८ वैशाख २०८१ शनिबार
कला

कात्तिक नाचमा ‘बाथः प्याखँ’ प्रस्तुत

ललितपुर – ललितपुरको परम्परागत कात्तिक नाचअन्तर्गत बाथःप्याखँ प्रस्तुत गरिएको छ। मंगलबार पाटनको मंगलबजारस्थित चार नारायण मन्दिरको कात्तिक डबलीमा तीन सय ७९ वर्ष पुरानो कात्तिक नाचअन्तर्गत बाथःप्याखँ (तिखिकाँ, छ्यों ध्वग्गी, सति वनेगु) अर्थात सति जाने परम्परालाई नाचमा देखाइएको थियो।

सो नाचमा तीन जना दाजुभाईको कथा समेटिएको छ। तीन जना दाजुभाईमध्ये एक जनाले अर्को गाउँको युवती विवाह गरेपछि उनको मृत्यु भएको प्रसंग नाचमार्फत प्रस्तुत गरिएको थियो। ‘परम्परागत किवंदन्तीअनुसार तीन दाजुभाईमध्ये विवाहपछ्चात मृत्यु हुनेकी श्रीमती सति गएको कथा नृत्यमा देखाइएको थियो, ’ स्थानीय सूर्यमान डंगोलले भने, ‘यस नाचमा तीन जना दाजुभाईको बठ्याईलाई उल्लेख गरी परापूर्वकालमा महिलाले पतिको स्वर्गारोहण भएपछि सति जानुपर्ने कुरालाई नाचमा मञ्चन गरिन्छ।’ १६ कलाकारले सो नाच प्रस्तुत गरेका थिए।

गत कात्तिक १५ गतेदेखि सुरु भएको कात्तिक नाचको पहिलो दिन सुदामा प्याखँ, दोस्रो दिन भक्त सुरदास प्याखँ र तेस्रो दिन बाथ प्याखँ मञ्चन भइसकेको छ। विगतका वर्षमा कात्तिक कृष्ण प्रतिपदादेखि कात्तिक शुक्ल पूर्णिमासम्म देखाइने सो नाच यस वर्ष कात्तिक शुक्लपञ्चमीदेखि सुरु भएर कात्तिक पूर्णिमाको दिनसम्म १२ दिन देखाइने समितिका कोषाध्यक्ष उत्तमरत्न शाक्यले जानकारी दिएका थिए। विसं १६९७ मा पाटनका मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले करिब पौने चार सय वर्षअगाडि कात्तिक नाच सुरुआत गरेका थिए। ‘यस नाचको आफ्नै धार्मिक विधि रहेकाले यसलाई कार्ती प्याखाँ अर्थात कात्तिक नाच भन्ने गरिएको हो,’ उनले भने।

१७ औं शताब्दीमा सुरु भएको कात्तिक नाच विष्णु पुराणमा आधारित भएर विष्णुको अवतार नृसिंह, राजा हिरण्यकश्यपु र विष्णु भक्तप्रल्हादको कथामा आधारित भएर पनि नाचिने गरिन्छ। नाचको माध्यमबाट जीवन उपयोगी विभिन्न धार्मिक नाटकको प्रस्तुतिलाई पनि देखाउने गरेको समितिले जानकारी दिएको छ। उपत्यकाको तीनै सहरबाट साझँमा कात्तिक नाच हेर्ने एक हजारदेखि दुई हजार मानिस भित्रिएका स्थानीय सूर्यमान डंगोलले बताए। ‘विगतका वर्षको तुलनामा यो वर्ष पाटनमा धेरै मानिस भित्रिएका छन्। यो नाच हेर्न स्वदेशी र विदेशी पर्यटकको घुइँचो लागिरहेको छ,’ उनले भने।

प्रकाशित: २० कार्तिक २०७६ ०३:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App