१५ चैत्र २०८० बिहीबार
कला

माघीको तयारीमा जुटे थारू समुदाय

धनगढी – धनगढी उपमहानगरपालिका–१६ का थारू समुदाय नजिकिँदै गरेको माघी पर्वको तयारीमा जुटेका छन्। पर्वको तयारीका लागि खाद्यान्नहरुको जोहो गर्ने, दुना टपरी गाँस्ने, जंगल गई दाउरा संकलन गर्ने, तोरीको खाने तेल पेल्ने, घर लितपोत तथा आँगन सरसफाइलगायतका कार्यहरु धमाधम भइरहेको स्थानीय हनुमान चौधरीले बताए।

‘माघीमा विशेष गरी बंगुरको मासु, माछा र घोंगीलगायत खानाका पकवानहरु खाने चलन रहिआएकाले दाजुभाइहरु त्यसको खोजीमा जुटेका छन्,’ उनले भने। यो पर्वमा नयाँ वर्ष हुने भएकाले आफ्ना परिवारका लागि नयाँ–नयाँ लुगाकपडा किन्न स्थानीयवासी गाउँबाट टाढाटाढाका सहरबजार जान थालेका छन्। रोजगारीका लागि विदेसिएकाहरु पर्व मनाउनका लागि घर फर्कन थालेका छन्।

माघीमा पाहुना धेरै जम्मा हुने भएकाले जाँड, रक्सी, ढिक्री, रोटीलगायत खानाका परिकार तयार गर्नमा समुदायकी युवतीहरुलाई यतिबेला भ्याइनभ्याइ छ। थारू समुदायको मुख्य पर्व भएकाले तामझामका साथ मनाउने तयारी भइरहेको गाउँका अगुवा चेतराम चौधरीले बताए।

‘माघे संक्रान्तिका दिन विशेषगरी थारू समुदायमा बिहानै उठेर नजीकैको नदी, तलाउमा गई नुहाइधुवाइ गरी आफूभन्दा ठूलाबाट आशीर्वाद लिने गरिन्छ,’ उनले भने, ‘आशीर्वाद लिइसकेपछि घरमा अलग्गै छुट्याएर राखिएको चामल, नुन, तेल र बेसारलगायतका खाद्यान्नहरु छुने र छुट्याइएका ती चीजहरु घरका छोरीबेटीलाई दिने परम्परा रहिआएको छ।’

पश्चिम नेपालको तराईका थारू समुदायमा यो पर्वमा विषेशगरी अण्डी चामलको भातरोटी, ढिक्री, बरिया, घोंगी, सुँगुरको मासु र माछालगायतका स्थानीय खानाका पकवानहरु खाने चलन छ। थारू समुदायका विभिन्न लोकसंस्कृति झल्किने एकल तथा सामूहिक नाचगान गरी रमाइलो गर्ने गरिन्छ। त्यस्तै माघी मनाउन गाउँगाउँमा मेला तथा महोत्सवको आयोजना गर्ने तयारी पनि सुरु भएका छन्।

प्रकाशित: २८ पुस २०७६ ०३:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App