१८ जेष्ठ २०७७ आइतबार
कला

'मार्क्स फर्किए' : इतिहास र दर्शनको खोजी

काठमाडौं- भौतिकवाद भन्छ, 'आत्माको पुनरावृत्ति सम्भव छैन।' त्यसको ठिक विपरित छ अध्यात्मवाद। यो त दर्शनको कुरा भयो। तर कला, सहित्य र विचारमा भने त्यो पुनरागमन भै नै रहन्छ। त्यसैले त सन् १९९९ मा अमेरिकी लेखक तथा इतिहासकार हवार्ड जीनले ‘मार्क्स इन सोहो' लेखे। हावार्ड जीनले यो नाटक लेखिरहँदा जर्मन दार्शनिक मार्क्स जन्मिएको १८१ वर्ष पुगिसकेको थियो।

मार्क्सले लेखेको कम्युनिस्ट घोषणा पत्र र दास क्यापिटललाई विश्व भ्रमण गर्न कुनै भौगोलिक सीमाहरुले रोकेन। त्यस्तै हावर्डको नाटक पनि यो बीस वर्षमा विभिन्न देशमा घुमिसकेको छ आफ्नै मौलिकतामा। यसकै नेपाली 'एडप्सन' नेपाली रंगमञ्चमा प्रदर्शन भयो, 'मार्क्स फर्किए....' तपाईको साँझ यस नाटकले रमाइलो मात्र होइन ज्ञानवर्दक पनि बनाउने छ।

कार्ल मार्क्स जन्म द्विशत वार्षिकी समारोह समिति र नेपाल अध्ययन केन्द्रको आयोजनामा प्रज्ञा प्रतिष्ठनामा उक्त नाटक प्रदर्शन भएको हो। आरोहण गुरुकुल यसको प्रस्तोता हो। नाटकलाई सुनील पोखरेल र प्रवीण खतिवडाले निर्देशन गरेका छन्। मञ्चमा मार्क्सको भूमिकामा सुनिल पोखरेल देखिन्छन्। लामो कपाल दाह्री र कालो ओभरकोटमा देखिएका उनी झट्ट हेर्दा मार्क्स जस्तै देखिन्छन्। यस्तै निशा शर्मा मार्क्सकी श्रीमति जेनीको भूमिकामा छन्। प्रवीण खतिवडा, कमलमणि नेपाल लगायतका कलाकारले नाटकमा अभिनय गरेका छन्।

नाटकमा मार्क्सको विचार मात्र होइन उनको जीवनका भित्रीपाटाहरुलाई समेत देखाइएको छ। जस्तो उनी जर्मनबाट निकाला भएपछि श्रीमति र छोरीहरु सहित पेरिस आए र त्यहाँ कसरी दु:खका साथ आफ्नो दर्शन खोजीमा लागिरहे। उनका आवश्यकताहरु कसरी पुरा हुन्थे भन्ने विषय समेटिएको छ। पेरिस प्रेमीहरुको लागि असाध्य 'गुवाली शहर' भए पनि मार्क्स जस्ता दार्शनिकको लागि लागि भने कठोर बनिदिन्छ।

कार्ल मार्क्स खासमा आफुले जीवनका महत्वपूर्ण र कठिन दिनहरु विताएको लन्डनको सोहो बस्तिमा फर्किन चाहन्थे तर उनका पथ प्रदर्शकको भाषाको अज्ञानताका कारण एक नाटक 'सो' भइरहेको ठाउँमा आइपुग्छन्। र उनी सोध्छन् 'हैन म कहाँ आइपुगें?' नाटक यसरी सुरुहुन्छ। मृत्यु पछि आफ्नो नाममा लागेका दागबारे प्रष्टिकरण दिन केही घण्टाको लागि पृथ्वीमा आएका उनले  असमान आर्थिक वितरण, आम्दानी, गरिबी अहिले पनि उस्तै रहेको बताउँछन्।

आफ्नो मञ्चमा मार्क्स देखिएपछि निर्देशकले अचम्म मान्छन् र सोध्छन्, 'मार्क्स तपाई। तपाई त मरिसक्नु भएको होइन र ?' मार्क्सले जवाफ दिन्छन्, 'अँ म मरेकै हुँ तर म जिउँदै पनि छु। यो तपाईहरुका लागि द्वन्दवाद हो।' यहीँबाट पनि थाहा हुन्छ नाटकमा कला पक्ष मात्र हावी छैन विचार र दर्शनबारे पनि नाटक बोलेको छ।

तपाई मार्क्सको समर्थक वा विरोधी जे पनि हुनसक्नु हुन्छ तर यो हेरिरहँदा भावुक, उत्साहित र सोचमग्न भने अवश्य हुनुहुने छ। हार्वड जीनले यो नाटक 'वन मेन सो' मा लेखेपनि नेपाली मञ्चमा भने 'मल्टी कास्ट' मा प्रस्तुत भएको छ।

नाटकमा मार्क्सको विचार मात्र होइन उनको जीवनका भित्रीपाटाहरुलाई समेत देखाइएको छ। जस्तो उनी जर्मनबाट निकाला भएपछि श्रीमती र छोरीहरुसहित पेरिस आए र त्यहाँ कसरी दु:खका साथ आफ्नो दर्शन खोजीमा लागिरहे? उनका आवश्यकताहरु कसरी पुरा हुन्थे भन्ने विषय समेटिएको छ। पेरिस प्रेमीहरुको लागि असाध्य 'गुवाली शहर' भए पनि मार्क्स जस्ता दार्शनिकको लागि लागि भने कठोर बनिदिन्छ। त्यहाँबाट पनि उनी बेल्जियम खेदिन्छन्। बेल्जियममा पनि उनि रहिरहन सक्दैनन् र बेलायत पुग्छन्। लन्डनको सोहो बस्तिमा उनको डेरा हुन्छ र त्यही उनका छोरी  छोरीहरु जन्मिए र साथै जन्मियो दास क्यापिटल पनि।

जसरी 'दास क्यापिटल' बुझ्न दु:ख र अत्यास लाग्दो छ त्यस्तै छ उनको जीवन पनि। जेनी आफ्ना सन्तानहरुलाई स्नेह र मायाँका साथ हुर्काउँछिन् र मार्क्सको अध्ययनमा पनि सहयोग गरिरहेकै हुन्छिन्। तर स्नेहले मात्र पारिवार र बच्चाका आवश्यकता पूर्ती हुन सक्दैनन्। गरिवी र अभावका कारण सन्तान गुमाउनु पर्ने अवस्थामा मार्क्स पुग्छन्। मार्क्सको यस्तै जीवन संघर्ष, क्रान्ति, पुँजीवाद विरुद्धका उनका विचारहरुको प्रश्नउत्तरमा नाटक घुमिरहन्छ।

यति मात्र होइन्। फ्रेडिक एंगेल्स र उनको मित्रता र उनले गरिरहेको सहयोगले दैनिक जीवनमा पारेको प्रभाव पनि नाटकमा देखाइएको छ। दर्शनका हिसावमा एंगेल्सको नाम मार्क्ससँग कहिल्यै छुट्दैन तर नाटकमा भने उनको छोटो भूमिका छ जस्तो क्रिसममसमा उनी वाइन बोकेर मार्क्सको डेरामा आउँछन् तर डेरामा क्रिसमस ट्री नभएपछि वाइनको एक बोतललाई त्यसको 'सिम्बोल' बनाइन्छ। धर्मलाई अफिम भन्ने मार्क्सले क्रिसमस मनाएको दृष्य रोचक देखिन्छ। सायद जीवनका पीडाहरुलाई क्षणिकरुपमा भुल्न भए पनि यस्ता पर्वहरुले मद्त गर्छन् कि! यसैले नाटकमा मार्क्स भन्छन्, 'अफिम औषधी होइन तर यसले केहीक्षण दु:ख कम गराउँछ।'

कम्युनिस्टहरुले अराजकतावादी भनेर चिन्ने बाकुनिन पनि नाटकमा देखिन्छन्। बाकुनिन र मार्क्स एक अर्काका विरोधी हुन् भन्ने आम धारण पनि छ। तर नाटकमा दुईको मित्रतालाई देखाइएको छ। विचारमा विरोधी हुँदा हुँदै कसरी मित्रता रहन्छ भन्ने विषयलाई कलात्मक ढ्ंगबाट प्रस्तुत गरिएको छ। रुसी मुलका बाकुनिन एक सामूहिक अराजकतावादी हुन्। उनको बुझाइमा मार्क्स बौद्धिक तर बुर्जुवा हुन्। बाकुनिन आफुलाई क्रान्तिकारी ठान्छन्। उनले विभिन्न स्थानमा क्रान्तिको सुरुवात पनि गरेका छन्। अर्थात उनी तुरुन्तै हतियार उठाएर क्रान्तिलाई अघि बढाउने सोचका एक पात्र हुन्। यसैले त पेरिस कम्युनको समयमा भनिने गर्थ्यो, 'क्रान्तिको पहिलो दिन बाकुनिन सम्पति हो, दोस्रो दिन उसलाई गोली ठक्नुपर्छ।' नेपाली कम्युनिस्टहरुका केही पात्रलाई यो भनाईले गिज्याइरहन्छ र भेला प्रशिक्षणहरुमा प्रशिक्षकहरुले यो भनाई दोहोर्‍याउँदै बाकुनिनलाई अराजकतावादी र आफुलाई पहिलो कसीको क्रान्तिकारी बनाइरहन्छन्। बास्तवमा उनीहरु केही समय मार्क्सको नीजि सचिव रहेको पेइपर जस्तै स्वघोषित क्रान्तिकारी त होइनन्? यस्ता पात्रहरुबाट तिखो ढंगबाट नाटकमा प्रहार गरिएको छ। तर नाटकमा बुकानिनलाई जसरी चित्रण गरिएको छ त्यसले उनको योगदानलाई कदर गर्न सक्दैन। किन भने उनी उग्र क्रान्तिकारी मात्र होइनन् क्रान्तिका प्रेणाता पनि हुन्। यसको समीक्षा मञ्चमा हुन सकेको छैन।

पेइपरको पनि नाटकमा भूमिका रहेको छ। उनलाई हेरेपछि मार्क्सले भन्छन्, 'म मार्क्सवादी भने होइन।' मार्क्स नै मार्क्सवादी होइनन् भने आखिर यो दूनियामा पटक पटक पूँजीवादी संकटमा चर्चा हुने उनको दर्शनका पक्का मार्क्सवादी को हुन्? सोच्न बाध्य बनाउँछ। नेपाली कम्युनिस्टहरु उनका पक्का चेला हुन् त ! नाटक हेरिरहँदा तपाई पटक पटक सोच्न बाध्य हुनुहुने  छ। नेतृत्वको पूजा गर्ने र स्वार्थ पूर्ति गर्ने पात्रहरु पेइपरसँग तुलता गर्न सकिन्छ जो पटक पटक नेपाली कम्युनिस्ट आन्दोलनमा पुनरावृत्ति भैनैरहेको छ। पेइपर जस्ता चाटुकारहरुबाट मार्क्सले कसरी आफुलाई रक्षा गरे र उनका नेपाली चेलाहरु किन त्यसमै भुलिरहे। नाटकले मथिंगल हल्लाउँछ।

हलमा प्रयोग गरिएको प्रकाश र भेषभुषाले नाटकलाई जिवन्त बनाएको छ। बेला बेला प्रयोग गरिने संगीतले यसलाई अझ ओजपूर्ण बनाएको छ। २ सय वर्ष अघिको समाज भन्दा अहिले विज्ञान प्रविधि र भौतिक सुविधाहरुको विकास भएको छ। तर अहिले पनि असमानता, गरिवी, पूँजीको असमान वितरणबारे समाजको सहि विश्लेषण गर्न मार्क्सवाद उत्तिकै महत्वपूर्ण रहेको नाटकमा देखाइएको छ।

जीवनभर पूँजी र अतिरिक्त मूल्यको व्याख्या गर्ने मार्क्सको जीवन पूँजीकै अभावले आक्रान्त थियो। नाटक हेर्दा यस्तो लाग्छ उनी दर्शन मात्र होइन पैसा कमाउन चाहन्थे तर त्यो सकिरहेका थिएनन्। उनीसँग पूँजीबारे व्याख्या गर्ने सामर्थ्य भए पनि त्यसको आफै निर्माण गर्ने तरिकाबारे अज्ञानता थियो कि! त्यसैले त अहिलेको समाजमा आर्थिक समृद्धि पहिलो स्थानमा देखा परेको छ। नाटकलाई आफ्नो मौलिकतामा देखाइ जस्तै मार्क्सवाद पनि आफ्नो मौलिक परिवेशमा व्याख्या गर्ने समय आएको छ। लन्डनका श्रमिकहरुका अहिले र मार्क्सको समयका  आवश्यकता फरक छन्। अन्य शहरका मजदुर, किसान र आम नागरिकमा विषयहरु पनि समय अनुसार फरक हुन्छन् भन्ने बुझ्न जरुरी छ। मार्क्सवाद धर्म ग्रन्ध जस्तो अपरिवर्तनीय होइन यो गतिशिल छ नबुझिएको हो कि!

प्रकाशित: ३ पुस २०७६ १३:३५ बिहीबार

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App