coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

क्यानभासमा खुर्सानीको जीवन

काठमाडौं - जसरी साहित्यकारले आफ्नो मनभित्र रहेका भावलाई कथा, कवितालगायतका साहित्यको माध्यममार्फत प्रस्टाउने गर्दछन्, त्यस्तै पेन्टिङ पनि चित्रकारहरूका लागि आफ्ना अनुभूति, भोगाइ र मनभित्र गुम्सिएर रहेका अभिव्यक्तिलाई प्रस्फुटन गर्ने सशक्त माध्यम हो। जहाँ चित्रकारहरू विभिन्न सुनौला रङहरूको प्रयोग गरी आफ्ना अभिव्यक्ति राख्न सक्छन्, देखाउन सक्छन्।

यिनै विषयलाई मध्यनजर गर्दै क्यानभासमा विभिन्नखाले आकृतिलाई उतार्न रुचाउने चित्रकार सुन्दर लामाले पनि आफ्नो मनभित्र उब्जिएका भावहरूलाई पेन्टिङमार्फत प्रस्तुत गरेका छन्। पाटनढोकास्थित क्लासिक ग्यालरीको भित्तामा लामाका कलरफुल पेन्टिङहरूको प्रदर्शनी भइरहेको छ। जसमा उनले विभिन्न रङको प्रयोग गरी एउटै क्यानभासमा थुपै्र राँगाको आकृतिलाई समेटेका छन्। प्रेम–बिछोडको वियोगपछि आफू एकोहोरिँदै गएको अवस्थालाई उनले एकोहोरो जनावर राँगामार्फत प्रस्तुत गरेका छन्।

‘यो केही वर्षअघि बनाएको पेन्टिङ हो,’ चित्रकार लामा भन्छन्, ‘जसमा मैलै राँगामार्फत आफूलाई र हरियो कलरमार्फत एकअर्काबीचको आवश्यकतालाई देखाउने प्रयत्न गरेको हुँ।’ पेन्टिङमार्फत आफ्नो अनुभव र भित्री मनका तरंगलाई प्रस्तुत गर्न पाएको उनको भनाइ छ। पेन्टिङमा उनले राँगाको आकृतिसँगै राँगाको मासुबाट बनाइने मोमोलाई पनि समेट्न भ्याएका छन्।

असोज १२ गतेदेखि क्लासिक ग्यालरीको आयोजनामा सञ्चालन भएको सामूहिक कला प्रदर्शनीमा लामासहित १८ जना चित्रकारहरूका २३ वटा पेन्टिङ समेटिएको छ। पुराना र चर्चित चित्रकारका चित्रसँगै रािखएको १७ बर्से चित्रकार सकुल कालिराजको चित्र निकै आकर्षक देखिन्छ। भर्खर मात्र क्यानभासमा चित्र कोर्न सिक्दै गरेका कालिराज क्लासिक ग्यालरीकै विद्यार्थी हुन्।

चित्रकार दीपक थामीको ‘स्पेसु शीर्षकका दुई पेन्टिङ पनि प्रदर्शनीमा छन्। जसमा मानिसको भाव र आत्माको विषयलाई पेन्टिङमार्फत प्रस्तुत गरिएको छ। मानिसको व्यक्तिगत, भावनात्मक र शारीरिक स्पेसलाई तुलनात्मकरूपमा क्यानभासमा उतारिएको छ। ‘मानिसले विभिन्न स्पेसको खोजीलाई बुझ्ने शैली फरक भए पनि समाजले एकअर्काको भावनाको कदर गर्नुपर्छ भन्ने भाव चित्रकलामा समावेश गरेको छु, चित्रकार थामी भन्छन्, ‘पेन्टिङमा प्रस्तुत नेवारी समुदायकी एक महिलाले आफ्नो पहिचान र कदरलाई खोजिरहेकी छन्। क्यानभासमा उतारिएको मानिसको आकृतिअगाडि देखाइएको कमलको फूलले मानिसको जीवन जे जस्तो भए पनि सधैं कमलको फूलजस्तै स्वच्छ र सुन्दर हुने विषयको उजागर गरेको उनी बताउँछन्।

चित्रकार सरिता डंगोलको ‘आवाजविहीन आवाजु सिरिजअन्तर्गत प्रदर्शनीमा राखिएका ६ वटा पेन्टिङ पनि आकर्षक छन्। प्रकृतिसँग सम्बन्धित पेन्टिङ गर्न रुचाउने उनले खुर्सानीको जीवनलाई लिएर चित्र कोरेकी छन्। ‘खुर्सानी पनि प्रकृतिकै देन हो, उसको पनि मानिसको जस्तै जीवन हुन्छ प्रदर्शित चित्रहरू देखाउँदै डंगोल भन्छिन्, ‘खुर्सानीको जीवन, जीवनसँग गासिँएका रङहरू र तिनीहरूभित्र लुकेको अनुभूतिलाई चित्रमार्फत देखाएकी हुँ।’

पुराना सम्पदा हराउँदै गएकोमा चिन्ता व्यक्त गर्दै ‘टुँडालु शीर्षकमा चित्रहरू कोरेका छन् चित्रकार रूपक राईले। ‘अहिले नेपालका पुराना सम्पदा हराउँदै गएका छन्,’ रूपक भन्छन्, ‘पुराना सम्पदाको विनाश हुँदै जाँदा पनि त्यसको संरक्षणमा कसैको ध्यान गएको देखिँदैन, यो हाम्रा लागि दुःखको विषय हो।’

त्यस्तै, चित्रकार नम्रता सिंहले मान्छेको सकारात्मक विचार र सोचलाई लिएर दुईवटा चित्र कोरेकी छन्। आधुनिक प्रविधिमा मानिस व्यस्त भए पनि उनी नेपालीको पुरानै संस्कार र संस्कृतिमा केन्द्रित भएकी छन्। मानिस र प्रकृतिबीचको सम्बन्धलाई लिएर बनाइएका उनका पेन्टिङले आधुनिक समयमा पनि मानिस चाहेको खण्डमा खुसी भएर बाँच्न सक्छन् भन्ने भाव व्यक्त भएका छन्। प्रदर्शनी मंसिरको तेस्रो हप्तासम्म जारी रहनेछ।

प्रकाशित: २२ कार्तिक २०७६ ०४:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App