११ आश्विन २०७७ आइतबार
कला

महोत्सवमा राजकुमार–राक्षस युद्ध

भीम चापागाई/मञ्जु गौतम

इलाम – सेतो दौरा–सुरुवाल, त्यसमाथि कालोमा सेतो छिर्का भएको अस्कोट। शिरमा ढाकाटोपी। निधारमा रातो र कालो टीका। धेरै संख्याका प्रौढ र थोरै युवाको हुल मादल बजाउँदै मञ्चमा उक्लिेको आकृति देखिन्छ।

मञ्चमा उज्यालो छाउँदा मादल बोकेका युवक अघिल्तिर बीचमा देखिन्छन्। उनको छेउमा दुईपट्टि दुई युवा। पछिलो भागमा प्रौढजस्ता देखिने पाँच् भाइ एकोहोरो गाउँछन्। मादलको तालमा घन्किरहेको मञ्चको एकोहोरो गीत माइकमा बजेको छैन। अघिल्तिर बसेका सुन्नेमध्ये पनि धेरैले बुझेकै छैनन्। तर, दर्शकदीर्घा पछाडिसम्मै चुपचाप छ। आशय बुझ्न खुब बल गरिरहेको देखिन्छ।

तिहारमा गाउँघरतिर खेलिने देउसी–भैलोमा जस्तो गीत र मादलवाला बेला–बेला मञ्चकै छेउको कालोपर्दाभित्र चिहाउन प्रयत्न गरिरहेका छन्। त्यहीबेला शिरदेखि पाउसम्म राक्षसजस्तो वस्त्र धारण गरेको पात्र मञ्चमा आएर करिब पाँच मिनेट नाच्छ अनि पुनः बिलाउँछ। गीत र मादलको ताल रोकिएको छैन, मञ्चमै पूजा हुन्छ, युद्ध चल्छ। राक्षसजस्तो देखिने व्यक्ति युद्धमा मारिन्छ। र, विजयी समूह खुसियाली मनाउँछ। कुनै पात्रबीच संवाद छैन। युद्धका बेला आक्रोसमा आएको व्यक्ति कराउनेबाहेक दोहोरो गफगाफ कसैसँग कसैले गरेको सुनिँदैन। मञ्चअघि बसेर करिब १ घण्टासम्म नाटक हेर्दा एउटा दर्शकले झट्ट देख्ने दृश्य यति नै छ।पछिल्लो समय सहज बनिरहेको प्रविधिका कारण नाटक विधा त्यसैपनि ओझेलमा छ। नाटक विधामा दर्शक आकर्षित गर्ने चुनौती छ। यहीबेला सम्भवतः कतैपनि संवाद नभएको नाटक इलाममा यो नै पहिलोपटक मञ्चन गरिएको छ। एक युवक नाटक हेरिसकेपछि सभागृहबाहिर निस्केर भन्दै थिए– ‘बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको बिँड।’

सदरमुकामको गौतमबुद्ध सभागृहमा चलिहरहेको राष्ट्रिय लोकनाटक महोत्सवमा मंगलबार ३ नम्बर प्रदेशको प्रतिनिधि नाटक ‘राजकुमारको मल्ल युद्ध’ मञ्चन भइरहेको दृश्य थियो यो।

नेवार समुदायले परापूर्वकालदेखि विभिन्न नाटक, जात्रा, पर्व, नाच, चाडबाडलगायत मनाइरहेका छन्। पुस्तौंदेखि यो समुदायमा दोहोरिएका यी चाडपर्व र जात्राको उत्पत्ति कसरी भयो भन्ने कथा नाटकको मञ्चमा गाइएको गीतले भनिरहेको छ। मल्लकालदेखि नाच र नाटकलगायत कलाको विकास भएको, समाजमा सकारात्मक पक्ष सधैं सम्मानित र नकारात्मक पक्ष पराजित भएको देखाउनु नाटकको सार हो। नाटक लेखक श्रीराम दाहाल भन्छन्, ‘नाटकमा राक्षसको रूप धारण गरेको लाखे र त्यतिबेलाका राजकुमारबीचको युद्ध देखाएर नकारात्मक पक्षको पराजय, सकारात्मक पक्षको विजय भएको देखाइएको छ। यहाँ राजकुमारको जित र राक्षसको हार भएको छ।’ उनले मञ्चमा गाउने युवा समूहले पनि त्यही इतिहासलाई भजनका रूपमा गाएको र भजनले नै नाटकको कथा बोकेको बताए।

महोत्सवमा मंगलबार प्रदेश ४ को प्रतिनिधि नाटकका रूपमा नमोबुद्ध’ पनि मञ्चन गरियो। नमोबुद्धले ऐतिहासिक पानचाल राज्यका राजा महारथ र रानी सत्यवतीका ३ राजकुमार महाप्रणाव, महादेव र महासत्वको कथा जोडेको छ। कथाअनुसार महासत्व निकै दयालु थिए। उनीहरू वनमा शिकार खेल्न गएका बेला बघिनीका साथमा ६ डमरु हिँडिरहेको देखेपछि बघिनीका लागि महासत्वले आफ्नो प्राण त्यागेको कथा यसमा देखाइएको छ। गौतम बुद्ध बुद्धत्व प्राप्त गर्न त्यहीं पुगेको पनि कथाले उल्लेख गरेको छ।

राष्ट्रिय नाचघरले आयोजना गरेको राष्ट्रिय लोकनाटक महोत्सवमा सातै प्रदेशबाट नाटक मञ्चन भइरहेका छन्। स्थानीय लोकसंस्कृति झल्काउने नाटक महोत्सवमा प्रस्तुत गरिने संस्थानका अध्यक्ष प्रेम अधिकारीले बताए।

प्रकाशित: २९ माघ २०७६ ०९:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App