७ वैशाख २०८१ शुक्रबार
कला

सकियो साहित्य सम्मेलन

काठमाडौं - दक्षिण एसिया र चीनका साहित्यकारहरुले चन्द्रागिरीमा पुगेर आ–आफ्ना देश र यस क्षेत्रको कला, साहित्य र संस्कृतिका बारेमा छलफल गरेका छन्। नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको दोस्रो चीन र दक्षिण एसिया साहित्य सम्मेलन ६ बुँदे घोषणापत्रसहित समापन भएको छ।

नेपालको प्रतिनिधित्व गर्द साहित्यकार डा. अम्मराज जोशीले कार्यपत्र प्रस्तुत गरेका थिए। ‘नेपालमा विभिन्न समुदायका मानिसको भाषा र संस्कृतिमा विविधता भेटिन्छन्,’ उनले भने। प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले कार्यक्रमले दक्षिण एसिया र चीनको सांस्कृतिक र साहित्यिक सम्बन्ध प्रगाढ बनाउन सहयोग पु¥याउने बताए। आगामी दिनमा यसलाई निरन्तरता दिनुपर्नेमा उनले जोड दिएका थिए। यस क्षेत्रको साहित्यिक र सांस्कृतिक सम्बन्ध प्रगाढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिष्ठानका उपकुलपति जगमान गुरुङले दक्षिण एसिया र चीनको सांस्कृतिक पक्षको चर्चा गर्दै सम्मेलनले आगामी दिनमा आपसी हितमा काम गर्न हौसला दिएको बताए। साहित्यकार मञ्जु काँचुलीले नेपालमा भएका अन्तर्राष्ट्रिय कार्यक्रममध्ये यो एउटा महत्वपूर्ण भएको उल्लेख गरेकी थिइन्। चिनियाँ साहित्यकार ली मिलले सम्मेलन भाषा र संस्कृति एकआपसमा साटासाट गर्ने अवसर भएको उल्लेख गरेका थिए।

घोषणापत्रमा सम्बन्धित देशका स्रष्टाले साहित्यिक कार्यहरु आदानप्रदान गर्नुपर्ने, बहुभाषी साहित्यिक अनुवाद गर्ने र सांस्कृतिक सम्बन्ध बढाउन र कलाकारबीच सहकार्य गर्नेलगायत बुँदा उल्लेख गरिएका थिए। आगामी सम्मेलनमा मौखिक नाटक र बाल साहित्यलाई साहित्यिक सम्मेलनमा समावेश गरिनेछ। त्यस्तै क्षेत्रीय स्तरमा अनुवाद रचनात्मक लेखन र भाषा सिक्ने कार्यशालाको आयोजना गरिने घोषणापत्रमा उल्लेख गरिएको छ।

कार्यक्रममा नेपालसँगै चीन, पाकिस्तानलगायतका देशका प्रतिनिधिले कला, साहित्य र संस्कृतिसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए। मंगलबारदेखि सुरु भएको सम्मेलनका नेपाल, चीन, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र माल्दिभ्सबाट संस्थागत प्रतिनिधित्वका साथै विदेशका २० र नेपालका ४० साहित्यकारको सहभागिता रहेको थियो। सम्मेलनमा चार नेपाली र १२ अन्य देशका गरी १६ कार्यपत्र प्रस्तुत गरिएको थियो।

सम्मेलनका अवसरमा नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न सांस्कृतिक एवम पर्यटकीयस्थलको अवलोकन गराई पर्यटन प्रवद्र्धन गराउन चन्द्रागिरी लगिएको बताइएको छ। यसअघि पहिलो सम्मेलन सन् २०१७ मा चीनको सिचुवान प्रान्तस्थित छेन्दुमा भएको थियो।

प्रकाशित: १ कार्तिक २०७६ ०२:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App