८ वैशाख २०८१ शनिबार
कला

नाच्न सिक्दै बिदा सदुपयोग गर्दै विद्यार्थी

चितवन - नृत्य प्रशिक्षक सुमित लामा क्यासेट प्लेयरबाट लोक तथा दोहोरी गीत ट्युन गर्दैछन्।  एकछिनमा हिप पप ट्रयाक बजाउँदै गर्दा उनको अगाडी उभिएका बालबालिका त्यसैको धुनमा डान्स गर्न तत्पर देखिन्छन्।  उनले १, २, ३..भन्दै गर्दा बालबालिकाहरू कम्मर मर्काएर डान्स गर्न व्यस्त हुन्छन्।  यो दृश्य चितवनको नारायणी कला मन्दिरले सञ्चालन गरिरहेको समर डान्स क्याम्पको हो।   

समर डान्स क्याम्पमा सहभागी १० वर्षीय कृशाला साह कक्षा ६ मा अध्ययरत छिन्।  स्कुल बिदाको सदुपयोग गर्दै उनी डान्स सिक्न लागि परेकी छिन्।  ‘पहिलो पटक डान्स सिक्न लागिपरेको हुँदा एकदम रमाइलो भइरहेको महसुस गरिरहेको छु, ’उनले भनिन्, ‘डान्सको विभिन्न प्रकार हुन्छ भन्ने कुरा बल्ल थाहा हुँदैछ। ’

हाल सरकारी स्कुलमा बर्खे बिदा भएको छ।  यो बिदाको सदुपयोग गर्दै स्कुले बालबालिकाहरू नारायणी कला मन्दिरले सञ्चालन गरिरहेको डान्स क्याम्पमा सहभागी भएका छन्।  गत साउन १० देखि सुरु भएको १५ दिने निःशुल्क डान्स क्याम्प ५६ जना विद्यार्थी सहभागी भएका छन्।  

क्याम्पमा सहभागी बालकुमारी माध्यामिक विद्यालयकी कक्षा १० मा अध्ययनरत १५ वर्षीय एलिना परियार ‘सालको पात टपरी हुने’ गीतमा नाच्दै थिईन्।  क्याम्पमा उनले डान्सका नयाँ स्टेपहरू सिक्न पाएको अनुभव सुनाइन्।  ‘स्कुलमा आयोजना हुने विभिन्न कार्यक्रममा डान्स प्रस्तुत गर्दा रिहर्सल भने घरमा एक्लै गनुपर्ने हुन्थ्यो।  स्कुल बिदाको सदुपयोग गर्दै डान्स समेत रिहर्सल गर्ने मौका मिलेको छ,’ उनले भनिन्।  

सरकारी स्कुलमा अध्ययनरत विद्यार्थीको वर्खे बिदालाई सदुपयोग गर्न क्याम्प सञ्चालन गरेको नारायणी कला मन्दिरका कार्यवाहक अध्यक्ष उद्धव जोशीले बताए।  ‘ बिदाको सदुपयोग गर्न यो वर्ष ५६ जना विद्यार्थी क्याम्पमा सहभागी भएका छन्।  गत वर्ष २८ जनामात्र विद्यार्थी सहभागी भएका थिए ,’ उनले भने, ‘क्याम्पले मनोरञ्जनसँगै शारिरिक अभ्यास र कला सिक्ने अवसर प्रदान गरिरहेको छ।  क्याम्पमा सहभागी भएर राम्रो नाच्न सिक्ने चार जना बालबालिकालाई पुरस्कृत समेत गरिनेछ। ’ क्याम्पमा लोक, आधुनिक र शास्त्रीय डान्स र डान्सका विशेषताका बारेमा विद्यार्थीलाई सिकाईने उनले जानकारी दिए । 

क्याम्पमा भानु मावि., नारायणी मावि., लक्ष्मी मावि., बालकुमारी उच्च मावि.र बालकुमारी कन्या मावि.का बालबालिका सहभागी भएका छन्।  यो क्याम्पको दोस्रो संस्करण हो।

 

प्रकाशित: २२ श्रावण २०७६ ०३:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App