१ श्रावण २०७७ बिहीबार
कला

सारङ्गीको धुन जोगाउँदै गन्धर्व

चिप्लेढुङ्गा- “आमाले सोध्लिन् नि खै छोरा भन्लिन्” भन्ने गीतका चर्चित गायक झलकमान गन्धर्वको निधन भएको १६ वर्ष पुगिसक्यो। उक्त गीत युद्ध मैदानमा घाइते लाहुरेको अन्तिम सन्देशका रुपमा गाइएको मार्मिक गीत थियो।     

नेपाली लोकसङ्गीतका क्षेत्रमा जीवन्त उक्त गीतले आज पनि हरेक लोकगीत पारखीको मन र मष्तिस्कमा उत्तिकै तरङ पैदा गर्छ। सारङ्गीको त्यो धुन विशुद्ध मौलिक सङ्गीतको एक उपज थियो। झलकमानका २ सय ५० भन्दा बढी गीत रेडियो नेपालमा रेकर्ड भइसके पनि आज ती सुन्न पाइँदैनन्।     

गन्धर्व समुदायले सारङ्गीको धुनमै देश, काल, परिस्थिति र विभिन्न घटना परिघटनाका कहानी सुुनाउने त्यो परम्परा अहिले लगभग लोपप्रायः भइसकेको छ। एक समय सारङ्गी बजाएरै आफ्नो जीविकोपार्जन गर्ने गन्धर्वका नयाँ पुस्ता भने विस्तारै अन्य पेशा तथा व्यवसायतिर आकर्षित हुन थालेकाले यो लोक संस्कृति नै लोप हुने अवस्थामा पुगेको छ। वीणाको २९ भेदमध्ये सारङ्गी पनि एक हो।     

लोक संस्कार र संस्कृति बाँचे मात्र आफ्नो पहिचान बाँच्छ भन्दै झलकमान गन्धर्वका भाञ्जा धनबहादुर गन्धर्व सारङ्गी संरक्षणको अभियानमा जुटेका छन्। उनी विसं २०६६ मा झलकमान गन्धर्व राष्ट्रिय लोकबाजा सारङ्गी संरक्षण पाठशालाको स्थापना गरेर संस्कृति संरक्षणमा जुटेका थिए।

“झलकमानले नेपाली मौलिक गीत सङ्गीतको सिर्जना र संरक्षणमा आफ्नो जीवन नै समर्पण गरे तर आज उनको योगदानको कदर कहीँकतैबाट नभएकाले उनको स्मृति र सारङ्गी संरक्षणका लागि उक्त पाठशाला खोलिएको हो”, धनबहादुरले भने।     

एक दशकअघि दुई सारङ्गीबाट शुरु गरिएको सो पाठशालामा संरक्षकका रुपमा लोककवि अलिमिया प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँ रहेका छन्। एक दशकअघि धनबहादुरले जाहेर गरेको इच्छालाई मूर्तरुप दिन १० सारङ्गी प्रदान गरेर उनले हौसला थपेका थिए।     

मियाँ आफैँ पनि लोकगीतको संरक्षणमा सक्रिय छन्। जहाँ इच्छा त्यहाँ उपाय भनेझैँ मातृशिशु मितेरी अस्पतालका संस्थापक अध्यक्ष एवं हाल गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाले पनि पाठशालाका लागि शिशुस्याहार केन्द्रको सानो भवन उपलब्ध गराएर होस्टेमा हैँसे गरिदिएपछि धनबहादुरले अहिले निःशुल्क सारङ्गीत सिकाइरहेका छन्।

हाल २३ जनालाई सारङ्गीको धुनमा रमाएको भेट्न सकिन्छ। सारङ्गी सिक्नेहरु आठ वर्षदेखि २५ वर्षसम्म उमेर समूहका तथा आधाजसो बालिका एवं किशोरी रहेको उनले बताए।     

पोखरा महानगरपालिकामा कार्यरत धनबहादुरले विन्ध्यवासिनी सङ्गीत पाठशालामा पनि सङ्गीत सिकाउँदै आउका छन्। “बाटुलेचौरसँगै झलकमान गन्धर्व र जनकविकेशरी धर्मराज थापाको लोकसंस्कृतिको गौरवको गाथा जोडिएको छ। यसको संरक्षण गर्नु हामी सबैको दायित्व हो”, धनबहादुर भन्छन्।

“लोकगीत र संस्कृतिको उर्वरभूमि बाटुलेचौरमा अहिले लोकबाजा सारङ्गी सिक्न नयाँ पुस्ताका केही युवायुवतीमा रुचि बढेको छ।” कुनै समय गन्धर्व समुदायले मात्रै रेट्दै आएको सारङ्गी अहिले अन्य जाति तथा समुदायका युवतीले समेत रुचि देखाएका छन्। धनबहादुर दैनिक डेढ घण्टा प्रशिक्षण दिन्छन्। आजसम्म झण्डै दुई सयले सारङ्गी बजाउन सिकेका छन्।     

बाटुलेचौरमा गन्धर्व समुदायको बस्ती छ। उनीहरुको संरक्षणका लागि र समाजघर निर्माणका लागि दुई लाख रुपैयाँ छुट्याइएको र अब सारङ्गी पाठशालाका लागि पनि पहल गरिने पोखरा महानगरपालिका–१६ का वडाध्यक्ष जीवन आचार्यले बताए।

“बाटुलेचौरको माटो लोकगीत र सङ्गीतले सिञ्चिएको छ। जनकविकेशरी थापा र झलकमानजस्ता स्रष्टाको ऐतिहासिक भूमि भएकाले यसको संरक्षणमा वडा कार्यालयले पहल गर्नेछ”, उनले भने।

सामाजिक मूल्यमान्यता, रहनसहन, संस्कृति र संस्कारको प्रतिविम्ब लोकगीतको मौलिकतामा पाइन्छ संस्कृतिकर्मी तुलसी प्रवास जब लोकगीत र सङ्गीत नै लोप हुन्छ भने हाम्रो पहिचान पनि मेटिने बताए।

उनी भन्छन्, “सूचनाका संवाहक मानिने गन्धर्व जाति तत्कालीन समयको सामाजिक परिवेशका विकृति विसङ्गति र कारुणिक अवस्थालाई सङ्गीतको धुनको लयमा सविस्तार गरेर यथार्थ प्रस्तुत गर्थे तर अहिले सूचना र सञ्चारको पहुँचले यो विस्थापित भएको छ।”

यसको संरक्षण र सम्वर्धन गर्न सके इतिहास पुनःजीवित हुनसक्ने उनको भनाइ थियो। गन्धर्व जाति अन्य जातजातिसँग बिहे गर्ने र बसाइँसराइका कारण विस्तारै लोपोन्मुख हुँदै गएकाले सो समुदायको संरक्षण पनि आवश्यक रहेको संस्कृतिकर्मी प्रवास बताउन्छन्।रासस

 

प्रकाशित: २२ भाद्र २०७६ १७:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App