७ वैशाख २०८१ शुक्रबार
कला

एसिड गिज्याउँदै ‘छपाक’

काठमाडौं – एसिड आक्रमण दक्षिण एसियाको विकराल समस्या हो। नेपालमा केही महिनाअघि एसिड आक्रमण बेहोरेकी मुस्कान खातुन सामान्य दैनिकीमा फर्कंदै गर्दा बलिउडले उनीजस्ता एसिडपीडितको घाउमा मलम लगाउने प्रयास गरेको छ। गत शुक्रबारदेखि प्रदर्शनमा आएको ‘छपाक’मा मुस्कानजस्ता एसिड पीडितको भावनालाई उजागर गरिएको छ।

एसिड आक्रमणपछि न्यायका लागि एक पीडितको गरेको संघर्षलाई फिल्मले चित्रण गरेको छ। निर्देशक मेघना गुल्जारले पीडितलाई समाजको प्रेरणादायी पात्रका रूपमा प्रस्तुत गरेकी छन्। बलात्कृत युवतीको न्यायका निम्ति नयाँ दिल्लीमा जारी प्रदर्शनको दौरान एक वृद्ध एसिड आक्रमणको सिकार भएकी आफ्नी छोरीको पासपोर्ट साइजको फोटो क्यामरा अगाडि बारम्बार देखाउँछन्। फिल्मको सुरुआतमा देखाइएको सोही मार्मिक दृश्यमा महिलामाथि हुने हिंसाको दर्दनाक व्यथा भेटिन्छ।

यता एसिड आक्रमणपछि बिग्रेको अनुहारका कारण जागिर खोज्ने सारा प्रयासहरू विफल भइरहँदा मालती (दीपिका पादुकोण) ले अमोल (विक्रान्त मेस्सी) द्वारा सञ्चालित एसिड आक्रमणविरुद्ध काम गर्ने गैरसरकारी संस्थामा समाहित हुने निर्णय गर्छिन्। जीवन पुनर्निर्माण गरिरहेकी मालती एसिड आक्रमणका अन्य पीडितहरूलाई मद्दत गर्दै फिल्मको कथा अघि बढ्छ।

प्रेम प्रस्ताव अस्वीकार गरेका कारण एसिड आक्रमणको सिकार भएकी १९ वर्षीया मालतीले आफूले पाएझैं आघात अन्य युवतीले भोग्न नपरोस् भनेर देशभर एसिड प्रतिबन्धका लागि सार्वजनिक मुद्दा दर्ता गर्छिन्। त्यस्तै एसिड आक्रमण गर्ने अपराधीलाई कानुनबमोजिम सजाय दिलाउन उनी लागिपर्छिन्। एसिड आक्रमणमा परेकी लक्ष्मी अग्रवालको कथालाई आधार बनाएर मेघना गुल्जारद्वारा निर्देशित ‘छपाक’ क्रूर अपराधविरुद्ध उभिएको फिल्म हो। संवेदनशील विषयलाई गम्भीरताका साथ फिल्ममा प्रस्तुत गरेर निर्देशकले एसिडपीडितहरूप्रति सहानुभूति प्रकट गरिएको छ। पीडादायी यात्राका क्रममा अथक संघर्ष गरेर जीवनलाई आशावादी बनाउन फिल्मले प्रोत्साहित गरेको छ।

फिल्मका केही दृश्य गतिमा सुस्तता भेटिनुले लेखनमा केही कमजोरी रहेको महसुस हुन्छ। फिल्ममा दृश्य दोहोरिँदा अनि क्रमिकता खज्मजिँदा दर्शकको ध्यान अन्यत्र मोडिएको भान हुन्छ। मालतीका रूपमा देखिएकी अभिनेत्री दीपिका पादुकोण फिल्ममा भावनात्मक शैलीमा देखिएकी छिन्। एसिड आक्रमणदेखि उपचारको अवस्थामा ऐनामा बिग्रिएको आफ्नो अनुहार देखेर भावविह्वल भएसम्मका दृश्यमार्फत उनले दर्शकलाई बाँधेकी छन्। फिल्ममा अभिनेत्री पादुकोणलाई बिग्रिएको अनुहारको कृत्रिम मेकअप (प्रोस्थेटिक्स) मा देखाउने टोलीको काम उत्कृष्ट छ। सिनेमेट्रोग्राफरले सामान्य शैलीमा फिल्मको विभिन्न दृश्यलाई समेटेका छन्। गायक अरजित सिंहको स्वरमा रहेको ‘छपाक’ बोलको मर्मस्पर्शी गीतले फिल्मको कथा भनेको छ।

एसिड आक्रमणकी पीडितको भूमिकामा देखिएकी उनले यस फिल्मको निर्माणसमेत गरेकी हुन्। फिल्मका अभिनेता विक्रान्त मेस्सीले आफ्नो उत्कृष्ट अभिनयलाई निरन्तरता दिएका छन्। गम्भीर विषयमाथि बनेको फिल्ममा उनी र मालतीको मौन प्रेमले दर्शकलाई राहत दिएको छ। निर्देशकले उनीहरूको प्रेमकथालाई सुन्दर ढंगले फिल्ममा समावेश गरेकी छन्। फिल्ममा देखिएका मधुरजित सार्गी र रोहित सुखवामीजस्ता कलाकारहरूले उत्कृष्ट अभिनय गरेका छन्। फिल्मको एक दृश्यमा मालतीले भनिन्, ‘अनोने मेरी सुरत बदली है। मेरा मन नहीं।’ फिल्मले जीवनको अन्धकारमय अवस्थामा पनि आत्मविश्वाससहित उभिन प्रोत्साहित गर्छ।
कलाकार : दीपिका पादुकोण, विक्रान्त मेस्सी, रोहित सुखवामी, अंकित बिस्ट
निर्देशक : मेघना गुल्जार

प्रकाशित: २८ पुस २०७६ ०३:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App