३० असार २०७७ मंगलबार
कला

बेइजिङमा नक्कली अरनिको !

बेइजिङ – चीन भ्रमणको क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले बेइजिङमा रहेको अरनिको सालिकको आडमा उभिएर फोटो खिचाएका थिए। नेपालको राष्ट्रिय विभूति अरनिकोले बनाएको श्वेत चैत्यको आर्डमा राखिएको सो सालिक वास्तवमा भने अरनिको होइन।

सन् २००२ मा नेपालबाट बेइजिङ लगिएको सो सालिक अरनिको समाजको सक्रियतामा बनाइएको सो सालिक अरनिको नभई मूर्तिकार धर्मराज शाक्यले हो। त्यो सालिक बेइजिङमा ल्याएर स्थापना गर्दा अरनिको समाजका अध्यक्ष अनुपरन्जन भट्टराई थिए। सन् १९७२ को हुलाक टिकटका आधारमा सो मूर्ति बनाउन अरनिको समाजले ठेक्का पाएपछि नेपालमा तयार भएको थियो। सालिक बनाउनका अरनिकोको फोटो नभएपछि सन् १९७२ मा तत्कालीन श्री ५ को सरकारले अरनिकोको स्केच कोरेर हुलाक टिकट प्रकाशन गरेको थियो। सन् १९७२ को हुलाक टिकटका आधारमा मूर्तिकार ओम खत्रीलाई मूर्ति बनाउन समाजले ठेक्का दिएको भट्टराईले बताए। भट्टराईले भने ुखै कसलाई उभ्याएर बनाए त्यो त थाहा भएन। तर, बेइजिङमा सालिक स्थापना गर्दा श्वेत चैत्य क्षेत्रभित्र ढुङ्गामा मूर्ति बनाउँदै गरेका धर्मराज शाक्यलाई देखाउँदै चिनियाँहरूले आरनिको सालिक त यो मूर्तिकार जस्तै रहेछ भनेको चाहिँ मलाई सम्झना छ।’

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले हुलाक टिकटमा अरनिको काल्पनिक चित्र कोरेका थिए। ‘सालिक बनाउनका लागि ठोस अवधारणा आवश्यक नभएपछि म आफैं दौरासुरुवाल, ढाका टोपी र पटुका लगाएर मोडलको रूपमा उभ्याएको थिए। मूर्तिकार ओम खत्रीले अरनिकोको सालिक बनाएका थिए,’ मूर्तिकार शाक्यले भने। 

बेइजिङबाहेक नेपालको ललितपुर महानगरपालिकको कार्यालय, कीर्तिपुरमा स्थापित नेपाल भाषा प्रतिष्ठान र धुलिखेलस्थित अरनिको राजमार्गमा अनरिकोको सालिक राखिएको छ। अरनिकोको यी चार वटा सालिक एक–अर्कामा फरक रहेको संस्कृतिविद सत्यमोहन जोशी बताउँछन्। ‘अरनिकोको ठोस फोटो प्राप्त नभएकाले मूर्तिकारहरूले आफ्नै कल्पना र निर्देशनमा फरक आकृति बनाएका हुन्,’ उनले भने। सात सय ४० वर्षअगाडि नेपाली कलाकार अरनिकोले बनाएको श्वेत चैत्य चीनको राजधानी बेइजिङको केन्द्र भागमा यथावत छ।

सन् १२४४ मा पाटनमा जन्मिएका अरनिकोले किशोरावास्थामा चीनमा आएका थिए। उनले सन् १२७९ मा बेइजिङको श्वेत चैत्य अर्थात् ह्वाइट प्यागोडा बनाएका थिए। बेइजिङबाहेक उनले चीनका अन्य स्थानमा पनि विभिन्न चैत्य र मूर्तिहरू बनाएका थिए। अरनिकोले बनाएको श्वेत चैत्यलाई चिनियाँ भाषामा ‘पाइथा स’ भनिन्छ। जसको अर्थ सेतो चैत्य हो। उनको ६२ वर्षको उमेरमा सन् १३०६ को मार्चमा निधन भयो।

सत्यमोहन जोशीले बेइजिङमा बसेर अरनिकोको बारेमा गहन खोज अनुसन्धान गरी ‘कलाकार अरनिको’ ग्रन्थ २०४४ सालमा प्रकाशन गरेका छन्। सो ग्रन्थका अनुसार अरनिकोका ११ जना श्रीमती थिए। चीन आउनुभन्दा अगाडि नेपालमा उनले चमाथा लाछिमे नामकी महिलासँग बिहे गरेका थिए। नेपालकी श्रीमतीबाट उनका एक छोरा र एक छोरी थिए। चीन आएपछि अरनिकोले अन्य १० चिनियाँ महिलासँग बिहे गरे।

श्वेत चैत्यभित्र राखिएका अभिलेखमा अरनिकोको बिहे तथा सन्तानबारे उल्लेख छैन। संस्कृतिविद् जोशीले अनरिको समाधिस्थलमा राखिएको कीर्तिस्तम्भको अभिलेखमा उल्लेख भएअनुसार उनले बिहे गरेका १० वटा श्रीमतीको नाम उल्लेख गरेका छन्। हाल पाटन क्षेत्रमा अरनिकोका आफन्तहरू नभएको ठहर संस्कृतिविद् जोशीले गरेका छन्। चीनमा उनका १० श्रीमतीबाट ६ छोरी र ५ छोरा जन्मिएको जोशीको ग्रन्थमा उल्लेख छ।

प्रकाशित: २३ भाद्र २०७६ ०९:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App