coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

हिट्स म्युजिक अवार्ड: ‘धन्यवाद’ र ‘वनफूल’ लाई सर्वाधिक अवार्ड

काठमाडौं – गायक सबिन राई एन्ड द फ्यारोहको ‘धन्यवाद’ र गायिका दुर्गा परियारको ‘वनफूल’ गीतले राजधानीमा शनिबार सम्पन्न हिट्स म्युजिक अवार्डमा सर्वाधिक तीन–तीन विधामा अवार्ड जितेका छन्। ‘धन्यवाद’ गीतका लागि गायक सबिन राई एन्ड द फ्यारोहले उत्कृष्ट समूह गायन, रक गायन र पप–रक संगीत सृजनाको अवार्ड जितेको थियो। नेपाली संगीत र कलाकारलाई प्रोत्साहन गर्न आयोजना हुँदै आएको हिट्स म्युजिक अवार्डको विभिन्न तीन विधामा सबिन राई एन्ड द फ्यारोह मनोनित भएको थियो।

गायक दीप श्रेष्ठले ‘तिम्रो यादमा’ गीतका लागि ‘उत्कृष्ट गायक’ को अवार्ड पाउँदा गायिका दुर्गा परियारले ‘वनफूल’ का लागि ‘उत्कृष्ट गायिका’ घोषित भइन्। त्यस्तै ‘वनफूल’ बाटै सुरेश अधिकारीले उत्कृष्ट संगीत सिर्जना र फनिन्द्र राईले संगीत संयोजनको अवार्ड जिते। सर्वाधिक पाँच विधामा मनोनित भएकी गायिका बर्तिका एम राईको ‘आशा २’ ले उत्कृष्ट गीतको अवार्ड जितेकी थिइन्। गायिका सुनिता कार्कीले ‘सुनमाला’ ले ‘एल्बम अफ द इयर’ विधाको अवार्ड जित्यो।

‘छोडर नजाऊ’ गीतका लागि गायिका आस्था तामाङ मास्केले ‘उत्कृष्ट महिला पप’ र ‘मलाई मजस्तै’ का लागि गायक शिव परियारले ‘उत्कृष्ट पुरुष गायन पप’ को अवार्ड जिते। त्यस्तै ‘गोजीमा दाम छैन’ बाट राजनराज सिवाकोटीले उत्कृष्ट चलचित्र गीतको अवार्ड प्राप्त गरे।

त्यसबाहेक नेपाली संगीतमा योगदान पु-याएबापत गायिका ज्ञानु राणालाई लाईफटाइम अचिभ्मेन्ट अवार्डबाट सम्मान गरिएको थियो। यो कार्यक्रमको २३ औं संस्करण हो। गायिका विष्णु माझी र कुलेन्द्र विको ‘सालको पात’ उत्कृष्ट लोक गीत घोषित भएको थियो। गायक दीपक ब्रर्जचार्यको ‘मन मगन’ले ‘रेकर्ड अफ द इयर’ को अवार्ड जित्यो। महेश काफ्ले र मेलिना राई ‘नाच फिरिरी’ गीतबाट युगल गायन विधामा उत्कृष्ट ठहरिए। नयाँ गायक विक्रम बराल ‘गल्ती’ का लागि ‘नवप्रतिभा अवार्ड’ को हकदार बने।

कार्यक्रममा बर्तिका इएम राई, सविन राई एन्ड द फ्यारोह , दुर्गा परियार र सुनिता कार्की लगायतले सांगीतिक प्रस्तुति दिएका थिए। ‘नेपाली कलाकार र नेपाली संगीतलाई प्रोत्साहित गर्न विगत २२ वर्षदेखि हामी अवार्ड आयोजना गरिरहेका छौं। यही कामलाई निरन्तरता दिन यसपटक पनि हामीले अवार्डको आयोजना गरेका हौं’, हिट्स एफएम म्युजिक अवार्डका प्रेस संयोजक अर्जुन घिमिरेले भने।

नव प्रतिभा, पप, रक, संगीत सृजना, लोकगीत, लोक गीति संग्रह, फिल्म गीत, युगल गायन, समूह गायन, रक गायन, महिला गायन पप, पुरूष गायन पप, एकल गायन महिला, एकल गायन पुरूष, पप रक गीति संग्रह, गीति संग्रह, रचना र गीतलगायत १८ वटा विधामा नेपाली सांगितिक क्षेत्रका कलाकारहरूले प्रतिस्प्रर्धा गरेका थिए। गत विसं.२०७५ साल बैशाखदेखि विसं.२०७५ साल चैत्र मसान्तसम्ममा हिट्स एफएममा दर्ता भएका गीत र गीति संग्रहहरुबाट हरेक विधामा उत्कृष्टलाई अवार्ड प्रदान गरिएको हो।

प्रकाशित: ५ माघ २०७६ ०३:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App