८ वैशाख २०८१ शनिबार
कला

कलाकार लुक्दा हैरानी

पोखरा - जर्मनीमा सन् १९८७ देखि वर्षेनी भईरहेको अन्तर्राष्ट्रिय लोकसाहित्य महोत्सवमा पहिलो पटक ‘घेरो’ नाटक लिएर नेपाल सहभागिता जनाउने मौका पायो। तर, कला देखाउन पुगेका ‘घेरो’ नाटक टोलीका तीन जना पोखरेली कलाकार जर्मनीमै फरार भए। सो कार्यक्रमका लागि पुगेका तीनजना कलाकार फरार भएपछि नाटक लिएर पुगेको युथ क्रियसन थिएटर टोलीको तनाव बढेको छ।

नाटक मञ्चन गरेर स्वदेश फर्केका अन्य कलाकारहरूले ‘मानव तस्कर’ गरेको भन्ने आरोप खेप्नुपरेको गुनासो गरेका छन्। पोखराको युथ क्रियसन थिएटरको १२ जना कलाकार गएकोका मध्ये नौं जना स्वदेश फर्किसकेका छन्। तर, तीन जना कलाकार उतै लुकेको थिएटरका सचिव सौगात पोखरेलले बताए। जर्मन उड्ने बेला ती कलाकारको ६ देखि ११ दिनसम्मको भिसा अवधि थियो।  पोखरेलका अनुसार कलाकारहरु मधुसुदन पौडेल, संरचना पौडेल (अञ्जना) र शर्मिला बस्नेत जर्मनीमै लुकेका हुन्।

‘नेपालले पहिलो पटक सहभागिता जनाएको कार्यक्रममा भाग लिन पुगेका कलाकार उतै लुकेपछि हामीलाई अप्ठेरो परेको छ। फेसबुकमा हामीले पठाएको सन्देश हेरेपनि जवाफ दिँदैनन्,’ पोखरेलले भने, ‘कलाकार लुकेपछि हामीलाई नै अप्ठेरो परेको छ। मानव तस्कर गरेको भन्ने आरोप खेप्नुप¥यो।’ कलाकार हराएपछि खोजीका लागि जर्मनस्थित प्रहरी र जर्मनका लागि नेपाली राजदुतावासमा समेत उजुरी दिएको उनले बताए। लुकेका तीनमध्ये मधुसुदन पौडेलले फेसबुकमार्फत ‘माफ गर्नुस’ भनेर जानकारी दिएपनि दोहोरो कुराकानी नगरेको हुन सकेको छैन्। 

अन्तर्राष्ट्रिय लोकसाहित्य महोत्सवमा ‘घेरो’ नाटक टोलीले दुई पटक नाटक मञ्चन गरेका थिए। त्यसबाहेक लोकनृत्यसँग सम्बन्धित १२ वटा कार्यक्रम पनि पस्केका थिए। पोखरेलका अनुसार लुकेका तीनैजना कलाकार नाटकमा महत्वपूर्ण भूमिकामा थिए। कलाकारलाई नलुक्ने सहमति गरेर नेपालबाट दुईतर्फी हवाई टिकट काटेर लगिएको थियो। बिहीबार भिसा अवधि सकिएका ती कलाकारहरू स्वदेश फर्केका छैनन्। पोखरेलका अनुसार बिरामी भएको भन्दै ती कलाकारहरू कार्यक्रममा सहभागि नभईकन सम्पर्कविहिन भएका थिए।

युथ क्रियसन थिएटरका अध्यक्ष कपिल शर्माले आयोजकले विदेशी कलाकारलाई पछ्याउँदा समेत बिरामी भएको निहुँमा गरेर होटलबाट भागेको बताए। ‘केही समयपछि क्यानडा र स्विटजरल्याण्डमा नाटक लिएर जाने तयारी भईरहेको अवस्थामा तीन जना कलाकार लुकेपछि अप्ठेरोमा परेका छौं,’ उनले भने। लुकेका कलाकारको नेपालस्थित परिवारहरू खोजीको लागि सम्पर्कमा नआएको उनले बताए।

नाट्यकार सरुभक्त कलाकारको नाममा विदेश जाँदा उतै पलायन हुनुले देशलाई हानी गर्ने बताउँछन्। ‘पोखरेली कलाकार जर्मनमै लुकेको थाहा पाएका छौ। यसले कला क्षेत्रमा राम्रो सन्देश दिँदैन,’ सरुभक्तले भने, ‘कला देखाउन विदेश गएका कलाकार उतै लुके भन्ने हल्ला पहिल्यैदेखि हुँदै आएको थियो। यो राम्रो होइन।’ कलाकार मात्र नभई हरेक क्षेत्रका व्यक्ति लुक्ने गरेको उनले बताए। ‘कलाकार लुकेको पहिलो घटना होइन्। जसोतसो गएपछि कमाई गर्ने लोभले गर्दा कलाकार लुक्ने गरेका छन्। यसले गर्दा आयोजकलाई कलाकार लैजान पनि डराउने अवस्था छ। अमेरिका, यूरोपमा त झनै त्रास छ।’ राष्ट्रियता र नैतिकतालाई तिलाञ्जली दिएर कलाकार र उच्च पदस्थ व्यक्ति लुक्ने गरेको उनले बताए।  

प्रकाशित: २९ असार २०७६ ०३:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App