coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

तीज गीतमा विकृति घट्दै

काठमाडौं - साउन महिनासँगै कलाकारहरू तीज विशेष गीत तयार गर्ने चटारोमा लागेका छन्। राजधानी वरपरका रेकडिङ स्टूडियोहरू तीज विशेष गीत रेकर्ड गर्न पुगेका कलाकारहरूले भरिएका छन्। तीज विशेष गीत रेकर्ड गरिसकेका कलाकारहरू म्युजिक भिडियोको सुटिङ गरिरहेका छन्। युट्युवलगायतमा म्युजिक भिडियो सार्वजनिक गरेका कलाकारहरू गीतमाथि आएका प्रतिक्रियाहरू लिदैछन्। यस वर्ष तुलनात्मक रूपमा स्तरिय तीज विशेष गीतहरू आएको दाबी यस क्षेत्रमा सक्रिय कलाकार र स्रष्टाहरूले गरेका छन्।

नेपाली लोक संगीतमा सक्रिय गायक पशुपति शर्मा अनुसार कलाकारहरू सचेत भएर गीत तयार गर्दा शब्द छनोटमा ध्यान दिन थालेको बताउँछन्। ‘लोक संगीतका क्षेत्रमा लागेका स्रष्टाहरू सचेत भएर गीत तयार गर्दा शब्द छनोटमा ध्यान दिन थालेका छन्। लोकप्रियताको निम्ति दोहोरो अर्थ लाग्ने शब्दको प्रयोग गरेर तीज गीत निकाल्ने कलाकारलाई भने भविष्यमा सांगीतिक करियर बनाउन अप्ठ्यारो हुन्छ। यसबारे विषयमा सचेत हुनु जरुरी छ,’उनले भने। अघिल्ला वर्षहरूको तुलनामा यस वर्ष दोहोरो अर्थ लाग्ने खालका गीतहरू खासै आइसकेका छैनन्।  उनका अनुसार तीजलाई केन्द्रित गरेर मौलिकतलाई बेवास्ता गरेर निकाल्न लागेका व्यंग्यात्मक गीत रेकर्डिङमा रोकिएका छन्। ‘परिवारसँग बसेर हेर्न नमिल्ने खालका गीतहरूलाई निरुत्साहित गर्न पहल गरिरहेका छौं। यस्ता गीतहरू सार्वजनिक कार्यक्रममा समेत बहिष्कार गरिनुपर्छ,’ उनले भने।  

लोकप्रियताको निम्ति दोहोरो अर्थ लाग्ने शब्दको प्रयोग गरेर तीज गीत निकाल्ने कलाकारलाई भने भविष्यमा सांगीतिक करियर बनाउन अप्ठ्यारो हुन्छ।

गायिका ज्योति मगरका अनुसार यस वर्ष आएका तीज विशेष गीतहरूमा विकृति छन्। ‘सामाजिक विषयवस्तुमा आधारित रहेर तयार हुने तीज गीतहरूमा विकृति हुँदैन भनेर पत्याउन मिल्दैन्। यसलाई कम गर्न सकिन्छ,’ उनले भनिन्। उनको स्वरमा रहेको ‘पिसाब लाग्यो’ बोलको गीतमा विकृति फैलाउने सामग्री नभएको दाबी उनले गरेकी छिन्। ‘मेरो स्वरमा रहेको ‘पिसाब लाग्यो’ बोलको गीत जनचेतनाको निम्ति तयार भएको हो। यसले शौचालयको आवश्यकताबारे बोलेको छ,’ उनले भनिन्, ‘अभिव्यक्ति स्वतन्त्रताको अभ्यास गर्ने हो भने सबै प्रकारका गीतहरू बजारमा आउनु पर्दछ। राम्रो र नराम्रो गीत छुट्याउने जिम्मा श्रोताको भएकाले अधिकांश पुरुष कलाकारहरूले गाएका तीज विशेष गीतहरूमा विकृति फैलाउने भाव समेटिएका हुन्छन्।’

तीज विशेष गीतहरू निकाल्ने गायिका सुशिला गौतमका अनुसार विकृति तुलनात्मक रूप यस वर्ष घटेको छ। ‘यो वर्ष तीज गीतहरू कम रेकर्ड भएका छन्। रेकर्ड भएका तीज गीतहरूको भिडियो तुलनात्मक रुपमा ठिकै खालका आइरहेका छन्,’ उनले भनिन्, ‘तीज गीतको बहानामा यसको मौलिकतालाई बेवास्ता गर्ने कलाकारहरूले लोकप्रियता कमाउन निकाल्ने भिडियोलाई यसको सूचीमा नराख्दा राम्रो हुन्छ।’

संगीतकार खुमन अधिकारीका अनुसार तीज विशेष गीतमा मौलिकता, संस्कृति झल्काउने र नेपाली चेलीहरूको दुःखलाई आधार मानेर लेखिएको हुनुपर्ने बताउँछन्। ‘तीजका गीतका नाममा बजारमा अश्लिल खालका गीतहरु आइरहेका हुन्छन्। अहिले श्रोताले गीतको मर्म बुझ्न थालिसकेका छन्। त्यसैले विकृति फैलाउने गीतहरू आफै हराएर जान्छन्, ’ उनले भने। अघिल्ला वर्षहरुको तुलनामा महिलाहरूको आफ्नो मौलिक पहिरन बिर्सिएर तीजको गीतमा टि–सर्ट, पाइन्ट र वान पिस जस्ता आधुनिक ड्रेसमा सजिएर आउने गीतहरु कम हुँदै गएको उनले बताए। नेपाली चेलीहरूको वेदनालाई समेटेर तयार हुने तीज गीतमा पुरुषले पनि साथ दिनुपर्ने तर्क उनी गर्छन्।

 

प्रकाशित: २१ श्रावण २०७६ ०२:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App