१६ चैत्र २०८० शुक्रबार
कला

मुस्कानलाई अमिताभले पठाए सन्देश

काठमाडौं – बलिउड अभिनेता अमिताभ बच्चनले एसिड आक्रमणमा परेर कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचार गराइरहेकी वीरगञ्जकी १४ वर्षे मुस्कान खातुनलाई पठाएको सन्देशसहितको भिडियोले सामाजिक सञ्जाल चर्चा पाउँदैछ।

‘तपाईंमाथि भएको पीडादायी घटनाबारे थाहा पाएर दुःख लाग्यो। जे तपाईंमाथि भयो, त्यो कुनै पनि बालिकामाथि हुन हुँदैन। म आशा गर्छु कि तपाईंको देशको कानूनले उनीहरू सबैलाई पक्राउ गरी कारबाही गर्नेछ। तपाईं मेरो फिल्महरु हेर्नु हुन्छ। हाम्रो शुभकामना सधैँ तपाईंको साथमा छ। तपाईं चाँडै निको हुनुहोस् र सधैँ यसरी नै मुस्कुराई राख्नुहोस्,’ अभिनेता बच्चनले एसिड आक्रमणकी पीडित मुस्कान खातुनलाई पठाएको सो भिडियो बुधबार साँझ सामाजिक सञ्जालमा पोस्ट गरिएको थियो।

गत भदौ २० मा बिहान स्कुल जाने क्रममा स्थानीय एक युवाले अनुहारमा एसिड प्रहार गरेपछि उपचारको लागि उनलाई कीर्तिपुर अस्पताल भर्ना गरिएको थियो। गत साता बलिउड अभिनेता वरुण धवन र कृति सनोनले एसिड आक्रमणमा परेकी मुस्कानलाई भिडियो सन्देश पठाएका थिए। त्यस्तै नेपाली रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ का निर्णायकमध्ये एक गायक राजु लामा र मिस नेपाल २०१७ की रनरअप नीति शाह पनि अस्पताल पुगी खातुनको हिम्मत बढाएका थिए। नेपाली सांगीतिक ब्यान्ड मंगोलियन हर्टको टोलीसहित अस्पताल पुगेको गायक लामाले खातुनलाई ‘तिमीलाई देखेर हिमाल हाँसेको’ बोलको गीत गाएर सुनाएका थिए।

खातुनलाई एसिड आक्रमण गर्ने सम्साद आलम र माजिद आलमलाई प्रहरीले हिरासतमा लिएको छ। एसिड आक्रमणमा परेकी वीरगञ्जको त्रिभुवन उच्च मावि कक्षा ९ मा अध्यनरत खातुनको मुख, हात, छाती र पाखुरामा गम्भीर चोट लागेको छ। समाजसेवी उज्ज्वलविक्रम थापाले एसिड आक्रमण पीडित खातुनलाई विभिन्न कलाकारसँग भेटघाट र कुराकानी गराएर पीडा कम गर्न लागि परेका छन्।

प्रकाशित: १७ आश्विन २०७६ ०४:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App