२८ असार २०७७ आइतबार
कला

मेंहन्दीको रौनक बढ्दो

काठमाडौं - हरियाली साउन महिना सुरू भएसँगै हरियो पहिरन, चुरापोते र मेंहन्दी लगाउने प्रचलन बढ्ने गरेको छ। झरी बर्सिरहने यस महिनामा महिलाहरू हरियो पहिरन, चुरापोते र मेंहन्दीमा देखिन मनपराउँछन्। हरियो पहिरन, चुरापोते र मेंहन्दीले साउनको व्यापारको रौनक बढाइदिने गरेको छ। यस महिनामा अविवाहित युवतीहरू हातभरी हरियो चुरा र मेंहन्दीमा देखिन इच्छुक हुने हुँदा त्यसको व्यापार फस्टाउने गरेको छ।

साउन महिनाको रौनक बढाउन मंगलबारदेखि सुन्धारास्थित सिलिभ मल र लबिम मलमा ‘नमस्ते मेंहन्दी सम्मेलन’ सुरू भएको छ। ओपन स्पेस नेटवर्कले आयोजना गरेको मेंहन्दी सम्मेलनमा २० जना मेंहन्दी आर्टिस्टहरूले सहभागी हुन पुगेका मानिसहरूलाई मेंहन्दी लगाइदिन भ्याइनभ्याइ भएको छ। मेंहन्दी आर्टिस्टलाई प्रोत्साहन गर्न आयोजना गरिएको सम्मेलनमा मेंहन्दीसम्बन्धी विभिन्न नयाँ डिजाइनहरूलाई प्राथमिकता दिइएको जानकारी ओपन स्पेस नेटवर्ककी संस्थापक फैंजा प्रवीनले दिएकी थिइन्।

‘मेंहन्दी लगाउने पेशालाई हल्का रूपमा लिइएको हुँदा मेंहन्दी आर्टिस्टहरूलाई हेपेर बोलाउने शैली गलत हो ,’ उनी भन्छिन्, ‘मेंहन्दी लगाउने कलालाई सम्मान गरेर मेंहन्दी आर्टिस्टहरूलाई प्रोत्साहन गर्न सम्मेलनको आयोजना गरिएको हो।’ मेंहन्दी आर्टिस्ट समेत रहेकी उनले मेंहन्दी लगाउने कलाको सम्मान गर्न आग्रह समेत गरेकी छिन। मेंहन्दी सम्मेलनको यो तेस्रो संस्करण हो। मेंहन्दी आर्ट गर्न आउनेहरू सम्मेलनमा सहभागी हुनसक्ने जानकारी उनले गराइन्।

साउन महिना सुरू भएपछि युवतीका हातमा हरियो चुरा र मेंहन्दी देखिन्छ। सहरी क्षेत्रमा हरियो पहिरन र चुरा साउन महिनाको विशेष पोशाक जस्तै बनिसकेका छन्। साउनमा हरियो चुरा र मेंहन्दी लगाउनुको खासै धार्मिक कारण भएको पाइदैन। तर, यसलाई फेसन ट्रेन्डको रूपमा लिइएको छ। सबै उमेरका महिलाहरू विभिन्न डिजाइनको मेंहन्दी लगाउन मेंहन्दी आर्टिस्टहरूका पुग्ने गरेका छन्। मेंहन्दीविना साउन महिना अपूरो हुनेजस्तै भइसकेको छ।

सम्मेलनमा हातमा फरक शैलीको मेंहन्दीको डिजाइनको बुट्टा र्कोन व्यस्त मेंहन्दी आर्टिस्ट मनिषा शर्मा पेशाले सरकारी इन्जिनियर हुन्।  कार्यलयबाट बिदा मिलाएर सम्मेलनमा सहभागी भएकी उनले सानै उमेरदेखि अरुलाई मेंहन्दी लगाईदिने गरेको बताइन्। ‘घरमा दिदीले मेंहन्दी लगाएको देखेपछि मैले मेंहन्दी लगाउने कला सिकेकी हुँ। मेंहन्दी लगाइदिन रहर लाग्ने भएको हुँदा अफिसबाट बिदा मिलाएर सम्मेलनमा सहभागी भएकी छु, ’ उनले हाँस्दै भनिन्, ‘मेरो मेंहन्दीको डिजाइनको चर्चा सुनेर मख्ख परेकी छु।’

प्रेमको प्रतिकको रूपमा लिइने मेंहन्दीको रंगलाई लिने गरिएको छ। मेंहन्दी लगाउन कुपन्डोलदेखि आइपुगेकी रितु थापा मेंहन्दी आर्टिस्टलाई मोबाइलबाट डिजाइन देखाउँदै छिन्। त्यस्तै डिजाइन गरिदिन उनले मेंहन्दी आर्टिस्टलाई आग्रह समेत गरिन। ‘मलाई मेंहन्दी लगाउन मनपर्छ। मलाई मनपर्ने डिजाइन आर्टिस्टले बनाइदिन्छिन् होला,’ उनी भन्दै थिइन्।

आयोजकले यस वर्ष साउनलाई केन्द्रित गरेर मेंहन्दी आर्टिस्टहरूले नयाँ डिजाइनहरूमा काम गरिरहेको दावी गरेको छ। अरवी भाषालाई प्राथमिकता दिएर मेंहन्दीको बुट्टा बनाउँदै गरेकी सोनी गुप्ता पेशाले माइक्रो बायोलोजीकी विद्यार्थी हुन्। ‘म आफैं मेंहन्दी डिजाइन गर्ने भएकाले यो सम्मेलन मेरोलागि प्याटफम हो,’ उनी भन्छिन्। पछिल्लो समय घरभन्दा पार्लर वा पसलसम्म पुगेर मेंहन्दीको विभिन्न बुट्टा हातमा कोर्ने प्रचलन बढेको छ। सम्मेलनमा भेटिएकी कपनस्थित चाहना ब्युटी पार्लरकी संचालक मन्जु बुढाथोकीका अनुसार साउन महिनामा राम्रो मेंहन्दीको डिजाइन खोज्ने ग्राहकहरूको संख्या बढेको छ। ‘वर्षमा एकपटक साउन महिनामा मेंहन्दी लगाउन आउने ग्राहकहरू सकेसम्म राम्रो डिजाइन हातमा कोर्न इच्छुक हुन्छन्,’ उनी भन्छिन्। मेंहन्दी सम्मेलन साउन १ सम्म चल्नेछ।

प्रकाशित: १ श्रावण २०७६ ११:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App