८ वैशाख २०८१ शनिबार
कला

लाखे नाच जोगाउँदै नेवार समुदाय

पर्वत – नेपालको मौलिक लाखे नाचको संरक्षणमा नेवार समुदायले सक्रियता देखाउन थालेका छ। युवा पुस्ताहरूले बेवास्ता गरेको लाखे नाच पछिल्ला वर्षमा हराउँदै जान थालेको थियो। जात्रा र विशेष अवसरमा नेवार समुदायले प्रदर्शन गर्दै आएको लाखे नाच खर्चिलो भएको बताउँदै प्रदर्शन हुन छाडेको थियो। लाखे नाच्न जान्ने र युवा पुस्ताले यसलाई महत्व नदिँदा हराउँदै गएको स्थानीयहरू बताउँछन्। हराउँदै गएको लाखे नाचको संरक्षणमा कुश्मा नगरपालिका–५ मा रहेको नेवाः सांस्कृतिक समूह जुटेको छ।

नागपञ्चमीदेखि कृष्ण जन्माष्टमीसम्म हरेक दिन सदरमुकाम कुश्मा बजारमा लाखे नाच देखाउन सुरु गरिएको समूहका अध्यक्ष तेजप्रसाद श्रेष्ठले बताए। ‘पहिला गाउँमा लाखे नाच देख्न पाइन्थ्यो। पछिल्ला वर्षमा सदरमुकाममा लाखे देख्न मुस्किल भएपछि लोप हुन लागेको छ’, उनले भने, ‘यसको संरक्षण गर्न हरेक वर्ष यसरी लाखे नाच गर्दै आएका छौँ। अरूले सहयोग गर्लान् भनेर नभई हामी रहेसम्म लाखे नाच हराउन दिन्नौँ।’

सदरमुकाममा बसोबास गर्दै आएका नेवारहरूले जन्माष्टमीसम्म पाँच प्रकारका नाचहरू देखाउने गरेका छन्। स्थानीय राम श्रेष्ठका अनुसार नागपञ्चमीको दिनदेखि सुरु भएको लाखे नाच कृष्ण जन्माष्टमीसम्म हरेक दिन साँझ बजार परिक्रमा गराउँदै प्रदर्शन गरिन्छ। जनैपूर्णिमासम्म लाखे नाच तथा त्यसपछि रोपाई जात्रा, गाई जात्रा, बाघ जात्रा र हनुमान नाच प्रदर्शन गरिने उनले बताए। ‘हामी हरेक दिन लाखे नचाउने गर्दछौँ। रोपाई जात्रामा रोपाई गर्दै, गाई जात्रा हाँस्य व्यङ्ग्यसहित गाई बनाउँदै, बाघ जात्रामा बाघहरूको नाच र लडाइँ देखाउँदै र हनुमान नाचमा हनुमान बनाएर हनुमानका व्यवहारहरू देखाउने गरिन्छ’, उनले भने, ‘यी नाचहरूको संरक्षणका लागि अहिलेका युवा र केटाकेटीलाई पनि लाखे बनाएर नचाउने गरेका छाँै।’

हरेक दिन लाखे नाच प्रदर्शन गर्दा खर्च हुने भएकाले कोषमार्फत लाखे नचाउने गरिएको छ। कोषमा करिव २० लाख रुपैयाँ रहेको र त्यसैबाट जात्रा र नाचका लागि खर्च हुने गरेको छ। सो कोषबाट लाखे नाच मात्र नभई नेवार समुदायभित्रका व्यक्तिलाई अप्ठ्यारो परेको बेलामा आर्थिक सहयोग पनि गर्ने गरिएको छ।

 

प्रकाशित: २३ श्रावण २०७६ ०३:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App