१६ चैत्र २०८० शुक्रबार
कला

मगर समुदायले टुँडिखेलमा माघे संक्रान्ति मनाउने

काठमाडौं – मगर समुदायले माघे संक्रान्ति (माघे सकराती) का अवसरमा राजधानीको टुँडिखेलमा शुभकामना आदानप्रदान कार्यक्रम तथा मगर मौलिक सांस्कृतिक महोत्सवको आयोजना गर्ने भएको छ। सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेपाल मगर संघले माघ १ र २ गते हुन लागेको कार्यक्रमका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। उक्त कार्यक्रममा मगरहरू मात्र नभएर सबै समुदायलाई उपस्थित हुन निमन्त्रणा गरिएको छ।

कार्यक्रमको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्ने जनाइएको छ। कार्यक्रममा मगर समुदायको मौलिक संस्कृति, वेशभूषा, खानेकुरा प्रदर्शनसँगै धनुकाँड हान्ने कार्यक्रम समेटिनेछन्। माघ १ गते मौलिक झाँकीसहित बिहान १० बजे भृकुटीमण्डपबाट ¥याली सुरु हुने भएकाले त्यसमा सबैलाई सहभागी हुन आग्रह गरिएको छ। संघका अध्यक्ष नवीन रोका मगरले माघे संक्रान्ति मगर समुदायको प्रमुख राष्ट्रिय सांस्कृतिक चाड भएको उल्लेख गर्दै सो अवसरमा देशका विभिन्न भूभागमा भव्यताका साथ मनाउन लागिएको जानकारी दिए। ‘नेपालबाहिर पनि झन्डै ५० देशमा मगर समुदायले विभिन्न कार्यक्रमका साथ यो पर्व मनाउँदै छन्,’ उनले भने।

उनका अनुसार मगर समुदायले प्राचीन कालदेखि नै माघे सकरातीलाई चेली पुज्ने चाडका रूपमा मनाउँदै आएको छ। यस चाडमा दाजुभाइले दिदिबहिनीलाई चामलको सेतो टीका र जौंपातीको पूmल लगाई दक्षिण र आशीर्वाद दिने चलन छ। यस दिन छोरीचेलीलाई मिस्रा दिने गरिन्छ। मिस्रा भनेको गिट्ठा, भ्याकुर, पिडालु, तरुल, रोटी, भुजौरी, खिँचडीलगायत परिकारको संग्रह हो। माइत आएका चेलीहरूलाई घरमै र आउन नसकेकालाई उनीहरू घरमा पुगेर मिस्रा पठाउने गरिन्छ।

‘यस चाडदेखि कौडा नाचको सुरुआत गर्ने गरिन्छ,’ माघे सकरातीको सांस्कृतिक महत्व दर्साउँदै उनले भने, ‘यसै दिनदेखि बेंसीबाट लेकतिर बसाइँ सर्ने गरिन्छ।’ नयाँ यामको सुरुआत हुने मान्यतासहित माघे सकरातीकै दिनदेखि उभौली सुरु भई साउने सकरातीमा समापन भई उधौली सुरु हुने विश्वास मगर समुदायमा रहेको पाइन्छ। उनले कुनै बेला मगर राज्यहरू अस्तित्वमा रहेका बेला पुरानो आर्थिक वर्ष पूरा भई नयाँ प्रारम्भ हुने दिनका रूपमा माघ १ गतेलाई मान्ने गरिएकाले पनि यस पर्वको छुट्टै ऐतिहासिक महत्व रहेको चर्चा गरे।

विगतमा माघे संक्रान्तिमा सार्वजनिक बिदा दिन थालिएको भए पनि पछिल्लो सरकारले आर्थिक समृद्धिका नाममा त्यसको कटौती गरेको भन्दै मगर संघले असन्तुष्टि प्रकट गरेको छ। उनले मगर, थारू, छन्त्याललगायतको मुख्य चाड भएकाले उक्त दिनमा पुनः सार्वजनिक बिदा दिन सरकारसँग माग गरे। देशमा रहेका भाषिक, सांस्कृतिक र सामाजिक विविधताको समृद्धि नभएसम्म नेपाल पूर्ण रूपमा समृद्ध बन्न नसक्ने तर्क गर्दै अध्यक्ष रोकाले त्यसतर्फ सरकार र राजनीतिक दलहरूको ध्यानाकर्षण गराए।

प्रकाशित: २९ पुस २०७६ ०४:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App