४ वैशाख २०८१ मंगलबार
कला

क्यानभासमा दुई देशका चित्र

काठमाडौं – प्राकृतिक, सामाजिक र सांस्कृतिक रूपमा नेपाल र बंगलादेश मिल्दोजुल्दो देखिन्छ। बेरोजगारी, भ्रष्टचार र महिला हिंसालगायतबाट दुवै देश समस्याग्रसित छ। दुवै देशका कलाकारहरूले प्राकृतिक, सामाजिक र सांस्कृतिक पक्षमा आधारित रहेर तयार गरेको चित्रकलाहरू बबरमलस्थित नेपाल आर्ट काउन्सिलमा आयोजित ‘बंगलादेश–नेपाल फ्रेन्डसिप आर्ट’ प्रदर्शनीमा राखिएका छन्। मंगलबारदेखि सुरु भएको प्रदर्शनीमा दुई देशका २३ कलाकारहरूले तयार गरेको ३७ वटा कलाहरू समावेश भएका छन्।

कलाकारहरूले आ–आफ्नो देश प्रतिनिधित्व गर्ने खालका मूर्तिकला र चित्रहरूलाई क्यानभासमा उतारेका थिए। प्रदर्शनीका भित्ताहरूमा नेपालको प्राकृतिक सौन्दर्यदेखि बंगलादेशको समुद्रसम्म चित्रकलाहरू झुन्डाइएका छन्।

प्रदर्शनीमा सुष्मा राजभन्डारी, मिथिलादेवी यादव, पुनमकुमारी दास, ओम  खत्री, लक्ष्मण मन्डल, किशोर नकर्मी, भुवन थापा, अनुराधा थापा, तैमुर हान, फरिहा खैर, दिलशद पठान, इमाम हुसेन सुमोन, लक्की ओस्मन, मोहमद मैदुल इस्लाम खान, मोहसिन कविर, नज्मा अक्तेर र सवनम चौधरी लगायत कलाकारहरूको कलाहरू समावेश भएका छन्।

बंगलादेशी कलाकारहरू समुद्रलाई प्रेम र दुःखको भावमा क्यानभासमा उतारेका छन्। समुन्द्रले आनन्दको महसुस गराएपनि भाव फरक हुने तर्फ कलाकारहरूले चित्रकलामार्फत देखाएका छन्। समुद्र भनेको समृद्धिको प्रतीक मात्र नभएर दुःखको भाव महसुस गराउने तत्वको रुप कलाकारहरूले क्यानभासमा उतारेका छन्।   नेपाली कलाकार मिथिलादेवी यादवले मिथिला आर्टको माध्यमबाट दक्षिण एसियामा रहेको महिला हिंसाको समस्यालाई समेटेकी छिन्। ‘सांस्कृतिक रूपमा नेपाल धन भएपनि नेपाली समाजमा महिला हिंसा अत्याधिक रहेको छ। दक्षिण एसियामा महिला हिंसाको तथ्यांक धेरै भएकाले यसको अन्त्यको लागि जनचेतना फैलाउन आर्ट तयार गरेर प्रदर्शनीमा समावेश गरेका छौं,’ उनले भनिन्। प्रदर्शनी शुक्रबारसम्म चल्नेछ।

 

प्रकाशित: १७ श्रावण २०७६ ०२:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App