coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

मिथिला कलामा बुद्धको आकृति

काठमाडौं - मानिसको चहलपहल रहने पाटन दरबार क्षेत्र कलात्मक सुन्दरताको लागि चर्चित छ। साँझपख घाम डुब्दै गर्दाको रोचक दृश्यले यो क्षेत्र अझ रमणीय देखिन्छ। चित्रकार डिबी राईले कोरेको यही रोचक दृश्य समेटिएको पाटन दरबार क्षेत्रको चित्रकला नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको हलमा झुन्डाइएको छ।

संविधान दिवसको अवसरमा नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा आयोजना भइरहेको पाँच दिने संयुक्त कला प्रदर्शनीमा चित्रकार डिबी राई, मिथिलादेवी यादव, शंकरराज सुवाल, सुन्दर लामा, विनिता खड्का र बुद्धि तामाङलगायतले तयार गरेका चित्रकला प्रदर्शनीमा राखिएका छन्। प्रदर्शनीमा सयभन्दा बढी कलाहरू प्रदर्शनमा राखिएका छन्।

गत बिहीबारदेखि सुरु भएको प्रदर्शनीमा कलाकार मिथिलादेवी यादवले मिथिला कलामार्फत शान्तिको प्रतीक भगवान गौतम बुद्धको कलात्मक चित्रकला कोरेकी छिन्। उनले गौतम बुद्धको जन्मस्थान, जन्मनेबित्तिकै हिँडेका सात पाइला र आमाले कोखमा च्याप्दै गरेको चित्रलाई आफ्नो कलामा समेटेकी छन्।

चित्रकार सुन्दर लामाको ‘चेतना’ शीर्षकको कलामा उत्तिकै रोचक र सन्देशमूलक छ। उनले आफ्नो कलाबाट जल्दोबल्दो समयमा पैसाको कारण पछि परेका नगरपालिका तथा न्यायपालिकालाई देखाउन खोजेका छन्। चित्रमा लक्ष्मीमाताको तस्बिरलाई पनि समेटिएको छ। पैसाको पावरले पछि पर्दै गएका न्यायपालिका जसबाट नागरिकले न्याय पाउन सकेका छैनन , त्यही विषयलाई उनको चित्रले उजागर गरेको छ। चित्रकार लामा भन्छन्, ‘पैंसाको कारणले नै निर्मला बहिनीले न्याय पाइनन्, मैलै सम्पूर्ण नेपालीले भोगेको भोगाईलाई चित्रमार्फत उतार्न खोजेको हुँ।’

‘महिनावारी हुँदा मन्दिर जानु हुँदैन्’ भन्ने मान्यतामाथि व्यंग्य गर्दै कलाकार विनिता खड्काले ‘त्याग’ शीर्षकको कला तयार गरेकी छिन्। महिनावारी र छाउपडीका कारण महिलामाथि हुने विभेदले महिलाहरू प्रभावित हुने तर्क उनले चित्रमार्फत देखाएकी छिन्। महिनावारी बार्ने प्रचलनको अन्त्य हुनुपर्ने भाव उनले कलामार्फत प्रस्तुत गरेकी छन्। चित्रकार गौतम मानन्धरले ‘नेचर एन्ड लाइफ’ शीर्षकको चित्र कोरेका छन्। अर्का चित्रकार शंकरराज सुवालले ‘कम्पोजिसन’ शीर्षकको कलाबाट शहरको चित्र बनाएका छन्। जसमा मानिससँगै मौसम, पानी र मठमन्दिरको चित्र कलात्मक देखिन्छ।

चित्रकार बुद्धि गुरुङले बिहानीपखको सुनौलो घामलाई चित्रमा उतारेका छन्। पोखरा वरपरको बिहानीपखको रमणीय दृश्यलाई उनले क्यानभासमा सुन्दर बनाउने प्रयास गरेका छन्। त्यस्तै ‘बहुदल आजको खाँचो हो’ लेख्दै गरेको मानिसको चित्रमार्फत राजनीतिक परिवेश र परिवर्तनलाई देखाउन खोजेका छन्। प्रदर्शनीमा राखिएका चित्र तथा मूर्त अमूर्त खालका मूर्तिकलाले नेपालको सामाजिक, सांस्कृतिक, धार्मिक र प्राकृतिक पक्षलाई झल्काएको छ। प्रदर्शनी आगामी असोज ७ सम्म चल्नेछ।

प्रकाशित: ६ आश्विन २०७६ ०३:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App