८ वैशाख २०८१ शनिबार
कला

नेपाली चलचित्रमा लगानीकर्तालाई आकर्षित हुनुपर्छ

वीरगन्ज - ‘नेपाली चलचित्र निर्माणमा ठूला लगानीकर्ता आकर्षित नभएसम्म यसको बजार बिस्तार हुँदैन्,’ सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटा भन्दै थिए। बिहीबार वीरगन्जमा नेपाली चलचित्र प्रदर्शनको ५४ औं वर्षमा प्रवेशको अवसरमा आयोजित नेपाली चलचित्र स्वर्णिम महोत्सवको उद्धाटन समारोहमा बोल्दै उनले चलचित्रको गुणस्तर सुधार्नतर्फ ध्यान दिनुपर्नेमा जोड दिएका थिए। महोत्सवको उद्धाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन्।

‘नेपाली चलचित्रले अन्तर्राष्ट्रियस्तरमा नेपालको प्रतिनिधित्व गर्ने हुँदा राम्रा चलचित्र निर्माण हुनु आवश्यक रहेको छ। चलचित्रको स्तर सुधार्नका निम्ति नियम लागू हुनेक्रममा रहेको छ,’ सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले भने, ‘नेपाली चलचित्रले नेपाली मौलिकता झल्काउन केन्द्रित नहुन्जेल यसले नेपाली समाजको प्रतिनिधित्व गर्दैन्।’ चलचित्र विकास बोर्ड प्रस्तावित ‘चलचित्र ऐन २०७६’ माथि सुझाव संकलनमा जुटिरहँदा उनले मनोरञ्जनात्मक क्षेत्रले समाजलाई प्रत्यक्ष प्रभाव पर्ने हुँदा यसलाई संवेदनशील भएर उपयोग गर्न आवश्यक रहेको बताए।

समारोहमा बोल्दै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली चलचित्रहरु नेपाली संस्कृति र जनजीवन झल्काउन केन्द्रित हुँदै गएको बताइन्। ‘चलचित्र भनेको मनोरञ्जनात्मक क्षेत्र भएकाले यसले नेपाली जनजीवन को प्रतिनिधित्व गरिरहेको छ। नेपाली संस्कृति र मौलिकताप्रति हामीले गौरव गरेर यसलाई चलचित्रमा महत्वपूर्ण स्थान दिनसक्नुपर्छ,’ उनले भनिन्। उनले तराई र पहाडका सुन्दर दृष्यलाई चलचित्रका माध्यमबाट प्रचार गरी अन्तर्राष्ट्रिय क्षेत्रसम्म पु¥याउनुपर्ने बताइन्। सो अवसरमा राष्ट्रपति भण्डारीले नेपाली चलचित्रमा योगदान पुर्याउने बैकुण्ठ मास्के, तीर्थराज श्रेष्ठ र केडिया समूहलाई सम्मान गरेकी थिइन्।

त्यस्तै, प्रदेश २ को मुख्यमन्त्री लालबाबु राउतले नेपाली चलचित्रको गुणस्तर सुध्रिए ओस्कार अवार्डको दावेदार हुनसक्ने बताए। ‘नेपाली चलचित्र ओस्कार अवार्डको दावेदार हुन नसकेसम्म यो क्षेत्र सुध्रियो भन्नु भ्रममात्र हुनेछ। ठूला लगानीकर्ताहरु यसतर्फ आकर्षित गराउन रणनीति निर्माण हुनु आवश्यक रहेको छ, ’ उनले भने, ‘नेपाली चलचित्रको गुणस्तर सुधारेर चुनौतीको सामना गर्दै अघि बढ्न सके रोजगार नेपालमा सिर्जना हुनसक्छ। विदेशीको साटो नेपाली कलाकारको प्रवद्र्धनमा जोड दिनुपर्छ। ’

महोत्सवको आयोजक चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले हलिउड र बलिउडभन्दा नेपाली चलचित्र क्षेत्र इतिहास नयाँ भएकाले राम्रा चलचित्रहरु निर्माण भइरहेको प्रसँग सुनाए। ‘तराइ, पहाड र हिमालको प्रतिनिधित्व गर्ने नेपाली चलचित्र बन्नु आवश्यक रहेको छ। हाम्रो मौलिकता भएको नेपालीपन हो। संसारभर नेपाली चलचित्र हेर्ने दर्शकको संख्या बढ्दै गएको अवस्थामा यसको गुणस्तर सुधार्न फिल्मकर्मीले ध्यान दिनुपर्छ, ’ उनले भने।

समारोहमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले नेपाललाई चलचित्र सुटिङको गन्तव्यको रुपमा प्रवद्र्धन गरिनुपर्नेमा जोड दिएकी थिइन्। समारोहलगत्तै आयोजित सांगीतिक कार्यक्रममा बलिउड अभिनेता गोविन्दा, सुरसुधा, निता ढुंगाना, वर्षा राउत, भुवन केसी, निरुता सिंह र झरना थापालगायत कलाकारहरुले प्रस्तुति दिएका थिए। यसअघि वीरगन्जको घण्टाघर चोकबाट विभिन्न समुदाय, फिल्मकर्मी र झाँकीसहितको टोली र्यालीमा सहभागी भएको थियो। हिमाल, पहाड र तराईको संस्कृतिलाई जोड्न आयोजित तीन दिने महोत्सवमा नेपाली चलचित्र प्रदर्शन र कार्यशाला सञ्चालन हुँदैछन्।

 

प्रकाशित: २२ कार्तिक २०७६ ०४:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App