१६ चैत्र २०८० शुक्रबार
कला

कोरियन फिल्मको मोह बढ्दो

काठमाडौं - विश्वभरको मनोरञ्जन बजारमा कोरियन फिल्म र संगीतको प्रभाव बढ्दो छ। नेपालका युवा पुस्ताहरू कोरियन फेसन, फिल्म र के–पप संगीत पछ्याउन थालेका छन्। इन्टरनेटको सुविधासँग कथावस्तुबाट प्रभावित भएर कोरियन फिल्म हेर्ने नेपाली दर्शकको संख्या दिनानुदिन बढ्दै गएको छ। बौद्धमा फिल्म र म्युजिकको पसल सञ्चालन गरिरहेका विकास श्रेष्ठका अनुसार कोरियन फिल्म र के–पप संगीत डाउनलोड गरेर लैजाने युवाहरूको संख्या ह्वात्तै बढेको छ। ‘पसलमा आएर कोरियन फिल्म र के–पप संगीत डाउनलोड गरेर लैजाने युवाहरू धेरै छन्। इन्टरनेटको सुविधासँगै उनीहरू नयाँ कोरियन फिल्म र के–पप संगीत खोज्ने गरेका छन्। सिडी संस्कृति घटेपनि पेनडाइभ र मोबाइलमार्फत कोरियन फिल्म लाने ग्राहक दिनानुदिन बढेका छन्,’उनी भन्छन्, ‘कोरियन फिल्महरू रिलिज भएको भोलिपल्ट नेपाली बजारमा आइपुग्ने गरेका छन्।’

जोरपाटीस्थित नयाँ बस्तीका अमिर लामा कोरियन फेसन पछ्याउँछन्। के–पप र कोरियन फिल्मका कलाकारहरूका फ्यान उनी, नेपालमा यसको प्रभाव बढेको बताउँछन्। कोरियन फिल्महरू नेपालका हलहरूमा रिलिज हुने हो भने त्यसले नेपाली फिल्मभन्दा राम्रो व्यापार गर्ने प्रतिक्रिया दिन्छन्।

‘कोरियन फिल्मको स्टोरी राम्रो हुन्छ। मलाई लाग्छ, कोरियन फिल्मले दर्शकहरूलाई निराश बनाएको छैन्। त्यसैले विश्वभर यसको बजार बढ्दै गएको छ,’ उनी भन्छन्, ‘नेपालमा आयोजना हुने के–पप र कोरियन फिल्म महोत्सवमा नियमित सहभागि भएको छ। कोरियन फिल्म नेपालमा रिलिज गर्नसके हुन्थ्यो।’ लभ स्टोरीलाई प्राथमिकतामा राखेर बन्ने गरेका कोरियन फिल्महरूको दर्शक तुलनात्मक रूपमा बढेसँग नेपालमा विभिन्न कार्यक्रमहरूको आयोजना हुने गरेको छ। कोरियन फिल्मबाट प्रभावित रहेर बनेका नेपाली फिल्महरू धेरै छन्। नेपाली दर्शकले कोरियन फिल्म पछ्याउन थालेसँग नेपालमा मंगोलियन अनुहारका अभिनेताहरूले चर्चा पाउन थालेका छन्।

चावेलकी सुनिता तामाङले नेपाली फिल्मभन्दा कोरियन फिल्म हेर्ने गर्छिन्। कहिलेकाँही नेपाली फिल्म हेर्ने उनी कोरियन फिल्मको गेटअप पछ्याएका नेपाली अभिनेताहरूले चर्चा पाइरहेको बताउँछिन्। ‘उत्कृष्ट प्रस्तुति र कथावस्तुका कारण नियमित कोरियन फिल्महरू हेर्ने गरेको छु। कोरियन फिल्मलाई पछ्याउँदै बनेका केही नेपाली फिल्मका हिरोहरूलाई गेटअपका कारण मनपराएका छन्,’ उनी भन्छिन्, ‘कोरियन फिल्म नेपालमा रिलिज हुने हो भने कथावस्तु चोरेर बनाएका नेपाली फिल्महरूको बजार स्वात्तै घट्थ्यो र राम्रो फिल्महरू बन्थ्यो कि ? ’

कोरियन फिल्मको प्रभाव नेपाली फिल्ममा परेको प्रतिक्रिया नेपाली फिल्मकर्मीहरूले दिएका छन्। तर, कोरियन फिल्महरु प्रस्तुतिमा ध्यान दिन नसकेको उनीहरूले बताए। चलचित्र समिक्षक समाजका अध्यक्ष यज्ञशका अनुसार नेपालमा कोरियन फिल्म हेर्ने दर्शकको संख्या बढ्दै गएको छ। कथावस्तु र प्रस्तुति खोज्नेक्रममा संसारभर कोरियन फिल्म हेर्ने दर्शकको संख्या बढेको अनुमान उनले गरेका छन्। ‘फिल्मका लागि कुनै भाषाको अवाश्यकता पर्दैन् भन्ने कुराको प्रमाण भनेको हाल विश्व बजारमा चर्चा बढ्दै गएको कोरियन फिल्महरूको हो। दर्शकले भाषा नपुगेपनि कोरियन फिल्म हेर्ने गरेका छन्,’ उनले भने,’ नेपालमा कोरियन फिल्मको प्रभाव छ। यहाँ कोरियन फिल्महरू रिलिज गर्नेतर्फ ध्यान दिनु जरुरी छ। ’

चलचित्र विकास बोर्ड सूचना तथा अन्तराष्ट्रिय सम्बन्ध अधिकृत चिरञ्जिवी गुरागाईँका अनुसार नेपालमा कोरियन फिल्म हेर्ने दर्शकको संख्या कत्ति छ भन्ने तत्थाकं नभएपनि यसको प्रभाव बढेको छ। ‘नेपालभरका सहरी क्षेत्रमा कोरियन फेसन, फिल्म र के–पप संगीत पछ्याउने दर्शकहरू छन्,’ उनले भने, ‘नेपालमा अध्ययन अनुसन्धान गरेर हलमा कोरियन फिल्म प्रदर्शन गरियो भने बजार पाउने सम्भावन छ।’

नेपालमा कोरियन फिल्म रिलिज महंगो पर्ने उनले बताए। ‘कोरियन फिल्म युनिट नेपालमा आएर सुटिङ गरिरहेका हुन्छन्। तर, नेपालमा खिचिएको दृश्य नेपाली हलहरूमा पुगेर दर्शकहरूले हेर्न पाएका छैनन्। नेपालमा कोरियन फिल्म रिलिज गर्ने हो भने महंगो पर्छ,’ उनले भने।

कोरियन फेसन, फिल्म र के–पप संगीतसम्बन्धी राजधानी विभिन्न कार्यक्रम आयोजना गर्ने नेपालस्थित कोरियन राजदूतावासका राजनैतिक अनुसन्धाकर्ता अमृत राईका अनुसार नेपालमा कोरियन कल्चर पछ्याउनेहरूको संख्या ह्वात्तै बढेको छ। ‘नेपालका कोरियन फेसन, फिल्म र के–पप संगीत पछ्याउनेहरूको संख्या बढेको अवस्थामा हामीले कोरियन फिल्म महोत्सव र के–पपसम्बन्धी कार्यक्रमहरूको आयोजना गरिरहेका छौं, ’ उनले भने, ‘ तत्काल नेपाली फिल्म हलमा कोरियन फिल्महरू रिलिज हुने सम्भावना छैन।’

प्रकाशित: ३० असार २०७६ ०३:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App