनर्जीवन दिनेछ भन्ने आशा गरेको छु। सन् २०२० मा प्रकाशन हुँदै गरेका चार वटा पुस्तकले भिन्दै शैली र कथानक बोकेर आएका छन्। त्यसैले यिनले नेपाली समकालिन साहित्य र प्रकाशन उद्योगलाइ सकारात्मक योगदान पुर्याउने विश्वास लिएको छु।’

प्रकाशित: २ फाल्गुन २०७६ ०३:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App