७ वैशाख २०८१ शुक्रबार
कला

शिल्पालाई तारेखमा बस्न आदेश

काठमाडौं – फिल्म निर्माता छविराज ओझासँग बहुविवाह गरेको उजुरी परेकी अभिनेत्री शिल्पा पोखरेललाई साधारण तारेखमा बस्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ। शुक्रबार जिल्ला न्यायाधीश मुकेश उपाध्यायको इजलासले अभिनेत्री पोखरेललाई तारेखमा बस्न आदेश गरेको थियो। जिल्ला अदालत काठमाडौंले तारेखमा रहेर मुद्दाको बाँकी प्रक्रियामा सहभागी हुन आदेश दिएको थियो।

सर्वोच्च अदालतले उनको रिट निवेदन खारेज गरेपछि उनलाई पक्राउ पर्ने बाटो खुलेसँगै उनी शुक्रबार जिल्ला अदालतमा हाजिर भएकी थिइन्। उनी हाजिर भएपछि थुनछेक बहस भएको र बहसपछि उनलाई साधारण तारेखमा बस्न आदेश दिएको अदालतका सुचना अधिकारी ज्ञानबहादुर कार्कीले जानकारी दिए।

यसअघि पोखरेलले आफूविरुद्ध पक्राउ पूर्जी जारी गर्ने जिल्ला अदालत काठमाडौंको निर्णयविरुद्ध दिएको रिट निवेदन सर्वोच्च अदालतले खारेज गरिदिएको थियो। न्यायाधीशद्वय ईश्वर खतिवडा र मनोजकुमार शर्माको संयुक्त इजलासले गत मंगलबार अभिनेत्री पोखरेलको जिल्ला अदालतविरुद्धको रिट निवेदन खारेज गरेको थियो। सर्वोच्च अदालतले अभिनेत्री पोखरेलको रिट निवेदन खारेजसँगै उनलाई पक्राउ गर्ने बाटो खुलेको थियो।

फिल्म निर्माता छवि ओझासँग विवाह गरेकी अभिनेत्री पोखरेलविरुद्ध ओझाकी जेठी पत्नी हेमा ओझाले बहुविवाहको मुद्दा दर्ता गरेकी थिइन्। गत साउनको पहिलो साता काठमाडौं जिल्ला अदालतले फिल्म निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेललाई पक्राउ गर्न आदेश दिएको थियो। फिल्म निर्माता छविकी जेठी पत्नी हेमा ओझाले महानगरीय प्रहरी वृत्त गौशालामा निर्माता छविविरूद्ध बहुविवाहको उजुरी हालेपछि पक्राउ पूर्जी जारी गरिएको थियो। त्यसअघि पति ओझाले घरेलु हिंसा गरेको भन्दै अभिनेत्री पोखरेलले दिएको जाहेरीको टुंगो लागेलगत्तै यी द्वयविरुद्ध बहुविवाहको अर्को जाहेरी परेको थियो।

काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध अभिनेत्री पोखरेलले सर्वोच्चमा बहुविवाह पक्राउ पूर्जी खारेज गर्न माग गर्दै विसं. २०७६ साउन २९ मा रिट निवेदन दर्ता गरेकी थिइन्। रिटमाथि पहिलो सुनुवाईमा सर्वोच्चले गत भदौ १ मा पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको थियो। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासले पक्राउ पूर्जीको कार्यान्वयन नगर्न आदेश भएको थियो। उनले आफूले बहुविवाह नगरेको यसअघिका हेमा लगायतले कानुनअनुसार सम्बन्ध विच्छेद गरिसकेकाले आपूmलाई पक्राउ गर्नुपर्ने कारण नभएको रिट निवेदनमा दाबी गरेकी थिइन्। विसं. २०४१ सालमा निर्माता ओझाले पहिलो पत्नी हेमासँग विवाह गरेका थिए । हेमाले आफूसँग सम्बन्धविच्छेद नै नगरी विवाह गरेको भन्दै जाहेरी दिएकी थिइन्।

पतिसँग सम्बन्धमा दरार आएपछि हेमा सम्बन्धविच्छेद नगरी अंशबन्डा गरेर बसेकी थिइन्। हेमापछि निर्माता ओझाले गीताञ्जली, रेखा थापा र शिल्पा पोखरेलसँग विवाह गरेका थिए। हाल गीताञ्जलीको निधन भइसकेको छ भने रेखा थापासँग निर्माता ओझाले सम्बन्धविच्छेद गरिसकेका छन्। गीताञ्जलीको निधन भइसकेको हुँदा उनीबाट जन्मिएका छोरा निर्माता ओझासँगै बस्ने गर्छन् । लामो समयदेखि धरान बस्दै आएकी हेमा र निर्माता ओझाका दुई सन्तान छन् ।निर्माता ओझाकी पहिलो पत्नी हेमाले अंशबन्डाभै छुटेर भिन्न भइसकेकी पत्नी भएको उल्लेख गरेकी छिन्। त्यसपछि निर्माता ओझा र अभिनेत्री रेखा थापाबीच विसं. २०५७ सालमा विवाह भएर विसं. २०६९ सालमा अंशबन्डा भएको थियो।

प्रकाशित: १ मंसिर २०७६ ०२:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App