२४ श्रावण २०७७ शनिबार
कला

इन्द्रजात्रा अवलोकन गर्न पाँच देशका मेयर काठमाडौं आउने

काठमाडौं - मंगलबार बिहान ८ बजे लिंगो उठाएपछि उपत्यकाको चर्चित जात्रामध्येको इन्द्रजात्रा सुरु हुँदैछ। जात्रा नजिकिएसँगै आवश्यक तयारी पूरा भएको छ। आर्थिक व्यवस्थापन, स्वयंसेवक, जात्राको रुट, कलाकार र शृंगार तयारीलगायत तयारी गरिएको इन्द्रजात्रा व्यवस्थापन समितिले जनाएको छ।

जात्राको बेला बसन्तपुर क्षेत्रका २९ वटा गुठीले इन्द्रजात्रामा सहकार्य गर्दै आएका छन्। इन्द्रजात्रा पर्व उपत्यकामा मनाइने चार्डमध्येको प्रमुख चाड पनि हो। आठ दिनसम्म मनाइने पर्वमा बसन्तपुर क्षेत्रको तल्लो टोल (कोनेया) र माथिल्लो टोल (ठनेया) मा मनाइन्छ। तल्लो टोलअन्र्तगत बसन्तपुरदेखि देब्रेतर्फका टोलहरु पर्दछन्। माथिल्लो टोलभित्र दाहिने तर्फका सबैजसो टोल पर्छन्।

वसन्तपुर र आसपास क्षेत्रका कुमारी, गणेश, भैरव, लाखे आजु, हलचोक, आकाश भैरव, पुलुकिसी आजु, लाखेनाच, श्वेत भैरव, स्वच्छन्द भैरव, अशोक विनायक, दागी, किसिचा, कुमारी देवी, महाकालीलगायत गुठीले जात्राको तयारी र व्यवस्थापन गरेका छन्। विभिन्न रुटका बाटो बनाउने, स्वयंसेवक जुटाउने, आर्थिक स्रोत व्यवस्थापन गर्ने, शृंगार जुटाउने, कलाकारलाई तयारी अवस्थामा राख्नेलगायत तयारी भइसकेको छ। जात्राका लागि भक्तपुरबाट ल्याएको लिंगोलाई तयारी अवस्थामा राखिएको छ। इन्द्रजात्रामा मुख्यतः लिंगो स्थापना गर्ने, नाचगान गर्ने र रथयात्रा गर्ने गरिन्छ। भाद्र शुक्लपक्ष ‘यलाथ्व द्वादशी’का दिन इन्द्रध्वजोत्थानबाट सुरु भएको जात्रा ‘यंलागाः चौथी’मा इन्द्रध्वजपतनपछि सकिन्छ।

आठदिने जात्रामा विशेष गरी कुमारी, भैरव र गणेशको पूजा गरिन्छ। यस अवधिमा अनुहारमा विभिन्न देवी देवताका ‘ख्वापाः’ अर्थात् मुखौटा लगाई उपत्यकाका नेवार समुदायका गुठी र समूहका सदस्य नाच्ने गर्छन्। इन्द्रजात्रामा तान्त्रिक विधिद्वारा पूजा गरिएको कालो बोकोलाई काभ्रेको नालास्थित जंगलमा छाड्दा उसले सबैभन्दा पहिले छोएको रूखलाई काटेर लिंगो बनाइन्छ। यसरी तयार पारिएको ‘योंसी’ अर्थात् लिंगोलाई बसन्तपुर दरबार क्षेत्रको हनुमानढोकास्थित काल भैरवअगाडि तान्त्रिक विधिबाट पूजा गरेर ठड्याउने चलन छ।

मंगलबार हनुमान ढोकास्थित तलेजु मन्दिर अगाडि रहेको कालभैरवको मन्दिरबाट बिहान लिंगो उठाइनेछ। त्यसपछि औपचारिक रुपमा जात्रा सुरु हुनेछ। जात्रा सुरु भएको चौथो दिन २७ गते कुमारी, गणेश र भैरवको रथयात्रा आयोजना गरिनेछ। हनुमानढोकास्थित कुमारी घरको अगाडिबाट सुरु भएको रथयात्रा तल्लोटोलमा पर्ने मरु, जैशीदेवल, लगनटोल, ब्रह्मटोल, वन्डे हुँदै परिक्रम गरिन्छ। सोही दिन बेलुकीपख हनुमानढोका कुमारी घर अगाडि ल्याएर रथ विसर्जन गरिनेछ। जिवित कुमारीको रथ जात्रा हेर्न राष्ट्रपति विद्यादेवि भण्डारी पुग्नेछिन्।

३१ गते नानिचा जात्रा अर्थात् महिलाले रथ तानेपछि इन्द्रजात्रा सकिने इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौत्तमरत्न शाक्यले जानकारी दिए। उनका अनुसार जात्राको तयारी पूरा भएको छ। जात्रा व्यवस्थापनको लागि चाहीँ आवश्यक सर–सामग्रीको जाहो भइसकेको छ। जात्राको बेला देखाइने विभिन्न थरीका नाच र जात्राको तयारी पनि गुठीहरुले गरेको छ। ‘३ सय वर्ष अघिदेखि नै कुमारी, गणेश र भैरवको रथयात्रा हुन्छ,’ उनले भने, ‘जात्राका पहिलो दिन विभिन्न खाले स्थानीय बाजा र नाच देखाइने छ।’

वसन्तपुर, जैसीदेवल, कोहिटी, भीमसेनस्थान, मरुटोल, नरदेवी, टंगाल, असन, इन्द्रचोक, हनुमानढोकालगायत ठाउँलाई रथयात्राको मुख्य रुट बनाइन्छ। यही रुट अनुसार रथ हिँडाइन्छ। करिब तीन सय वर्षअघि मल्ल राजा जयप्रकाश मल्लको पालामा यो जात्रा सुरु गरिएको मानिन्छ। यस वर्ष इन्द्रजात्राको अवलोकन गर्न विदेशी पयर्टक पनि ल्याउने तयारी काठमाडौं महानगरपालिकाले गरेको छ। महानगरसँग भगिनी सम्बन्ध भएको विभिन्न देशका ४८ जना नागरिक प्रत्यक्ष जात्रा हेर्न आउनेछन्। चीन, भारत, भुटानलगायत देशका प्रतिनिधि भदौ २६ गते आइपुग्ने महानगरका अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयकाका प्रमुख महेश काफ्लेले जानकारी दिए।

उपत्यकाका अन्य जात्राजस्तै इन्द्रजात्राका पनि किंवदन्ती छन्। त्यसमध्ये सबैभन्दा चर्चित किंवदन्तीअनुसार कुनै बेला स्वर्गलोकका राजा इन्द्र आफ्नी आमालाई वसुन्धरादेवीको व्रतका लागि पारिजातको फूल र कर्कलो लिन मानव रूप धारण गरी पृथ्वीमा आएका थिए। उनी काठमाडौं उपत्यका आइपुगे। एउटा बगैँचामा पारिजात र कर्कलो देखेपछि मालीलाई नसोधी फूल चोर्न पसे।

बगैचामा पसेको चोर देखेपछि स्थानीयले तान्त्रिक शक्तिमार्फत इन्द्रलाई पाता कसेर सार्वजनिक स्थलमा ल्याए। छोरो काठमाडौंमा बाँधिएको पत्तो पाएपछि इन्द्रकी आमा आएर छोराको बदलामा कुहिरो दिने वाचा गरी उनलाई फर्काएर लगिन्। त्यसैको सम्झनामा इन्द्रजात्रा सुरु गरिएको धेरैको भनाइ छ। यो मौसममा लाग्ने कुहिरोका कारण अन्नबाली राम्रो हुने जनविश्वास अहिले पनि रहँदै आएको छ।

प्रकाशित: २४ भाद्र २०७६ ०९:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App