१६ चैत्र २०८० शुक्रबार
कला

‘गौरा’ पर्वमा डेउडाको रौनक

कैलाली – सुदूरपश्चिम प्रदेशमा बिहीबार गौराको प्रतीमा भित्र्याएसँगै डेउडा सुरु भएको छ। गौरा पर्वको प्रमुख आकर्षण डेउडामा पौराणिक कथा, देवी देवताका गाथा, धार्मिक ग्रन्थ गाउने गरिन्छ। सामाजिक विकृतिविरुद्ध पनि डेउडाका माध्यमले तीखो व्यङ्ग्य गरिन्छ। महिलाहरूले यस अवसरमा आफ्ना सुख–दुःख डेउडाका माध्यमबाट व्यक्त गर्छन्।

सशस्त्र द्वन्द्वका बेला गौरा पर्व ओझेलमा पर्दै गएकोमा अहिले भने पुरानै रौनकता आएको डेउडाप्रेमीहरू बताउँछन्। सुदूरपश्चिममा मात्र नभई अहिले डेउडाले राजधानीसम्म आफ्नो लोकप्रियता कायम गरेको छ। सुदूरपश्चिममा गौराको समयमा ढोलकको तालमा डेउडाका लय गुञ्जन थालेको डेउडा गायक दलबहादुर बोगटी बताउँछन्। ‘गौरामा वृद्धवृद्धा मांगल, फाग, चैत, धमारी, ढुस्को, अठवाली गीतमा मस्त रहन्छन् भने युवायुवती वन डेउडा र माया प्रेमका दोहोरी डेउडामै झुमिन्छन्। अहिले सुदूरका प्रत्येक गाउँ डेउडाले गुञ्जयमान बन्न थालेका छन्,’ उनले भने।

गौरालाई सुदूरपश्चिममा ठाउँ अनुसार ‘गमरा’, ‘गोःरा’, ‘गवरा’ भन्ने गरिन्छ। यी सबैको अर्थ गौरी अर्थात् पार्वती नै रहेको ज्योतिष खेम मिश्र बताउँछन्। गौरा सुदूरपश्चिम तथा कर्णाली क्षेत्रमा सदियौंदेखि रहेका मौलिक लोकसंस्कृतिको पहिचान गराउने पर्व रहेको उनले बताए। कथनअनुसार पनि गौराले यस क्षेत्रको लोकसंस्कृति, लोकसाहित्य, परम्परागत प्रचलन, ऐतिहासिक वीरगाथा र वेशभूषाको प्रस्तुति गर्ने थलो हो। ‘यस क्षेत्रका यति धेरै पहिचानका बिम्ब एकैसाथ प्रस्तुति हुने अर्को कुनै अवसर नै आउँदैन,’ उनले भने, ‘यसमा मांगल, फाग, चैत, धमारी, ढुस्को, अठवाली गीत, भोलाउलो, घरगीत, सुप्रसिद्ध डेउडाका साथै परम्परागत बाजागाजा, ऐतिहासिक वीरगाथा एकैसाथ प्रस्तुत हुन्छन्।’

बसाइँसराइसँगै तराईका कञ्चनपुर र कैलालीमा पनि पहाडी समुदायले मनाउने गौरा पर्वमा खेलिने डेउडा आकर्षण बन्ने गरेको छ। कञ्चनपुर र कैलालीमा बसोबास गर्ने सुदूरपश्चिम क्षेत्र बाहेकका पनि डेउडामा रमाउने गर्छन्। केही संघसंस्थाले यस अवसरमा डेउडा प्रतियोगिताको समेत आयोजना गर्ने गरेका छन्। यो पर्व सुदूरपश्चिमका पहाडी क्षेत्रका साथै कैलाली कञ्चनपुरका गाउँबस्ती, कुमाऊँ, गडवालमा समेत धुमधामका साथ मनाइन्छ।

यतिबेला सुदूरपश्चिमका गाउँबस्ती डेउडामा झुम्ने लागि परेको छ। यहाँका गाउँगाउँ र बस्ती बस्तीमा डेउडा दोहोरी तथा परम्परागत गीतहरु गाइन थालिएको छ। गौरामा डेउडा नाच्न थालेको सुदूरपश्चिम हप्ता÷दस दिनसम्म झुम्दैछ। गाउँगाउँमा डेउडाको प्रतिस्पर्धा चल्नुका साथै पुराना संस्कृति मांगल, फाग, चैत, धमारी, ढुस्को, अठवाली गीत, भोलाउलो, वनडेउडा गुञ्जयमान हुन थालेका छन्।

गौरासँगै सुदूरपश्चिममा चहलपहल र रौनक बढेको छ। सुदूरपश्चिम प्रदेशका डोटी, डडेल्धुरा, बैतडी र दार्चुलाका स्थानीय दसैँभन्दा पनि बढी महत्वका साथ यस पर्वलाई मनाउँछन्। त्यसैले गौरामा एकैछिन भए पनि डेउडामा रमाउन परदेसिएकाहरू पनि घर फर्किएका छन्। यस वर्षमा पनि छिमेकी देश भारतका विभिन्न सहरमा मजदुरी गर्ने हजारौँ सुदूरपश्चिमेली सीमावर्ती नाकाबाट घर फर्किएका छन्।

डोटेली संस्कृतिमा विद्यावारिधि गरेरका डा. बद्री बिनाडीका अनुसार गौराको धार्मिक तथा सांस्कृतिक रुपमा ठूलो मान्यता रहेको छ। ‘गौरा विशुद्ध धार्मिक आनुष्ठानिक पर्व हो,’ उनी भन्छन्, ‘सुदूरमा मनाइने अन्य पर्वहरुको सामाजिक मान्यता बढी छ। तर, गौरा धार्मिक र सामाजिक दुवै किसिमले महत्वपूर्ण छ।’

गौरालाई अष्टमीका दिन पूजाआजा गर्दै, मांगल गानका साथमा नचाइन्छ। त्यसै क्रममा गौरालाई गौरा घरको आँगनमा ल्याएर राखिन्छ, त्यहाँ विभिन्न अठवाली गीत, चैत, धमारी, राजामहाराजाका वीरगाथाका गीतका साथमा नचाइने गरिन्छ। यसै दिनदेखि ठाउँ–ठाउँमा रातिको समयमा मात्रै डेउडा समेत खेलिने प्रचलन रहिआएको छ। ‘सप्तमीमा भित्र्याइएको गौरा प्रतीकलाई कम्तीमा पनि पाँच रातसम्म राख्ने गरिन्छ। पाँच रातसम्म गौरा घरमा डेउडा, फाग, चैत, धमारी खेल्ने गरिन्छ,’ उनले भने। यस पर्वमा चैत, भागेश्वरको ढुस्को, धुमारी, तुलसीका गीत तथा विभिन्न डेउडा गीत गाएर खेल खेल्ने गरिन्छ। गौरा पूजा (अष्टमी) देखि नै चैत, धुमारी तथा डेउडा खेल्ने चलन रहेको छ। सुख–दुःख, हाँसो–रोदन, हर्ष–विस्मात, माया–प्रेम, समसामायिक परिस्थिति, विकृति विसंगति डेउडामा व्यक्त हुने गरेको धारणा सुदूरपश्चिमेलीहरू राख्छन्। गौरा र डेउडा पर्वले आपसी भाइचारा, शान्ति, समृद्धि, सह–अस्तित्व तथा सद्भावको सूत्रमा बाँध्ने गरेको छ।

गौरापर्व डोटी, डडेल्धुरा, बैतडी र दार्चुलामा सबैभन्दा बढी र अछाम, बझाङ, बाजुरा, कैलाली तथा कञ्चनपुरको विशेष ठाउँमा मनाउने गर्छन्।

प्रकाशित: ६ भाद्र २०७६ ०४:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App