१६ चैत्र २०८० शुक्रबार
कला

क्यानभासमा नारी शक्तिको सम्मान

काठमाडौं - वर्षासँगै नेपालका अधिकांश क्षेत्रका कृषकहरूलाई धान रोख्ने चटारो सुरू भएको छ। ‘मुठी रोपेर मुरी उब्जाउने’ भनाईलाई अनुसार कृषकहरूका खेतमा हलगोरु जोत्न र बाउसे तथा रोपारहरू आत्मीय भएर धान रोपाइँ गर्न व्यस्त देखिने परिवेशको बयान पुल्चोकस्थित फ्रान्सेली कला प्रदर्शनीको भित्ताहरूमा झुन्डाइएका चित्रकलाले गरेका छन्।

चित्रकार सागर मानन्धरले ‘खेतका कथाहरु’ शीर्षकको चित्रकलामा समयसँग परिवर्तन हुँदै गएको खेतको अस्तित्वलाई प्राथमिकता दिएको छ। बढ्दो सहरीकरणले साँघुरो हुँदै गएको खेत र कृषकको पीडाको भाव उनले चित्रकलामा कोरेका छन्। ‘खेती योग्य उर्वरभूमी संकटमा परेको छ। खेतमा काम गर्ने कृषकहरू पीडा बेग्लै होला। खेतको महत्व र खेतमा काम गर्दाको रौनक नै फरक हुन्छ, ’उनी भन्छन्, ‘ तर, यसको अस्तित्व गुम्ने अवस्थामा पुगेको छ।’ दिउँसो र रातको समयमा देखिने अमूर्त खेतको चित्रकलालाई उनले क्यानभासमा उतारेका छन्।

गत असार ३१ देखि सुरू भएको प्रदर्शनीमा समावेश चित्रकलाहरूले कृषक र खेतका कथाहरु देखाइएका छन्। चित्रकार किरण मानन्धर, सागर मानन्धर, नरबहादुर बिक र भिन्सेन्ट ग्रेवीका १६ वटा चित्रकलाहरू प्रदर्शनीमा समावेश भएका छन्।

चित्रकार किरण मानन्धरको ‘लभ एन्ड इमोसन’ चित्रकलामा नारीको विभिन्न आकृतिलाई क्यानभासमा कोरेका छन्। चित्रकलमा नारीको महिमाको विभिन्न प्रतिबिम्बको सम्मान गरिएको छ। नारी शक्तिको स्वरूप र पुरुषलाई चित्रकलामा समावेश गरिएको छ। नारी र पुरुष रथका दुई पांग्रा हुन भन्ने मान्यतालाई उनले प्राथमिकता दिएका छन्। ‘नारी शक्तिहरूको महिमालाई क्यानभासमा समावेश गरेको छु। नारी र पुरुष एक अर्काबीच अपुरो छन् भन्ने मान्यता चित्रकलामा समावेश गरिएको छ,’ उनले भने।
चित्रकार नरबहादुर बिकले चित्रकलामा नेपालको सर्वोच्च शिखर सगरमाथालाई प्राथमिकता दिएका छन्। ‘तीन महिनाको मेहनतपछि तयार भएको चित्रकलाले नेपालको गौरवको कथा बोकेको छ। फ्रान्स र नेपालको सम्बन्धलाई कलामार्फत उतार्न खोजको छु,’ उनले भने। फ्रान्सेली चित्रकार भिन्सेन्ट ग्रेवीले रंगीविरंगी फूलहरुलाई क्यानभासमा कोरेका छन्। ‘मारियान फूल’ शीर्षकको चित्रकला कलात्मक शैलीमा क्यानभासमा उतारिएको छ। प्रदर्शनी साउन १५ सम्म चल्नेछ।

 

 

प्रकाशित: १४ श्रावण २०७६ ०२:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App