coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

महोत्सवमा नाटक ‘एक’ उत्कृष्ट

काठमाडौं – बालबालिकाहरूलाई कला र साहित्यमा प्रोत्साहित गर्न आयोजना भइरहेको राष्ट्रिय बाल नाटक महोत्सव विभिन्न विधाका विजेता घोषणा गर्दै सकिएको छ। बुधबार राजधानीको रसियन कल्चर सेन्टरमा आयोजित ११ औं संस्करणको राष्ट्रिय बाल नाटक महोत्सवअन्तर्गत ६ विधामा विजयी घोषणा गरिएको थियो।

महोत्सवमा मञ्चन भएको नाटकहरूबाट ६ विधामा विजेता घोषित गरिएको थियो। महोत्सवमा उत्कृष्ट अभिनेता क्रिएटिभ एकेडेमीको ‘अनमाया’ बाट नुमा लिम्बु र रिलायन्स स्कुलको ‘ड्रग्स एब्युज’ बाट सफल बस्नेत घोषित भएका थिए। उनीहरूले जनही १० हजार रूपैयाँसहितको पुरस्कार पाएका थिए। त्यस्तै लिभरपुल स्कुलको ‘टिका’ नाटकका निर्देशक आभा शर्मा नेपाल उत्कृष्ट निर्देशक र वृहस्पति विद्यासदनको ‘एक’ उत्कृष्ट नाटक घोषित भएको थियो। ‘एक’ नाटकमा अक्षरहरूसँग तर्सने समस्या भोगिरहेको विद्यार्थीको पढाइप्रतिको लगाव प्रस्तुत गरिएको थियो। उनीहरूले जनही सात हजार रूपैयाँसहितको पुरस्कार प्राप्त गरेका थिए।

काठमाडौं बोर्ड स्कुलको ‘कति पढिस ?’ नाटकबाट युरोप जंग थापाले प्रोत्साहन पुरस्कार र वृहस्पति विद्यासदनको ‘एक’ बाट अनुप्रास पाण्डेले पब्लिक च्वाइस पुरस्कार जितेका थिए। उनीहरूले जनही पाँच हजार रूपैयाँसहितको पुरस्कार पाएका थिए। एक सातादेखि शैली थिएटरले आयोजना गरेको राष्ट्रिय बाल नाटक महोत्सवमा बालबालिकाका विषयवस्तुमा आधारित नाटकहरू मञ्चन भएका थिए। महोत्सवमा काठमाडौं उपत्यका वरपरका १६ वटा स्कुलका नाटकहरू मञ्चन गरिएको थियो।

महोत्सवमा गोल्डेन सुनगाभा स्कुलको ‘ड्याड भर्सेस मम’, ब्राइट जोन स्कुलको ‘बहुला काजीको सपना’, एम्बेसडर एकेडेमीको ‘साँचो बोल्नुपर्छ’, राराहिल मेमोरियल स्कुलको ‘करेसा कन्सर्ट’, जेन्युन स्कुलको ‘निष्कासन’, क्रिएटिभ एकेडेमीको ‘अनमाया’, प्रज्ञा सदनको ‘डर’, विनायक स्कुलको ‘काँडा कि फूल’, रिलायन्स स्कुलको ‘ड्रग्स एब्युज’, वृहस्पति विद्यासदनको ‘एक’ र लिभरपुल स्कुलको ‘टिका’, तारा सदन स्कुलको ‘वृन्दा’ लगायत नाटकहरू मञ्चन भएका थिए।

शैली थिएटरका अध्यक्ष नवराज बुढाथोकीले बालबालिकाको निम्ति नाटक तयार गर्नेक्रममा महोत्सवले सुरुवात गरिएको थियो। ‘नेपाली रंगमञ्चमा बालबालिकाको नाटकहरू अभाव महसुस भएपछि महोत्सवको सुरुवात गरेका थियौं।

हरेक वर्ष बालबालिकाको सहभागिता बढ्दै गएको छ,’ उनले भने, ‘यस महोत्सवले बालबालिकाहरूलाई नेपाली रंगमञ्चमा लाग्न प्रोत्साहित गरिरहेको छ।’ महोत्सवमा शैली थिएटरको नाटक ‘सुनौलो माछा’ अप्रतियोगीका रूपमा मञ्चन गरिएको थियो।

प्रकाशित: १ फाल्गुन २०७६ ०४:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App