८ वैशाख २०८१ शनिबार
कला

सूर्यको चिठी पृथ्वीलाई

भूपिन

प्रिय पृथ्वी
आकाशलाई साबुन–पानीमा छप्छप् धोएर
र नीरले पखालेर
घाममा सुकाइदिएको छु आज ।
बर्खाको ढुसीले मक्किएको थियो आकाश
गोलाकार पहाडहरूको टँगालोमा
टाँगिदिएको छु आज ।

रातमा देखिने
त्यही बादलबुट्टे आकाशको टुक्रा काटेर
तिम्रा लागि मजेत्रो बनाएको छु ।
तारा जून जडेको फूलबुट्टे छेउ काटेर
तिम्रो लागि दश हाते हरियो सारी र पटुका बनाएको छु ।
साँझको आकाश काटेर
तिम्रा लागि मखमली चोली बनाएको छु ।

प्रिय पृथ्वी !
जसरी छोटिदै जान्छन्
समर फेसन शो वाला युवतीका कपडाहरू
तिमीलाई पनि त्यस्तै पहिरन पो मन पथ्र्यो कि ?
माफ गर
म तिमीलाई त्यस्तो उपहार दिन सक्दिनँ ।
मरुभूमिले खाएर छोट्टिदै गएको
तिम्रो तिघ्राको वस्त्र
बिल्कुल मन पर्दैन मलाई ।
मेरै उग्र तापले पग्लिदै गएको
तिम्रो छातीको हिमपछ्यौरी  
प्रिय लाग्दैन मलाई ।
यो ब्रह्माण्डको तिमी मेरो एकमात्र प्रेमिका
सदा म तिमीलाई
हरियो गुन्युमा नै देख्न चाहन्छु ।
तिम्रो टाउकोमा सधैँ
आकाशको नीलो मजेत्रो बाँधिएको हेर्न चाहन्छु ।

पृथ्वी !
हर मौसम तिम्रो वैंशको उत्कर्ष हो
आओस् आँधी
र बटारिएका हाँगाका हातहरूले  
गुनगुन गर्दै आङ कन्याइउन् रुखहरू ।
वर्षियोस् पानी
र बिजुलीको तारमा बसेर
चिर्बिराउँदै नुवाउन् चराचुरुङ्गीहरू ।
हिमपात होस् लेकमा

र चौरीका रौँमा फुलोस् हिमफूल ।
रापिलो गर्मीमा मरुभूमि तर्दा
अझै पनि भेटियोस् मरुद्यान ।
तिमी मेरो सदाबहार प्रेमिका
तिम्रो अनुहारमा यति चाँडै नचढोस् बुढ्यौली ।
म तिमीलाई सधैँ हरियो देख्न चाहन्छु ।
म तिमीलाई सधैँ भरिलो देख्न चाहन्छु ।

रातमा देखिने
त्यही बादलबुट्टे आकाशको टुक्रा काटेर
तिम्रा लागि मजेत्रो बनाएको छु ।
तारा जून जडेको फूलबुट्टे छेउ काटेर
तिम्रो लागि दश हाते हरियो सारी र पटुका बनाएको छु ।
साँझको आकाश काटेर
तिम्रो लागि मखमली चोली बनाएको छु ।

वशुन्धरा !
भोलि मसँग होला नहोला यो औकात
लिनू आज
यही सानो उपहार तिमीलाई दिन चाहन्छु !

 

प्रकाशित: ५ कार्तिक २०७६ ०५:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App