७ वैशाख २०८१ शुक्रबार
कला

लोपोन्मुख परम्परागत सामग्री जोगाइँदै

बागलुङ – आधुनिक प्रविधिको विकाससँगै लोप हुन लागेका परम्परागत सामग्री जोगाउन संग्रहालय स्थापनाको काम अघि बढेको छ। काठेखोला गाउँपालिका–७ को सक्रियतामा ‘रेश पुरातात्विक संग्रहालय’ बनाउन लागेको हो। संग्रहालयमा ऐतिहासिक र पुरातात्विक महत्वका सामग्रीको संरक्षण गरिने जानकारी वडाध्यक्ष प्रेम लामिछानेले दिए।

संग्रहालयका लागि वडाले चालू आर्थिक वर्षमा एक लाख ५० हजार रुपैयाँ बजेट छुट्याएको थियो। रेशको बैनथानामा रहेको सामुदायिक भवनमा संग्रहालय रहनेछ। पूर्वाधार तयारीसँगै सामग्री संकलनको काम भइरहेको वडाध्यक्ष लामिछानेले बताए।

संग्रहालयका लागि चाहिने काठ स्थानीय सामुदायिक वनले निःशुल्क उपलब्ध गराएका छन्। परम्परागत सामग्री संकलनमा महिला समूहले सहयोग गरिरहेका छन्। वडा कार्यालयले पनि आफूसँग भएका परम्परागत सामग्री संग्रहालयलाई उपलब्ध गराउन सर्वसाधारणमा सूचित गरेको छ। संग्रहालयमा ढिकी, जाँतो, कोल, हलो, जुवा, आरान, चर्खा, ठेकाठेकी, लिस्नो, मदुस, ठड्यौलो, चुर्की र फकुलीलगायतका सामग्री राखिने भएको छ। स्थानीय जनजाति समुदायको पहिचान झल्कने कला, संस्कृृतिसँग सम्बन्धित सामग्री समेत राखिनेछन्। ‘संग्रहालयमा स्थानीय संस्कृति, रहनसहन र जीवनशैलीको झल्को दिने सामग्री रहन्छन्’, वडाध्यक्ष लामिछानेले भने, ‘परम्परागत सामग्रीको संरक्षणसँगै संग्रहालयले पर्यटकीय आकर्षण पनि थप्नेछ। पर्यटकीय सम्भावना बोकेको गाउँ भएकाले संग्रहालयले पर्यटक आकर्षित गर्ने विश्वास गरिएको छ।’

रेशमा सञ्चालित होमस्टेमा पुग्ने पर्यटकका लागि संग्रहालय नयाँ गन्तव्य बन्ने बौर सामुदायिक घरबासका अध्यक्ष होमबहादुर पुनले बताए। रेशमा बौर, डोटा देउराली, मौरी झरना र रेश सामुदायिक गरी चार होमस्टे छन्। होमस्टेमामा आउने पाहुनालाई गाउँलेले पर्यटकीय ठाउँ घुमाउने, स्थानीय परिकार खुवाउने र संस्कृति देखाउने गर्छन्। गाउँले जीवनशैली, रहनसहनले पनि पर्यटक लोभ्याउने गरेको छ।

रेश गाउँको नजिकै १९ सय मिटरको उचाइमा अवस्थित चापाखर्क हिमश्रृंखला अवलोकन गर्न उपयुक्त गन्तव्य मानिन्छ। ‘चापाखर्कबाट दर्जनौं हिमाल देख्न सकिन्छ। यहाँको वातावरण पर्यटक लोभ्याउने खालको छ’, वडाध्यक्ष लामिछानेले भने, ‘त्यहाँ पुग्ने पर्यटक पदयात्रामार्फत गाजा दह, भकुण्डे र भैरवस्थान पुग्न सक्छन्।’

पर्यटन प्रवद्र्धनका लागि डोटा देउरालीमा मदन स्मृति पार्क समेत निर्माण गरिएको छ। होमस्टेअन्तर्गत चार लाख बजेट रुपैयाँबाट सो पार्क बनाइएको हो। बागलुङ सदरमुकामदेखि १५ किमी मोटरको यात्रामा रेश पुग्न सकिन्छ।

प्रकाशित: १ कार्तिक २०७६ ०२:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App