coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

संगीतमय तिहार

तिहार तीन दिनको हुन्छ, तर गीत–संगीतका हिसाबले तिहारताका वर्षमै सबैभन्दा बढी गीत गुञ्जिने र घन्किने गर्छ, तीजको सन्दर्भ छाड्ने हो भने। तीजमा बढीजसो महिलाहरुले गाउँछन्, त्यतिबेला पनि गीत–संगीतको माहोल बनेको हुन्छ। तिहारमा भने बालबच्चा, युवा, वृद्धवृद्धा सबै गाउँछन्, झुम्छन्।

तिहारमा देउसी–भैलोका गीत गुन्जिन्छन्, त्यसबाहेक तिहारका तीन दिनलाई लक्ष्य गरेर अन्यानेक् गीत रचिएका छन्।

तिहारको पहिलो दिन
लक्ष्मीपूजाका दिन लक्ष्मी देवीको पूजा–आराधना गरेर रचिएका केही प्रमुख गीत भक्तिगीतका रूपमा चलचित्रमा स्थापित छन्। चरित्र अभिनेत्री सुभद्रा अधिकारीको अभिनय रहेको नेपाली चलचित्र ‘चिनो’को ‘दियो बाली साँझको फूल सजाई पूजाको’ बोलको गीत लोकप्रियताका आधारमा एक प्रमुख गीत हो। जसमा आशा भोसलेको स्वर, रञ्जित गजमेरको संगीत र कुसुम गजमेरको शब्द रहेको छ। लक्ष्मीपूजा विशेष गीतमा नातिकाजीको संगीत, गौरी केसीको स्वरमा केही गीत रेकर्ड भएका छन्।

तिहारमा संयोगले लक्ष्मीपूजाकै दिन महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मदिन पर्ने भएकाले देवकोटाको चर्चा अनि उनको कृति मुनामदनको दिदी र भाइको संलापमा आधारित गीत ‘ईश्वर तैँले रचेर फेरि कसरी बिगारिस्’ बोलको गीत पनि तिहारलाई लक्षित गरेर रेडियो, एफएमले बजाएको पाइन्छ। नारायणगोपालको संगीतमा कमला श्रेष्ठ र नारायणगोपालले गाएको यो युगल गीतमा दिदीभाइको भावुक संवाद छ–
भाइः कसरी खायो आगोले दिदी कमलको शरीर।
       कसरी खायो निठुरी भई कमलको शरीर।

दिदी: हे मेरा भाइ ती तिम्रा मुना मरेकी छैनन् ती,
        ज्योतिको स्वरुप लिएर गइन् बगैँचा वसन्ती...।

दिदीभाइको महान् पर्व भाइटीकासँग यी हरफलाई जोडेर सुन्ने गरिन्छ। यस गीतलाई संगीतकार चन्द्रराज शर्मा, अम्बर गुरुङ लगायत अन्य धेरै संगीतकारले पनि संगीत गरेका छन्। यो पनि तिहारमा बज्नेमध्ये एक प्रमुख गीत हो। गणेश परियार, शरण प्रधान, शिवशंकर लगायतको संगीतमा भाइटीकाको सन्दर्भलाई लिएर बनाइएका गीतहरु पनि तिहार ताका बज्ने गर्छन्।

भूपि शेरचनको रचना, गोपाल योञ्जनको संगीत र नारायणगोपालको स्वर रहेको ‘अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बोटै’मा बोलको गीतको एक अन्तरा सन्दर्भतः तिहारलाई समपर्ण गरिएको छ–
भन्थे नि दाइले भाइटीकामा बहिनी फर्केला
क्षितिजमा जस्तै निधारमा हाम्रो इन्द्रेण लर्केला।

‘फर्केर आऊ हे मेरा भाइ दिदीलाई सम्झेर’ बोलको गीत करिब ४० वर्ष अघिदेखि तिहारछेक रेडियो नेपालबाट बज्ने गर्छ, गीतकार शुद्धि नेपालीको शब्द, गणेश परियारको संगीतमा मीरा राणाले गाउनुभएको यस गीतमा विशुद्ध रूपमा तिहार, भाइटीका अनि मौसम र पर्वको वर्णन नै बढी छन्। यस गीतको मूलपक्ष मार्मिक छ, दिदी परदेशमा काम गर्न गाएका भाइलाई तिहारमा घर आउने आशामा पर्खिरहेकी छिन्। गीतका हरेक पंक्ति र शब्दमा यही एउटा अभिव्यक्ति आलोकित छ, जसमा दिदीले भाइटीकाको दिनको बहाना गरेर भाइलाई वर्ष दिनका हरेक क्षण सम्झेको अनुभूति व्यक्त हुन्छ।

गीतकार शुद्धि नेपालीले यही गीतको प्रतिउत्तरमा भाइको संवेदना पक्षबाट लेखेको गीत अझै मार्मिक छ, वरिष्ठ गायक शेखर प्रधानले गाएको गणेश परियारले नै संगीत गरेको त्यो गीत परदेशमा रहेको भाइको वेदना अनि पीडाको तस्बिर देखिन्छ– रुँदै होलिन् मेरी दिदी फूलमाला गाँसेर...।

यी दुई गीतले तिहारको रौनकमा दिदीभाइको सम्बन्ध अनि संगमको सन्दर्भ जोडेको छ। गीत बज्दै गर्दा यस्तो लाग्छ, प्रसिद्ध संगीत संयोजक एवम् संगीतकार गणेश परियारले तिहारको माहोल अनि त्यसका वरिपरिका सन्दर्भलाई सकोमल तरिकाले संगीतमा सजाएका छन्।

यसबाहेक तिहारका गीतमा विशेषतः भाइटीकालाई लक्ष्य गरेर बनाइएका गीतमा शरण प्रधानको शब्द र संगीतमा अरुणा लामाले गाएको यो पनि प्रमुख गीत मानिन्छ–
‘यो बैनीको माया सयपत्रीको माला फूलले
आशिष लागोस् दाजै...।

नेपाली सुगम संगीतमा दुःखपीडा र अवसादका गीत गाएर स्थापित भएकी गायिका अरुणा लामाले दाजुबहिनीको सम्बन्धमा गाएको यो गीतले पृथक् स्वाद दिएको छ।

अरुणा लामाबाहेक गायिका तारादेवीले शिवशंकरको संगीतमा गीतकार माधवप्रसाद खनाल भावुकको रचनालाई गाएकी छन्–
तीजमा पनि सम्झ्यो होला मेरो कान्छो भाइले
तिहार पनि त्यसै बित्यो माला उनेर...।

नेपाली आधुनिक गीतमा आधुनिकता भित्र्याउने प्रमुख गीतकारमध्ये मानिने माधवप्रसाद खनाल भावुकले किरण खरेल र डा. राममान तृषितभन्दा पहिल्यै संगीतकार शिवशंकर मानन्धरसित धेरै गीतमा सहकार्य गरेका छन्, तर लोपप्रायः भइसकेको यो गीतमा उनले लेखेको शब्दमा गायिका तारादेवीले जीवन्त शैलीमा दिदीको माया, स्नेह र आवेग पोखेकी छिन्, करिब ५० वर्षअघि रेकर्ड भएको यो गीतमा त्यो वेला घरबाट टाढा बिहे गरेर पठाइएकी दिदीको आफ्नो विलौना त्यही शैलीमा पोखिएको छ।

यो अन्य गीतभन्दा यसकारण पनि फरक छ, यसमा नेपालीका चाडपर्व अनि त्यस मौसम अनुसार छोरीचेलीको माइतीसँग सम्बन्धको व्याख्या गरिएको छ।

गीतकार माधवप्रसाद खनालकै छिमेकी र उनकै समकक्षी गीतकार यादव खरेलले तिहारलाई समेटेर ‘हरियो गोबरले लिपेको’ बोलको गीत लेखेका छन्। ५० को दशकमा शम्भु प्रधानद्वारा निर्देशित नेपाली चलचित्र ‘स्वर्ग’मा समेटिएको यस गीतमा शम्भुजित बासकोटाको संगीत, लोचन भट्टराई र साथीहरुको स्वर रहेको छ। यो गीत पनि तिहार स्पेसलमा पर्दछ। चलचित्रमा प्रयोग गरिएको गीतमा कन्यादानको ‘तीजको रहर आयो बरी लै’ पछि यो गीतले पनि त्यतिकै प्रसिद्धि पाएको छ।

रेकर्डका हिसाबले मनोहरि सिंहको तीजको गीतभन्दा अलि कमसल नै देखिए पनि यो गीतको शब्द, संगीत–संयोजन अनि वसन्त श्रेष्ठको कोरियोग्राफीले करामत गरेको छ।
तिहारै आयो लौ झिलीमिली
सुन हजुर लक्ष्मी आइन् आँगन।

चलचित्रको छायांकनमा यस गीतमा अन्य गीतमा जस्तो तिहारको औँसीपन अनि तामझाम देखाइएको छैन। संयोगले प्रकाश थापा निर्देशित कन्यादानको तीजगीत र शम्भु प्रधान निर्देशित स्वर्गको तिहार गीत दुवैमा नायिका गौरी मल्लमाथि छायांकन गरिएको थियो र यी दुवै गीतमा गौरी मल्लको दुई फरक समयको छवित्व देख्न पाइन्छ।

चलचित्र ‘स्वर्ग’मा तिहार गीत प्रयोग गर्ने फिल्मकार शम्भु प्रधानले आफ्नो पहिलो चलचित्र ‘सम्झना’मा पनि तिहारको देउसी–भैलोको मार्मिक प्रयोग गरेका थिए। सम्झना फिल्मको क्लाइमेक्स नै तिहार गीतको सुखान्त धुन र दुःखान्त धुनमा गएर प्रस्तुत भएको छ, यस चलचित्रमा नायिका तृप्ति नाडकरको अन्त्य नै यही गीतको पाश्र्वध्वनिमा हुन्छ, चलचित्रमा यो गीत बजिरहुन्जेल नै त्रासद् वातावरण देखिइरहन्छ।

‘सम्झना’भन्दा पहिले ‘कान्छी’ चलचित्रमा निर्देशक बीएस थापाले अभिनेत्री कृष्टि केसीमाथि भैलिनी गीत छायांकन गरेका थिए भने फिल्मकार लक्ष्मीनाथ शर्माले बदलिँदो आकाशमा कलाकार राज कपुर रनपहेँली, श्रीहरि श्रेष्ठ आदि कलाकारमाथि देउसी गीत छायांकन गरेका थिए। यी दुवै गीतका संगीतकार गोपाल योञ्जन थिए।

यसबाहेक नेपाली चलचित्र ‘अन्याय’मा नायिका मीरा माधुरीमाथि छायांकन गरिएको ‘अधरमा आज उनकै छ गीत’ बोलको गीतमा मनिला सोताङको आवाजको फिलरको रूपमा ‘भैलिनी आइन् आँगन, गुन्यूचोली मागन’ जोडिएको छ। विश्व बस्नेतद्वारा निर्मित चलचित्र अन्यायको त्यो गीत पूरै दीपावलीको उत्सवमा छायांकन गरिएको छ।

तिहारकै सन्दर्भ राखेर बनेको भाइटीका नामक फिल्ममा बाहेक राजेन्द्र शलभ निर्देशित ‘विजय–पराजय’मा ‘निधारमा लर्काएर सप्तरंगी टीको’ बोलको गीत मौलिक गीतमध्ये एक हो। शम्भुजित बास्कोटाको संगीत रहेको यस गीतमा हेमलता र साथीहरुको स्वर रहेको छ।

प्रताप सुब्बाद्वारा निर्देशित चलचित्र ‘दिदी’मा पनि तिहार सम्बन्धी गीत छन्, संगीतकार दिव्य खालिङले संगीतबद्ध गरेको यस फिल्ममा दिदीको भूमिकामा विजया गिरी र भाइको भूमिकामा सरोज खनालको सम्बन्ध देखाइएको छ। यस फिल्ममा नातागत रूपमा दिदीभाइका स्नेह सन्दर्भ जोडिनु स्वाभाविक हो।

चलचित्रका गीतबाहेक गायक उदीतनारायण झा र उनकी पत्नी दीपा गहतराजको पहिलो अल्बम झिलीमिलीमा टाइटल सङ नै तिहार गीत परेको छ। युजिन लामाको संगीत रहेको यस अल्बममा पुरानै देउसुरे गीतलाई नयाँ झमकका साथ प्रस्तुत गरिएको छ।

भूपि शेरचनको रचना, गोपाल योञ्जनको संगीत र नारायणगोपालको स्वर रहेको ‘अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बोटै’मा बोलको गीतको एक अन्तरा सन्दर्भतः तिहारलाई समपर्ण गरिएको छ–
भन्थे नि दाइले भाइटीकामा बहिनी फर्केला,
क्षितिजमा जस्तै निधारमा हाम्रो इन्द्रेणी लर्केला।

तिहारका तीन दिन गीत–संगीतले भरिएको एक विशेष पर्व मानिन्छ, तिहारको औँसीलाई कैयन् स्रष्टाले विभिन्न प्रतीकको रूपमा स्वीकारेका छन्, यहाँ गीत–संगीतमा पनि यस पक्षलाई केही सन्दर्भका साथ हेरिएको पाइन्छ। तिहार यसै पनि संगीतमय पर्व हो, यसमा अझै थपिने नातागत सन्दर्भले यसलाई रोमाञ्चित बनाएको छ।

तिहारमा अर्को कारण पनि संगीतसित जोडिन्छ, त्यो विशेष दिन हो गोवद्र्धन पूजा, जुन दिन नेपाल सम्बत् अनुसार नयाँ वर्ष मानिन्छ, त्यसदिन काठमान्डु उपत्यकाका पाँच सहरमा एउटा बेजोड धुन घन्किन्छ–
भिन्तुना दु भिन्तुना
न्हुँगु दँ या भिन्तुना।
(अर्थात्, शुभकामना छ, शुभकामना नयाँ वर्षको शुभकामना।)
००

प्रकाशित: ११ कार्तिक २०७६ ०३:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App