१६ चैत्र २०८० शुक्रबार
कला

वस्तुकलामार्फत् पहिचानको खोजी

काठमाडौं- नेपाली संस्कार, संस्कृति र पहिचान झल्काउने पुराना वस्तुकला लोप हुने अवस्थामा पुगेका छन् । विभिन्न सम्पदा क्षेत्रमा रहेका वस्तुकलालाई संरक्षण गर्न कलाकारहरु एकजुट भएका छन् । उनीहरुद्धारा तयार गरिएका विभिन्न वस्तुकलाहरु नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा प्रदर्शन भइरहेका छन् ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानअन्तर्गत वस्तुकला तथा अन्य सिर्जनात्मक कला विभागले गत कात्तिक २२ देखि सुरु गरेको ‘वस्तुकला’ नामक सामूहिक कला प्रदर्शनीमा ३१ भन्दा बढी कलाकारले तयार गरेका कलाहरु प्रदर्शन भइरहेका छन् । गत वर्ष नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको वस्तुकला कार्यशालामा सहभागी भएका कलाकारहरुले बनाएका वस्तुकला प्रदर्शन भएका छन् ।

वस्तुकला कार्यशालामा बनाइएका कलालाई प्रदर्शन गर्न प्रदर्शनीको आयोजना गरेको जानकारी वस्तुकला र अन्य सिर्जनात्मक कला विभागका प्रमुख रमेश खनालले दिए । ‘कलाकारहरुले जलरङको प्रयोग गरी यथार्थवादी दृष्टिकोणबाट सम्पदामा कुदेर कला तयार गरेका छन् । यस्ता प्रदर्शनीलाई वस्तुकला विभागले आगामी दिनमा निरन्तरता दिन चाहन्छौं,’उनले भने, ‘प्रदर्शनीमा वस्तुकलालाई मात्रै नभएर वस्तुकलामा मठ–मन्दिर, टुडाँल, ढुंगेधारा, चैत्य र विहारलगायतलाई कलाकारले यथार्थ रुपमा प्रस्तुत गरेका छन् ।’

चित्रकार एनबी गुरुङले हनुमान ढोकाको वस्तुकला प्रदर्शनीमा समेटेका छन् । उनकाअनुसार हनुमान ढोकाको आसपास रहेका विभिन्न शैलीका कलाको प्रवद्र्धन गर्न कार्यशाला सम्पन्न गरिएको थियो । सम–सामयिक विषयलाई कार्टुनमार्फत व्यङ्ग्य गर्न रुचाउने चित्रकार रविन्द्र मानन्धरले राजधानीको कुरुपतालाई डोजरले भत्काउँदै गरेको मठ–मन्दिरको आकृतिलाई चित्रकलामा उतारेका छन् । ‘मैले प्रत्यक्ष देखेको विषयलाई चित्रमा उतारेको हुँ । अहिले भइरहेको विकास निर्माणले पुराना सम्पदाको विनाश गरिरहेको छ । मन्दिरको जग्गा च्यापेर सडक खन्ने कामले सम्पदाहरु जोखिम हुँदैछन्,’ उनले भने ।

कलाकार डिराम पाल्पालीले कीर्तिपुरको बागभैरव गेटमा अवस्थित काठबाट बनाइएको ढोकालाई कलात्मक रुपमा क्यानभासमा उतारेका छन् । उनले चित्रले पौराणिक वस्तुकलाको लोप हुँदै गएको अवस्थामा संरक्षणको सन्देश दिएका छन् । ‘अहिले समाज आधुनिकतातर्फ लम्किरहेकाले पुराना कला र संस्कृतिको जर्गेनामा सबैले ध्यान पुर्‍याउनुपर्छ । हाम्रा सांस्कृतिक र पौराणिक सम्पदालाई हराउन दिनुहुँदैन्,’ उनले भने ।

चित्रकार रोशन विकले टुडाँलमा नरसिंहको आकृतिलाई चित्रमा समेटेका छन् । उनको चित्रले आधुनिक समयमा काष्ठकलामा भएको कला हराउँदै गएको अवस्थामा पुराना कलाकृतिलाई विश्वभर चिनाउनुपर्ने बताए । चित्रकार कृष्णगोपालले कलामार्फत पुराना सम्पदाको संरक्षण हुन नसक्दा मन्दिरहरु चर्किएको र भत्किन लागेको अवस्थालाई प्रस्तुत गरेका छन् । प्रदर्शनीमा राखिएका वस्तुकलाले हाम्रो पहिचानका रुपमा रहेका पुराना सम्पदाहरुको संरक्षण, प्रवद्र्धन र विकास गर्नुपर्ने विषयमा जोड दिएका छन् । यथार्थवादी धारालाई आफ्नो कलामा प्रयोग गरेका कलाकारहरुले सांस्कृतिक सम्पदाको संरक्षणमा लागि मठ–मन्दिर, गुम्बा र चैत्यलगायत वस्तुकलाको संरक्षणमा जुट्नुपर्ने माग गरेका छन् । प्रदर्शनी कात्तिक ३० सम्म चल्नेछ ।

 

प्रकाशित: २८ कार्तिक २०७६ १३:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App