३१ असार २०७७ बुधबार
कला

हरायो कलात्मक माहोल

भैरहवा - आयातीत उपकरण र प्रविधिको प्रयोग बढेसँगै कलात्मक वस्तुहरु हराउँदै गएको छ। पुरानो कला संरक्षणमा ध्यान दिन नसक्दा मासिँदै गएको हो।

भैरहवा आसपास रहेका विभिन्न समुदायका मानिसले बनाउँदै आएको पत्थरकट्टा (कुसवडिया) परम्परा विस्तारै हराउँदै गएको छ। हतौडा र ढुंगाको प्रयोग गरेर बनाउँदै आएको पत्थरकट्टामा युवाहरुले रुचि नदेखाएपछि कला मासिने चिन्ता स्थानीयहरुमा देखिएको छ। ढुंगाबाट बनाइने सिलौटा र मूर्तिकला सिक्ने र सिकाउने व्यक्ति र संस्थाहरुको अभावका कारण युवाहरु यस क्षेत्रप्रति आकर्षित हुन सकेका छैनन्।

ढुंगाबाट सिलौटा र जाँतोलगायतको सामग्री बनाएर जीविकोपार्जन गर्ने परिवार पुर्खौली पेशा छाडेर भारत जाने प्रचलन हाबी भएको छ। परम्परागत पत्थरकट्टा गरिरहेका परिवारले स्तरीय जीवनशैलीका लागि यसलाई छाडेर अन्य क्षेत्रमा लाग्न प्रेरित गरेसँगै आधुनिकताका कारण ढुंगाबाट कलात्मक सामग्री बनाउने पेशा संकटमा परेको स्थानीय रवि कुसवडिया बताउँछन्।

‘अहिले ढुंगाको मूल्य बढेसँगै कलात्मक काटछाँट गरेर विभिन्न सिलौटा र जाँतोजस्ता सामग्री बनाएपनि बिक्री हुँदैन्। यस्ता सामग्री बनाउन मेहेनत धेरै लाग्ने गरेपनि बजार मूल्य नपाउँदा पेशा परिवर्तन गर्नुपर्ने अवस्था आएको छ,’ उनले भने।

अर्का कलाकार प्रह्लाद कुसवडियाका अनुसार प्रविधिको विकाससँगै विभिन्न आधुनिक सामग्रीले परम्परागत कलात्मक सामग्री मासिँदै गएको छ। ‘विद्युतीय सामग्रीले परम्परागत कलात्मक सामग्रीलाई विस्थापित गरिदिएको छ। यसले गर्दा परम्परागत कलालाई निरन्तरता दिन गाह्रो भइसकेको छ। नयाँ पुस्ताले यस कलामा रुचि देखाएपनि आम्दानी हुने सम्भावना नदेखिएपछि अन्य पेशामा लाग्न बाध्य भएका छन्,’ उनले भने।

त्यसबाहेक भैरहवामा विभिन्न गाँउमा खाद्यन्न भण्डार गरिने माटोको डेहरीलाई विभिन्न टिनका पाताहरुले विस्थापित गर्दै लगेको छ। चिल्लो माटोलाई जमिनमा भिजाएर परालको भुसलाई सोही माटो मिलाएर बनाइने डेहरी आकार अनुसार महिनौ लगाएर बनाइन्थ्यो। विभिन्न चरणमा निश्चित भागमा माटो थप्दै सुकाउँदै डेहरी निर्माण गरिने कला संकटमा परेको हो। यसलाई अहिले प्लास्टिक, टिनको पाता र फलामबाट निर्माण भएका कन्टेनर र बोराले पुर्न रुपमा विस्थापित गरिदिएको छ। माटोको डेहरीमा खाद्यन्न भण्डार गर्दा किरा नलाग्ने र स्वादिलो पोसिलो हुने भएकोले महिनांै लगाएर तराईमा बनाइने प्रचलन थियो। तर, युवा पुस्ताले डेहरी बनाउने कला नजानेको कारण अत्याधुनिक सामग्री सहजै बजारमा पाइने हुँदा यो कला मासिएको छ।

तराईमा आयोजना हुने विवाह समारोहमा माटो डेहरीमा विभिन्न देवीदेवताका आकर्षक चित्रहरु बनाउने गरिएपनि आधुनिकतासँगै चित्रकला समेत हराउँदै गएको छ। अहिले विभिन्न फिल्मका पोस्टर र फ्लेक्स प्रिन्टले चित्र बनाउने परम्परा ह्वात्तै हटेको पाइन्छ। चित्रकलामा मेहेनत, समय र खर्च धेरै लाग्ने भएकाले भैरहवाका विभिन्न गाँउबाट डेहरी लोप भइसकेको स्थानीय झिन्की पासीले बताइन्।

‘प्रविधिले फड्को मारिरहेपनि पुस्तान्तरण हुन नसक्दा परम्परागत कला हराउँदै गएको हो। धेरै मेहेनत र समय लागेपनि खासै प्रतिफल नभएकाले मौलिक कला संस्कृति हराउने खतरा बढ्दै गएको छ। मौलिकता संरक्षण सम्बद्र्धनका लागि स्थानीय सरकारले पहल नगरेसम्म आधुनिकताले परम्परागत कलालाई विस्थापित गरिदिने सम्भावना रहेको छ,’ उनले भनिन्। डा. गितु गिरीका अनुसार विसं. २०२४ मा नगरपञ्चायत बनेपछि विसं. २०३४ मा बुद्धको बाल्यकालको नाम सिद्धार्थबाट सिद्धार्थनगर नगरपञ्चायतमा परिवर्तन गरेपछि भैरहवामा अनेकतामा एकता मौलाएको हो।

प्रकाशित: ५ कार्तिक २०७६ ०७:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App