८ वैशाख २०८१ शनिबार
कला

कालापत्थरमा फेसन रनवे

काठमाडौं – कासा नेपालले कालापत्थरमा ‘द माउन्ट एभरेस्ट फेसन रनवे’ सम्पन्न भएको जानकारी गराएको छ। बुधबार राजधानीमा आयोजित कार्यक्रममा संसारको सबैभन्दा उच्च स्थानमा फेसन रनवे आयोजना गरिएको जानकारी कासा नेपालले गराएको थियो।

कासा नेपालकी प्रमुख तथा फेसन डिजाइनर रमिला नेम्कुलले जैविक विविधता र प्राकृतिक महत्वका फेसनको अनुसन्धानका आधारमा फेसन रनवे सम्पन्न भएको बताइन्। ‘नेपाली मौलिक फाइबरबाट उत्पादन भएका कपडा र पत्थरका गहना फेसन रनवेमा समावेश भएका थिए। वातावरणलाई असर गर्ने कलेक्सनलाई हामीले प्राथमिकता दिएका थियौं,’ उनले भनिन्, ‘ नेपालको प्रकृतिलाई विश्वभर चिनाउन तथा जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पुर्‍याएको असरबारे विश्व समुदायलाई जानकारी गराउन कालापत्थरमा फेसन सो आयोजना गरेका थियौं।’

गत माघ ११ मा सगरमाथा क्षेत्रको ५ हजार ६ सय ४४ मिटर उचाईको कालापत्थरमा आयोजना भएको ‘द माउन्ट एभरेस्ट फेसन रनवे’ मा १५ अन्तर्राष्ट्रिय र आठ नेपाली मोडलहरू सहभागी भएका थिए। कालापत्थरका बसोबास गर्ने शेर्पा समुदायको सहयोगार्थ फेसन रनवेको आयोजना गरिएको थियो।

सोमा इटली, रोमानिया, सर्बिया, जिम्बाबिया, इन्डोनेसिया, घाना, श्रीलंका, लिथुआनिया र नेपालका मोडलहरू सहभागी थिए। गिनिज बुक अफ दि वल्र्ड रेकर्डमा संसारको सबैभन्दा उच्च स्थानमा फेसन रनवे आयोजना गरेको रेकर्ड समेत कायम भएका छ। सोमा आयोजकले पुनः प्रयोग गर्न मिल्ने नेपाली कच्चा पदार्थबाट उत्पादन गराएका कपडाहरू लगाएर मोडलहरू सहभागी थिए।

प्रकाशित: १ फाल्गुन २०७६ ०४:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App