coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

अस्ट्रियामा नेपाली चित्रकला प्रदर्शनी

काठमाडौं – नेपाली कलाकारिताको सम्मान साथै नेपालीपन झल्केका कलालाई स्वदेशदेखि विदेशसम्म चिनाउने लक्ष्यले अस्ट्रियास्थित भिएना सहरको बेल्ट म्युजियममा ३२ जना नेपाली चित्रकारको कला प्रदर्शनी भइरहेको छ। प्रदर्शनीमा मिथिला चित्रकला, आधुनिक तथा समसामयिक चित्रकला, पौवा चित्रकला, सेरामिक्स स्कप्चर र फोटोग्राफीलाई समेटिएको छ।

‘नेपाल आर्ट नाओ’ शीर्षकको नौ महिने कला प्रदर्शनी कला विभागअन्तर्गत कला प्रमुख क्रिस्चियनको आयोजनामा सञ्चालन भएको हो। ३२ जना सिनियर तथा जुनियर चित्रकारहरूका ९० भन्दा बढी चित्र प्रदर्शनीका लागि राखिएको छ।

अस्ट्रियास्थित भिएना सहरको बेल्ट म्युजियममा ३२ जना सिनियर तथा जुनियर चित्रकारका ९० भन्दा बढी चित्र प्रदर्शनीका लागि राखिएको छ।

प्रदर्शनीमा पौवा र मिथिला चित्रकलालाई बढी मात्रामा समेटिएको छ। चित्रकार सन्तलाल तामाङ, लोक चित्रकार, हरिप्रसाद वैद्य, समुन्द्रमान सिंह श्रेष्ठ, सुरेन्द्रमान शाक्य, रत्नगोपाल सिंखवाल, मुक्तिसिंह थापा र सिद्धिमुनि शाक्यले कलात्मकरूपमा माता देवी र गौतम बुद्धका आकृतिलाई पौवा चित्रमा उतारेका छन्।

त्यस्तै, मधुमाला मण्डल, एससी सुमन, अजित शाह, रेप्ति मण्डललगायतका चित्रकारले हरियो रूखको जीवनी साथै कृष्ण र गोपिनीको आकृतिलाई मिथिला चित्रकलामा समेटेका छन्। चित्रकार आशा डंगोलका ‘वल्र्ड अफ न्यु विगिनिङु, ‘पाराडाइस लस्टु, ‘आफ्टरमार्टु शीर्षकका तीनवटा चित्र उक्त म्युजियममा प्रदर्शनी भइरहेका छन्। आफ्टरमार्ट शीर्षकको चित्रमा उनले २०७२ सालको भूकम्पपछि आफ्नो मनमा उब्जेका भाव र अनुभवलाई आफ्नै तस्बिरमार्फत प्रस्तुत गरेका छन्। जसमा कालो आकाश, धुलैधुलोको सहरलाई चित्रमा उतारिएको छ।

त्यस्तै, चित्रकार लक्ष्मण श्रेष्ठका अमूर्त खालका दुईवटा चित्र प्रदर्शनीमा छन्। साथै किरन मानन्धरको भैरव सिरिजका दुईवटा चित्र र प्रमिला गिरीको पेन्टिङ र स्कप्चरलाई समेटिएको छ। स्व. लैनसिंह वाङ्देलका सेल्फ प्रोट्रेट शीर्षकलगायतका अन्य थुप्रै पेन्टिङ प्रदर्शनीमा राखिएको छ। चित्रकार सिर्जनराज भण्डारीको हेलो मोनालिसा शीर्षकको चित्र साथै जगदीश चित्रकार र वर्षगोपाल वैद्यका आधुनिक चित्रकलाहरू प्रदर्शनीमा समेटिएको छ। चित्रकार सीमा शर्मा, अनिल शाही, मनोजकुमार मिश्र, उमाशंकर शाह, शशिकला तिवारी र शशि शाहका समसामयिक चित्रहरू प्रदर्शनी भइरहेका छन्।

चित्रकार कौशल हमालको ‘आइ एम मलाला’ शीर्षकको आधुनिक स्कप्चर पनि प्रदर्शनीका लागि भिएना पुगेको छ। त्यस्तै, फोटोग्राफर मेघ लिम्बुले तयार गरेका कतारमा दुःख गर्नेहरूका तस्बिरलाई पनि प्रदर्शनीमा राखिएको छ। चित्रकार अनिल शाहीले भने जोक्करहरूलाई पेन्टिङमा उतारेका छन्।

चित्रकार एरिना ताम्राकारको वर्किङ कल्चर शीर्षकको चर्चित पेन्टिङ पनि भिएनामा प्रदर्शनी भइरहेको छ। उक्त चित्रमा ताम्राकारले महिलाले टेम्पो चलाउँदै गरेको दृश्य प्रस्तुत गरेकी छन्। ‘टेम्पो चलाउँदै गरेकी आत्मनिर्भर महिलालाई मैले क्यानभासमा उतारेकी हुँ,’ ताम्राकार भन्छिन्, ‘अहिले नेपाली समाजमा पनि महिलाहरू आत्मर्निभर बन्न थालेका छन्, महिलाले काम गर्ने कल्चर बढेको छ।’ प्रदर्शनीलाई पूर्ण बनाउन एरिना ताम्राकार, रागिनी उपाध्याय, अस्मिना रञ्जित, लोक चित्रकार, आशा डंगोल, गोपाल कलाप्रमी श्रेष्ठ, हितमान गुरुङ, शिलासा राजभण्डारी, सञ्जित महर्जनलगायत नौ जनाको टोली वेल्ट म्युजियम पुगेका थिए।

सोही क्रममा नेपालीले सञ्चालन गरेको याक एन्टी रेस्टुरेन्टको आर्ट ग्यालरीमा ६ दिनसम्म एरिना ताम्राकार र आशा डंगोलका ‘पारालेल जर्नी’ शीर्षकका २० वटा पेन्टिङको प्रदर्शनी सम्पन्न भएको छ। नेपाली चित्रकलाको सम्मानका लागि नेपाली दाजुभाइले नै कला प्रदर्शनी गरेको चित्रकार एरिनाले बताइन्। उनका अनुसार ६ दिने प्रदर्शनीको आयोजना स्वेता प्रधान र कान्छा गुरुङले गरेका थिए। गत चैत महिनाको अन्तिम साताबाट सुरु गरिएको नौ महिने कला प्रदर्शनी मंसिर १० गतेसम्म भिएनामै जारी रहेनछ।

प्रकाशित: २१ कार्तिक २०७६ ०२:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App