७ वैशाख २०८१ शुक्रबार
कला

जलरंगमा रमाउँदै जुजुभाइ

भक्तपुर  – झक्तपुर थिमिमा वर्षेनी आयोजना हुने बिस्का (बिस्केट) जात्रामा जिब्रो छेड्दै आएका जुजुभाइ श्रेष्ठ क्यानभासमा चित्रकला कोर्न व्यस्त देखिए। फेसबुकको माध्यमबाट सुरु भएको शनिबारे स्थलगत चित्रकला कार्यशालाको ‘मध्यपुरथिमि सिरिज’ अन्तर्गतको छैठौं कार्यक्रममा सहभागी उनी मध्यपुरथिमिस्थित शिवाटोलको महादेव र गणेशको मन्दिरलाई जलरङले आर्ट पेपरमा उतार्न आतुर भएका थिए।

गत भदौ २८ देखि सुरु भएको सो अभियानअन्तर्गत थिमिको बोडे, नगदेश, निगुपुखु, चपाचो, सिद्धिकाली र लायाकुलगायत क्षेत्रमा कार्यशाला आयोजना भइरहेको छ। स्कुलमा अध्ययरत विद्यार्थीलाई चित्रकला तयार गर्न सिकाउने उनी चित्रकलाले संस्कृति र परम्परा संरक्षणमा सहयोग पुग्ने बताउँछन्। ‘आर्ट भनेको मेरो मुख्य पेशा हो। यो जीवनभर गर्ने काम हो भने जिब्रो छेड्ने परम्परा सकुञ्जेल मात्रै गर्ने हो,’ उनले भने।

भक्तपुर थिमिका उनले विसं. २०६६ मा पहिलो पटक जिब्रो छेडेका थिए। जिब्रो छेडेपछि चन्द्राकारको महादीप बोकेर सहर परिक्रमा गर्ने व्यक्तिलाई देवतासरह सम्मान दिने प्रचलन भक्तपुरमा रहेको छ। मानिसलाई दुःख कष्ट दिने राक्षसलाई समातेर जिब्रो छेडी सहर घुमाए दुःख नाश हुन्छ भन्ने विश्वासमा जात्रा मनाइन्छ। जिब्रो छेड्ने परम्परालाई जात्राको आकर्षणको रुपमा लिइन्छ। उनले आठ वर्षसम्म जिब्रो छेडेर विसं. २०७३ सालदेखि टुंग्याएका थिए।

चित्रकार जुजुभाइ आफ्नो मौलिक कला र संस्कृतिलाई बचाउन जिब्रो छेडेर जिम्मेवारी पुरा गरेको महसुस गर्छन्। त्यसो त पहिलो पटक जिब्रोमा सुइरो रोप्दा उनलाई डर लागेको थियो। ‘जिब्रो छेड्दाभन्दा बढी निकाल्दा धेरै दुख्छ। झण्डै दुई घण्टा छेडेको जिब्रो बाहिर राख्नुपर्छ। -याल बगिरहेको हुन्छ, जिब्रो कक्क्रक्क भएर सुकिसकेको हुन्छ, त्यसबेला सुइरो निकाल्दा पिडा महसुस हुने रहेछ,’ उनले स्मरण गरे, ‘हामी साधारण मान्छेलाई देवतुल्य भनेर भन्छन्। मलाई त्यस्तो महसुस भएन। स्कुले विद्यार्थीलाई चित्रकला सिकाउँदै आएको छु। आठ पटक जिब्रो छेडेर संस्कृतिलाई बचाउन पाउँदा मनमा शान्ति मिलेको छ।’

कार्यक्रम संयोजक दिवेश प्रधानका अनुसार भक्तपुरलाई चित्रकलामार्फत परिचित गराउन अभियानको सुरुवात गरेका बताए। आगामी कात्तिक १० मा कलाकारले बनाएका चित्रकला प्रदर्शनमा राखिनेछन्। पुरातत्व विभागका पुरातत्व अधिकृत प्रकाश खड्काले पाँच वर्ष पुरानो पूर्वमध्यकालका संरचना र लिच्छविकालिन सभ्यता रहेको थिमिमा नयाँ वर्षको बेला मनाउने बिस्का (सिन्दुर) जात्रा प्रसिद्ध रहेको बताए।

प्रकाशित: ३ कार्तिक २०७६ ०३:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App