७ वैशाख २०८१ शुक्रबार
कला

जायरालाई ‘पब्लिसिटी स्टन्ट’ गरेको आरोप

मुम्बई (एजेन्सी) – बलिउड फिल्म ‘दंगल’ र ‘सेक्रेट सुपरस्टार’ फिल्ममा देखिएकी अभिनेत्री जायरा वसिमलाई ‘पब्लिसिटी स्टन्ट’ गरेको आरोप लागेको छ। केही साताअघि फेसबुकमा स्ट्याटस लेख्दै धर्म र अल्लाहका लागि बलिउड छाड्ने निर्णय गरेको घोषणा गरेकी अभिनेत्री वसिम अभिनित ‘द स्काई इज पिंक’ फिल्मको पोस्टर सामाजिक सञ्जालमा आएलगत्तै विवादित भएकी थिइन्।

अभिनेत्री प्रियंका चोपडासहितका कलाकारहरूले अभिनय गरेको ‘द स्काई इज पिंक’ फिल्मको पोस्टरमा अभिनेत्री जायरा वसिम देखिएकी छिन्। काश्मिरी अभिनेत्रीले धर्मको लागि फिल्म क्षेत्र छाड्ने घोषणा गरेपछि बलिउड मौन बसेर सही गरेको टिकाटिप्पणी सामाजिक सञ्जालमा गरिएको छ।

हाल क्यानडाको राजधानीमा आयोजना भइरहेको टोरन्टो अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा आगामी सेप्टेम्बर १३ मा वल्र्ड प्रिमियर हुन लागेको ‘द स्काई इज पिंक’ फिल्मको पोस्टरसहित अभिनेत्री प्रियंका चोपडाले ट्वीट गरेपछि अभिनेत्री वसिम विवादित भएकी थिइन्। सो पोस्टरमा देखिएकी उनीले धर्मलाई जोडेर फिल्मको पब्लिसिटी गरेको टिकाटिप्पणी सामाजिक सञ्जालमा गरिएको छ।

‘अभिनेत्री जायरा वसिम नयाँ फिल्मको प्रवद्र्धन गर्दैछिन्। पछिल्लो धर्म र अल्लाहका लागि उनले बलिउड छोडेको सुनेको थिए, ’एक ट्वीटर प्रयोगकर्ताले लेखेका छन्। अर्को ट्वीटमा उनले ‘नौटंकी’ गरेको उल्लेख गरिएको छ। ‘धर्मलाई माया गर्ने अभिनेत्री वसिमले बलिउड छाडेको घोषण गरेको केही साता नबित्दै नयाँ फिल्मको पोस्टरमा देखिएकी छिन्। गज्जबको ड्रामा गरिन्,’ट्वीट गरिएको छ।

केही साताअघि उनले फेसबुकमा स्ट्याटस लेख्दै बलिउड यात्रा अन्त्य गरेको उल्लेख गरेकी थिइन्। उनले स्ट्याटसमा लेखेकी थिइन्,‘ पाँच वर्ष पहिले मैले बलिउडमा पाइला राख्दा सफलता पाएको थिए। धेरै युवाहरूले मलाई रोल मोडल मान्न थालेका थिए। म कहिल्यै पनि यस्तो गर्न चाहँदैनथेँ। नयाँ जीवनशैलीलाई बुझ्दै गर्दा मलाई महशुस भयो कि म यो संसारको लागि बनेकी हैन। म अल्लाहको चरणमा आफ्नो जीवन समर्पित गर्दछु।’

उनले सफलताले जीवनलाई अझ स्वार्थी बनाउने हुँदा आत्मालाई धोका दिएर भ्रममा अगाडि बढ्न नसक्ने उल्लेख गरेकी थिइन्। उनले लामो समयसम्म एक्लै संघर्ष गरिरहेको र आगामी दिनमा संघर्ष गर्न तत्पर भएकाले आधिकारिक रूपमा फिल्म क्षेत्रबाट छुट्टिएर बस्ने घोषणा गरेको जानकारी गराएकी थिइन्।

प्रकाशित: २५ भाद्र २०७६ ०३:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App