८ वैशाख २०८१ शनिबार
कला

मल्लकालीन वास्तुकलाका सय वर्ष पुराना घर

गलेश्वर- म्याग्दीको बेनी नगरपालिका–२ गौश्वारमा रहेका मल्लकालीन वास्तुकलाका एक सय वर्ष बढी पुराना घरहरु अहिले इतिहासको साक्षी बनेर रहेका छन्।

विसं २०४६ सम्म मल्ल वंशीय ठकुरीहरुको बसोबास रहेको गौश्वारामा प्रजातन्त्र पुनःस्थापनापछि बसाइँसराइ गर्ने र शहर केन्द्रित हुने प्रवृत्तिका कारण अहिले ती घर जीर्ण अवस्थामा रहेका छन्। सिर्मु र सालका काठका कलात्मक बुट्टा भरिएका दलिन, बला र टुडालसमेत रहेका ती घरहरुमा आँखीभ्mयाल, फलाँटे ढोका रहेका छन् भने गारोमा लगाइएका ढुङ्गा पनि आकर्षक तरिकाले कुँदिएका छन्।

गौश्वारामा सुदर्शन मल्ल, माधव मल्ल, घनश्याम मल्ल, परमेश्वर मल्ल र विश्ववम मल्लको स्वामित्वमा रहेका करीब १०० वर्ष पुराना घरहरु भएका स्थानीयवासी बुद्धिजीवी एवं शिक्षक रामबहादुर गुरुङले जानकारी दिए। गुरुङका अनुसार यी घर गौश्वाराका पहिचान भएका र यिनलाई व्यवस्थित गर्न सक्ने हो भने पर्यटकलाई आकर्षित गर्न सकिने बलियो सम्भावना रहेको छ।

यी घरहरुको इतिहास मल्ल वंशीय राजखलक र राणा खलकसँग जोडिएको छ। तत्कालीन मल्ल ठकुरीहरु जुम्लाको सिञ्जा उपत्यकाबाट बसाइँ सरी यहाँ आएको मानिन्छ। यहाँ आएपछि काठमाडौँमा रहेका मल्ल र राणाहरुसँग यहाँका ठकुरीहरुको वैवाहिक सम्बन्ध गाँसिएको थियो।

त्यसै क्रममा एक ठाउँको कला र संस्कृति पनि स्थानान्तरण हुँदै यताको उता र उताको यता भएकाले यहाँ तत्कालीन समयमा बन्ने घरहरुभन्दा मल्ल वंशीय ठकुरीहरुका घरहरु फरक शैलीमा निर्माण भएका गुरुङले बताए।

त्यसैगरी चार पुस्तादेखि पुरानो घरमा नै बस्दै आएका परमेश्वरवम मल्लले यी घरहरुसँग आफ्नो पुर्खाको पुरुषार्थ र पहिचानसँग जोडिएकाले अझसम्म पनि सुरक्षित राखिएको प्रतिक्रिया दिए। 'कतिपय भाइबन्धुहरु काठमाडौँ, चितवन, पोखरालगायतका शहरहरुमा गइसके तर म भने पुर्खाको बिरासतलाई संरक्षण गरेर बसेको छु', मल्लले भने, 'घरका दारपात, झ्यालढोका, ढुङ्गा आदिमा हाम्रा पुर्खाको सुगन्ध मिसिएको छ।'’

ढुङ्गाले छाएका, कौसीसहितका तीनतले आकर्षक घर अहिले जीर्ण अवस्थामा रहेका छन्। गौश्वारा गाउँमा अहिलेसम्म पनि रहेका मल्लकालीन वास्तुकलाका पाँच घरमध्ये दुई घरमा मात्रै बसोबास रहेको छ भने तीन घर जीर्ण अवस्थामा छन्। यी ऐतिहासिक महत्व राख्ने घरहरुको संरक्षण गर्नेतर्फ कसैको ध्यान जान सकेको छैन। रासस

प्रकाशित: ८ कार्तिक २०७६ ०६:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App