coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

इतिहास बोल्ने क्यानभास

काठमाडौं - काठमाडौंका अन्तिम राजा जयप्रकाश मल्लले तलेजु भवानीसँग पासा खेल्दै गरेको क्षण कस्तो थियो होला ? सम्राट अशोक लुम्बिनी आउँदा त्यहाँको दृष्य कस्तो थियो ? आम नेपालीले सोच्ने इतिहासका यस्ता रोचक घटनाक्रमलाई क्यानभासमा उतारेर बबरमहलस्थित आर्ट काउन्सिलमा प्रदर्शनीमा राखिएको छ।

नेपालको आधुनिक र मध्यकालीन इतिहासबारे सर्वसाधारणलाई जानकारी गराउन चित्रकार हरिप्रसाद शर्माले २५ वर्ष अघिदेखि बनाएका चित्रकला प्रदर्शन भइरहेको छन्। ८२ वर्षीय चित्रकार हरिप्रसाद शर्माका छोरा विष्णु शर्माका अनुसार प्रदर्शनीमा ऐतिहासिक घटनाक्रम समेटिएका ४५ वटा चित्रहरू राखिएका छन्। विभिन्न अनुसन्धानमा आधारित रहेर तयार गरिएको सो चित्रहरू कोर्नका लागि उनका छोरा विष्णुले समेत साथ दिएका थिए। ‘चित्रमा इतिहास आफै बोल्छ। दर्शकलाई सजिलो होस् भनेर प्रत्येक चित्रको ऐतिहासिक वर्णन छेवैमा राखिएको छ,’ उनले भने।

काठमाडौंस्थित लगनका चित्रकार शर्माले इतिहास झल्कने चित्रमात्र बनाएका छैनन्, समाज र संस्कृतिकेन्द्रित गरेर विभिन्न पक्षलाई क्यानभासमा उतारेका छन्। इतिहासको विवादित संस्कृति तथा सामाजिक विकृतिलाई समेत उनले क्यानभासमा समावेश गरेका छन्। जुवाको खालमा जुवा खेलिरहेको पतिलाई पत्नीले कराइरहेको चित्रले नेपाली समाजको विकृतिलाई औल्याएको छ। ‘इतिहासमा रुचि राख्ने र ग्यालरीसम्म पुग्ने विद्यार्थीले प्रदर्शनीमा राखिएका चित्रकलामार्फत नौलो अनुभव बटुल्न सक्छन्,’ उनले भने।

सम्राट अशोकाको लुम्बिनी भ्रमण, मल्लकालीन राजाहरूको जीवनशैली, पृथ्वीनारायण शाहको नेपाल एकीकरण र जंगबहादुर राणाको ऐतिहासिक क्षणलाई उनले क्यानभासमा कोरेका छन्। काठमाडौं उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले कुमारीको गोडा ढोगे। उनको हातबाट टिका लगाएर उपत्यकाको संस्कृतिलाई अनुसरण गरे। इतिहासमा यो रोचक घटना कुटनीतिक र राजनीतिक हिसावमा महत्वपूर्ण मानिन्छ। साढे दुई सय वर्ष पुरानो सो घटनालाई परिकल्पना गरेर चित्रकार शर्माले क्यानभासमा उतारेका छन्। उनले साँढे जुधाइ संस्कृतिलाई इतिहासको मनोरञ्जनात्मक पाटोको रूपमा बयान गरेका छन्।

भूकम्पपछि क्षतिग्रस्त रानीपोखरीको ऐतिहासिक कालखण्डलाई उनले क्यानभासमा कोरेका छन्। अर्को, सफा बाग्मती नदीमा गाग्री बोकेर पानी भर्न पुग्ने मानिसहरुको जमातसहितको चित्रले तत्कालको कालखण्डको अनुभव गर्न प्रोत्साहित गरेको छ।

बेलायत यात्रको क्रममा सुन्दरी लाउरा बेलको लागि तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले अढाइ लाख पाउण्ड खर्च गरेको प्रसंगलाई रोचक शैलीमा चित्रकार शर्माले क्यानभासमा कोरेका छन्। प्रदर्शनी आगामी असोज ९ सम्म चल्नेछ।

प्रकाशित: २९ भाद्र २०७६ ०२:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App