८ वैशाख २०८१ शनिबार
कला

दसैंमाथि व्यंग्य गर्दै ‘टिका’ मन

काठमाडौं – दसैंको चहलपहल सुरु हुँदै गर्दा राजधानीको थापागाउँस्थित कुञ्ज नाटकघरमा कलाकारहरूको एक टोली पिङमा मच्चिन व्यस्त थिए। नजिकिँदै गरेको दसैंलाई केन्द्रित गरेर कुञ्ज नाटकघरमा मञ्चन भइरहेको ‘टिका’ नाटकले दर्शकलाई दसैं आएको अनुभूति गराएको छ।

दसैंको विषयवस्तुमा लेखिएको साहित्यकार भीमनिधि तिवारीको ‘टिका’ नाटकमा परिवारको सुखलाई प्राथमिकतामा राखेर परदेश पुगेका नेपालीको अवस्थालाई चित्रण गरिएको छ। महान चाड दसैंमा परदेशमा हुने नेपालीले परिवार र आफन्तलाई सम्झेर भक्कानिएका मार्मिक दृश्यलाई नाटकमा समेटिएका छन्। दसैं नजिकिदैं गर्दा निम्न आर्थिक अवस्था भएको परिवारमा आइपर्ने समस्यालाई नाटकमार्फत देखाइएको छ।

भारतमा चौकीदारी गरिरहेका नाटकका मुख्य पात्र कमान सिंह महान चाड दसैं मनाउन घर जान पाउने वा नपाउने अन्योलता छन्। उनका आमा, श्रीमती र छोराले उनीविना दसैं मनाउनुपर्ने दुविधा नाटकमा हेर्न सकिन्छ। नेपालको ग्रामीण भेगको चित्रण गरेर नाटक मञ्चन भइरहेको छ। परिवारसँग बिछोडिनु परेको पीडासँगै नाटकमा पात्रहरूमार्फत राष्ट्रवादी भावनालाई प्राथमिकता दिइएको पाइन्छ।

नाटकलाई स‌ंगीत सापकोटाले निर्देशन गरेका छन् भने मोनिस निरौलाले स‌ंगीत दिएका छन्। ऐक्य हेभन अफ आर्टको प्रस्तुति नाटकमा शारदा अधिकारी, श्रवण राना मगर, विनिता गुरुङ, राजकगल फकिर, दिपेश काफ्ले, सबिन भट्टराई, मनिराज पौडेल, न्हुज महर्जन र आनन्द महतलगायतका कलाकारले अभिनय गरेका छन्। नाटक आगामी भदौ ३१ सम्म मञ्चन हुँदैछ।

प्रकाशित: ३१ भाद्र २०७६ ०३:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App